गोरेलाई २ दिन नेताको घरमा बन्धक बनाएर राखेको खुलासा,छोराको मानसिक सन्तुलन गुम्यो भन्दै रोए गोरेका बाबु



साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा आत्मसमर्पण गरेका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले आफूलाई बुढानीलकण्ठस्थित एक नेताको घरमा राखेको बताएका छन् । यद्यपि, को नेता हुन् भने नखुलाएको स्रोतको दाबी छ ।

जिल्ला अदालत मोरङमा बयान दिइरहेका वेला बिहीबार ब्रेक टाइममा उनले आफ्ना पिता नेत्रप्रसाद उप्रेतीसँग आधा घण्टा कुराकानी गरेका छन् । कुराकानीका क्रममा उनले आफूलाई गौरीघाटबाट प्रक्राउ गरेको नभई बुढानीलकण्ढ क्षेत्रबाट प्रक्राउ गरिएको बताएका हुन् । स्रोतका अनुसार गोरेलाई मंगलबार सार्वजनिक गर्नु दुई दिनअघि नै राजधानी ल्याइएको थियो ।

सिलगुढीबाट झापा हुँदै आएको र सोमबार नै छानबिन समितिका सदस्यले भेटेपछि आफूलाई सोधपुछ गरेको उनले बाबुलाई बताएका छन् । त्यो रात नेताको घरमा राखेको र भोलिपल्ट पक्राउ परेको भनेर सार्वजनिक गरेको उनको दाबी छ । तर, उनलाई राखिएको घर कुन नेताको थियो भन्ने खुलाएका छैनन् । त्यसक्रममा छानबिन समितिले बयान लिएपछि उनले केही नेतासँग भेटवार्ता गरेको दाबी गोरेको छ ।

तर, अनुसन्धानकर्ताहरू भने गोरेको यो बयान उनीमाथि केन्द्रित अनुसन्धान प्रभावित पार्ने प्रयास मात्र भएको दाबी गर्छन् । गोरेले आफूलाई ‘माथिल्लो तहका मान्छेले फसाए’ मात्र भनेका छन् । सुन तस्करीको नेक्सस खुलाएका छैनन् । स्रोतले भन्यो, ‘केही नाम त लिएका छन्, तर कोअपरेट गरेका छैनन् ।’

उनीहरूसँग कस्तो सम्बन्ध थियो र कहाँकहाँ संलग्न थिए भनेर खुलाउन चाहेका छैनन् । तर, प्रहरी अधिकारीहरू भने बयानमा गोरेले देखाएको व्यवहार अर्थपूर्ण भएको मान्छन् । नेत्रप्रसादले छोरासँग माघयता पहिलोचोटि भेटेको र उनका लागि कपडा ल्याइदिएको भेटपछि जानकारी गराएका छन् । प्रहरी सेवामा १८ वर्षभन्दा बढी बिताएका नेत्रप्रसाद यो मुद्दाका अभियुक्त रहेका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाका सहपाठी समेत हुन् ।

गोरे गलत काममा लागेको सुनेपछि आफूले पटक–पटक त्यस्तो काम नगर्न सम्झाउने गरेको उनले बताए । ‘घरमा उति बस्दैनथ्यो,’ उनले भने, ‘कहिले दुबई, कहिले यतै मोरङ, झापातिर हुन्थ्यो, परिवारसँग राम्ररी भेट नै हुँदैनथ्यो ।’ कहिलेकाहीँ अहिले अभियुक्त रहेकामध्ये केहीलाई घरमा लिएर आउने गरेको तर आफूले जोसुकैलाई घरमा लिएर नआउन सम्झाएको उनले बताए ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा दोस्रो दिनको साढे ५ घण्टासम्म उनको बयान लिइएको छ । ‘ऊसँग बिहीबार पनि लामो अनौपचारिक कुराकानी भएको छ, तर बुधबारको तुलनामा बिहीबार गोरे अलिक फ्रेस भएको देखिन्छ । तर, हामीले राखेको जिज्ञासाको पेरिफेरीमा केन्द्रित हुनुभन्दा पनि अनौपचारिक कुरामा ऊ केन्द्रित देखिन्छ ।’ अदालतका अधिकारीले विहिवारसम्म गोरेले दिएको बयानको १६ पन्ने विवरण उतारेका छन् ।

बुधबारसम्म बयानको क्रममा पाँचपन्ने विवरण उतारिएको थियो । जिल्ला अदालत मोरङ स्रोतले भन्यो, ‘उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि क्रमबद्ध रूपमा सोधपुछ भएको छ । उसबाट धेरै कुरा आए पनि केही महत्वपूर्ण जानकारी पनि सँगै आएको छ ।’ स्रोतले भन्यो, ‘गोरेको बयानमा केही नयाँ व्यक्तिको नाम आएको छ, जसले ती व्यक्तिको नजिक पुग्न मद्दत गर्नेछ ।’

३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका चर्चित अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले मानसिक सन्तुलन गुमाएको आशङ्का उनका बाबुले गरेका छन्।

मोरङ जिल्ला अदालतको परिसरमा सञ्चारकर्मीसित गोरेका बाबु नेत्र उप्रेतीले आफ्ना छोराले मानसिक सन्तुलन गुमाएको हो कि भन्ने आशङ्का भएको बताए।

‘आफ्ना सन्तानको बानीब्यहोरा र बोलिचाली कसलाई थाहा हुँदैन र ?’ विक्षिप्त मुद्रामा भेटिएका नेत्रको प्रतिक्रिया थियो, ‘आज धेरै दिनपछि उसलाई देख्ता अनि उसको चालचलन र बानीब्यहोरा हेर्दा मानसिक समस्या सुरु भएको हो कि जस्तो लागेको छ।’

‘म पनि लामो समय प्रहरीमा जागिर खाएर रिटायर भएको हुँ’, उनले थपे, ‘हाउभाउ र बोलिचाली हेरेर कसैको पनि मानसिक अवस्था ठम्याउन सक्छु।’

छोराका लागि लुगाफाटो लिएर बाबु नेत्र बिहिबार दिउँसो १ बजे अदालत आइपुगेका थिए । उनले आफू काठमाडौंबाट आएको बताए ।

बाबुलाई देख्नेबित्तिकै गोरेले दण्डवत् प्रणाम गरे ।

बाबुले भइगो पर्दैन भनेर उठाउन खोजे ।

गोरेले म मेरो कर्तव्य पूरा नगरी कसरी रहनसक्छु भन्दै सम्मान जनाए।

बयानको ब्रेकमा पनि छोरासित सामान्य भलाकुसारी गर्न पाएको नेत्रले उल्लेख गरे। उनले आफ्नो छोराले अझै पनि ज्यानको खतराको अनुभव गरिरहेको बताए।

‘हामीले मानव अधिकारकर्मी, अदालत, पत्रकार सबै गुहारेका छौँ’, नेत्रको कथन थियो, ‘गोरे अझै डराएको छ । मार्ने हुन् कि भन्ने लागेको छ उसलाई ।’

आफूले गोरेलाई ढाडस दिएको र अदालतको शरणमा आइसकेको हुँदा अब उसको ज्यान जोखिममा छैन भनेर उसको मनोबल उच्च बनाउन मद्दत गरेको नेत्रले सुनाए ।

‘जेल त पर्ने नै भयो, ज्यान मार्ने हुन् कि भन्ने डर थियो अब त्यो चाहिँ भएन’, उनले भने, ‘कर्मको फल हो भोग्नै पर्दोरहेछ ।’
‘हामीलाई थाहै थिएन’
गोरे सुनको धन्धामा रहेको घरमा बाबुआमालाई थाहा नभएको उनको दाबी थियो।

नेत्रले भने, ‘छोराछोरी यस्तो लाइनमा लागेका छन् भन्ने थाहा पाए भने कुन चाहिँ आमाबाबुले रोक्तैनन् होला ? हामीलाई सुइँकै भएन ।’
सकिएन बयान
मोरङ जिल्ला अदालतमा गोरेको बयान बिहिबार पनि सकिएन । उनलाई मङ्गलबार यहाँ ल्याइएको थियो । उनको बयान शुक्रबार पनि जारी रहने छ ।

सुन काण्डका २८ अभियुक्तलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएपछि गोरेलाई बुधबार रातिदेखि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । यसअघि २८ अभियुक्त र गोरे सँगै नपरून् भनेर गोरेलाई छुट्टै वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । गोरेलाई अदालतदेखि जिल्ला प्रहरीसम्म सबैतिर कडा सुरक्षा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट