मोदीलाई हेर्न बिहानैदेखि लाइनमा, अभिनन्दनको पर्खाइमा जनकपुर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ । दुई दिने राजकीय भ्रमणका क्रममा मोदी आज विहान पटनाबाट सिधै जनकपुर आउनेछन् ।
उनले जानकी मन्दिरमा पूजा गर्नेछन् । लगतै रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई सवा १२ बजे अभिनन्दन गर्दैछ ।
तर, रंगभूमि मैदानमा विहानैबाट सार्वसाधारणको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याएका छन् । यसले भीड नियन्त्रण गर्न निकै मुस्किल भएको छ ।
धनुषाको तारापट्टी सिर्सियाबाट आएका एक बृद्ध विहान ६ बजे नै लाइनमा भेटिए । उनले भने, मोदीलाई हेर्न आएको हुँ, भित्र जान सक्छु कि सक्दिँन थाहा छैन ।’सर्वसाधारणहरु चार–पाँच बजेदेखि नै रंगभूमि मैदानभित्र प्रवेश गर्नका लागि लाइन बसेका थिए । अभिनन्दन समारोहमा एक लाख मानिस उतार्ने प्रदेश २ को सरकारले घोषणा गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउँदैछन् ।
उनी पटनाबाट सिधै जनकपुर आउनेछन् । मोदीको स्वागतका लागि आवश्यक तयारी पुरा भएको छ ।
प्रदेश सरकारको आह्वान अनुसार जनकपुरबासीले घरअगाडि पूजा गरिएको कलश राखेका छन् भने चोकचोकमा मोदीका तस्वीरसहितका गेट बनाइएको छ, ब्यानरहरु टाँगिएको छ ।
विहानैबाट सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीको सवारी हुने रुटमा पास भएका बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन ।