फिल्म हलमा नेता डाकेर फिल्म भन्दा पनि नेताको जात्रा किन देखाइन्छ,यस्तो पाइयो खुराफात



तत्कालिन कृषि मन्त्री हरिवोल गजुरेल फिल्म ‘राहदानी’ हेरेर निस्कने क्रममा एकाएक भक्कानिए। फिल्ममा देखाइएका अधिकांश दृष्यले मन थाम्न नसकेको प्रतिकृया दिएका गजुरेलको रुवाईको प्रभाव मनोरञ्जन क्षेत्रबाट प्रसारित हुँदै समाजका सबै वर्गसम्म प्रवाहित हुन समय लागेन। समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म चर्चाको विषय नै बन्यो।

त्यस्तै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गत जेठ महिनामा फिल्म ‘रातो घर’ हेरे। सुरज सुब्बाको निर्देशन तथा निर्देशक स्वयम् र कलाकार विल्सनविक्रम राईको निमार्णमा बनेको चलचित्र ‘रातो घर’ झापाको कथावस्तुमा आधारित भएर आँफु फिल्म हेर्न हलसम्म पुगेको प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिए।

यसरी पछिल्लो समय फिल्म हलमा अतिथिका रुपमा राजनितिज्ञहरु ल्याउनु परम्परा जस्तै बनेको छ। वर्ष २०७४ मा रिलिज भएको पहिलो फिल्म ‘घामपानी’को ‘भिआइपी शो’मा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई तथा नेतृ हिसिला यमी उपस्थित थिए।

माओवादी युद्धकालमा घटेका घटनामा आधारित फिल्म ‘तान्द्रो’ हेर्न नेता मोहन बैद्य किरण, युवा नेतृ रञ्जु दर्शना लगायतको उपस्थिती देखियो। त्यस्तै अभिनेत्री स्वेता खड्काको निमार्ण रहेको फिल्म ‘कान्छी’को विशेष शोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँशक्ति नेतृ यमी, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा लगायतको जम्बो टोली नै हल पुगेको थियो।

त्यस्तै मह सञ्चारको ब्यानरमा बनेको फिल्म ‘शत्रु गते’ हेर्न बागबजारस्थित सिटी म्याक्स हलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पुगेका थिए।

नेपालमा रहेको पञ्चायती व्यवस्थाको कथामा आधारित रहेको भन्दै फिल्म ‘पञ्चायत’ हेर्न कुमारी हलमा विभिन्न नेताहरुलाई निमन्त्रणा गरिएको थियो। उक्त फिल्मको रेड कार्पेट शोमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, नेताहरु जनार्दन शर्मा, योगेश भट्टराई, मिनेन्द्र रिजाल, वर्षमान पुन, ओनसरी घर्तीमगर लगायतको उपस्थिती रहेको थियो।

यसैगरी गत शुत्रबारबाट प्रदर्शनमा आएकोे फिल्म ‘भोर’ले पनि केही दिन अघि जयनेपाल चित्रघर काठमाडौंमा विशेष शोको आयोजना ग¥यो। शोमा एमाले वरिष्ठ नेता नेपाल, नयाँशक्ति नेतृ यमी, नेता रोजेन्द्र महतोलगायतको उपस्थिती रहेको थियो।

यससँगै गत शुत्रबारबाट नै प्रदर्शनमा आएको खेल विशेष फिल्म ‘डमरुको डण्डीबियो’लाई सोमबार कांग्रेस नेता मिनेन्द्र रिजाल र डाक्टर शशांक कोइरालाले हलसम्म पुगेर हेरे।

यसरी वर्ष २०७४ को सुरुदेखि हालसम्म कोहिनुर, भिमदत्त, घुम्ती, फागु, जात्रा, उमा, झोला, वडा नम्बर ६ जस्ता थुपै फिल्महरु हेर्न नेताहरुलाई आमन्त्रण गरिएका उदाहरणहरु छन्।

नेताहरुले फिल्म हेरेर सामान्यतया सकारात्मक प्रतिकृया नै दिएर जाने गरेका छन्। नेपाली फिल्म लाइनमा देखिने यस्ता दृश्यहरुबाट फिल्म निर्माताहरु हलमा राजनितिज्ञ र अन्य उच्च ओहोदाका व्यक्तिहरुलाई फिल्म हेर्नका लागि बोलाउन निकै जागरुक भएका देखिन्छन्।

किन डाकिन्छन् फिल्म हलमा नेताहरु?

अभिनेता तथा निर्माता विल्सन विक्रम राईको गत जेष्ठमा फिल्म ‘रातो घर’ सार्वजनिक भयो। उनको फिल्म हेर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलगायतका नेता हलसम्म पनि आए।

तर फिल्म हलमा किन राजनितिकर्मी? भन्ने हाम्रो प्रश्नमा राई भन्छन्,‘हरेक फिल्मकर्मीहरुलाई आफुले गरेको काम सफल होस् भन्ने चाहाना हुन्छ। यहि चाहाना अनुरुप फिल्मकर्मीहरुले राज्यका सम्पूर्ण तहका दर्शकमाझ आफ्नो उत्पादनको प्रचार पुर्‍याउने लक्ष पनि लिएको हुन्छ। राजनितिकर्मीका कुरा प्रायः सबै तहका मानिसहरुका लागि चासो पनि हुन्छ। तसर्थ सुचना प्रवाहकै लागि पनि यस्तो गरिएको हो।’

सोझो अर्थमा फिल्म प्रचारकै लागि नेताहरुलाई आमन्त्रण गरिएको हो? भन्ने प्रश्नमा राई सहजै सहमती जनाउँदै थप्छन्,‘सबै समय सस्तो लोकप्रियता र प्रचारका लागि मात्र राजनितिज्ञलाई हलमा बोलाइएको हुँदैन। फिल्मको विषयवस्तुमा पनि यो कुरा भरपर्ने गर्दछ।’

सञ्चारकर्मी तथा निर्देशक दिपेन्द्र लामा यस विषयमा फरक मत राख्छन्। विशेषगरी पछिल्लो समय राजनितिज्ञहरु फिल्म हलमा आउने क्रम बाक्लिएको स्विकार गर्दै लामा भन्छन्,‘निमन्त्रणा गरिएको अवस्थामा मात्र फिल्म हेर्न नेता तथा उच्च तहका व्यक्तिहरु आएका हुँदैनन्। उनीहरु अन्यत्रबाट प्रचार र तारिफ सुनेर पनि आउँछन्।’ लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘घामपानी हेर्न नयाँशक्ति संयोजक भट्टराई, नेतृ यमीलगायतका राजनितिकर्मीहरु आएका थिए तर उनीहरु आफ्नै रुचीले फिल्म हेर्न आएको बताउँछन् निर्देशक लामा।

पछिल्लो समय सस्तो लोकप्रियताकै लागि हलमा नेताहरु बोलाउने प्रवृति हावि बन्दै गएको छ। नेताहरुलाई हलसम्म बोलाउनुमा कतिपय फिल्मकर्मीको उद्देश्य फिल्मको कथावस्तु राज्यको निति निर्माण र कार्यान्वयनका लागि सहयोगी बन्नसक्छ भन्ने हुन्छ भने कतिले विशुद्ध रुपमा प्रचारकै लागि यस्तो कार्य गरिरहेका हुन्छन्। अझै कतिपयले निकट भविष्यमा चलचित्र सम्बन्धित संस्था तथा संगठनहरुमा राजनैतिक नियुक्तिको लागि सम्बन्ध विस्तार गर्ने भर्याङको रुपमा हलसम्म आइदिन राजनितिज्ञहरुलाई निमन्त्रणा पुग्ने गरेको लामाको बुझाई छ।

यता निर्माता संघका अध्यक्ष तथा अभिनेता आकाश अधिकारी फिल्म हलमा राजनितिज्ञहरुको उपस्थिति अनिवार्य रहेको जिकिर गर्छन्। नेताहरुलाई पनि मनोरञ्जन आवश्यक पर्ने तथा फिल्ममा मनोरञ्जनसँगै समाजको प्रतिविम्वसमेत प्रस्तुत गरिने हुँदा उक्त कुराको जानकारी राजनैतिक नेताहरुमा समेत हुनुपर्ने बुझाई छ अधिकारीको।

हलमा राजनितिज्ञहरुलाई आमन्त्रणको उद्देश्य प्रचार–प्रसारको सहज माध्यम भएको स्विकार गर्दै अधिकारीले भने,‘यो एक प्रचार–प्रसारको शैली भएपनि अधिकांश राजनितिज्ञहरु फिल्मका बारेमा केही पनि बुझ्दै नबुझी बोल्ने गरेको पाइन्छ। यसकारण फिल्म उद्योग बुझेर यसको विकासका बारेमा नयाँ धारणा बनाउन सकुन्, कला क्षेत्रमा रहेका अनेक समस्यालाई पनि राजनितिक तवरबाट सम्बोधन गर्न सकियोस् भनेर पनि हलमा निमन्त्रणा गरिन्छ।’

हुनत कतिपय फिल्म हेर्न नेताहरु आफै हलसम्म पुग्ने गरेका छन् तर फिल्मकर्मीहरुको घुमाउरो जवाफलाई एकमुष्ट रुपमा हेर्ने हो भने फिल्मको चर्चाका लागि माध्यम बनोस् भन्न राजनैतिक नेताहरुलाई हलसम्म फिल्म हेर्न निमन्त्रणा पुग्ने गरेको सोझो अनुमान लगाउनु अनुपयुक्त नहोला भन्दै नेपाल लाइभले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको