यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन, तिन महिनाभित्र काम सक्न निर्देशन
एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।
पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।
त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन् ?
नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् ।
नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।
समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा रहेका छन् ।
नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ ।
सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए ।
यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका जवस मोर्चाका इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो ।
समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ ।
समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ ।
तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ ।
विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।