एमाले माओवादी बराबर ! चुनावको हिसाब काम लाग्दैन- अग्नि सापकोटा



नेकपा माओवादी केन्द्रका नेता एवं सांसद अग्नि सापकोटाले एमाले र माओवादी दुबै पार्टीहरु बराबर हैसियतका रहेको बताएका छन् । नेपालको राजनीतिक परिवर्तनमा दुबै पार्टीको योगदान बराबर रहेको सापकोटाको विश्लेषण छ ।

 

राजनीतिमा दुबै पार्टीको बराबरी योगदान रहेकाले सोही स्पिरिटमा पार्टी एकता हुनुपर्ने र एकता सम्मानजनक हुनुपर्ने माओवादी नेता सापकोटाको जिकिर छ ।

निर्वाचनका बेलामा माओवादीले ६०/४० को अंकगणितलाई स्वीकारेको थियो, अहिले आएर किन बराबरी ? अनलाइनखबरको प्रश्नमा माओवादी नेता सापकोटाले भने- ‘चुनावका बेलाको हिसाब कार्यनीतिक हो, पार्टी एकतामा त्यो काम लाग्दैन, सम्मानजनक एकता हुनुपर्छ ।’

चुनावमा झण्डै ७०/३० अनुपातको नतिजा हासिल गरेका एमाले र माओवादीलाई ‘बराबर’ शक्ति कसरी मान्न सकिन्छ ? यो कसरी ‘नेचुरल’ दाबी हुन सक्छ ? यिनै प्रश्नको सेरोफेरोमा हामीले पूर्वमन्त्री सापकोटासँग कुराकानी गरेका छौंः

केपी ओलीसँग निर्धारित वार्ता छाडेर प्रचण्ड आइतबार सुकुटे गएपछि पार्टी एकतामा संशय उत्पन्न भयो । यद्यपि फर्किएर प्रचण्डले सोमबार ओलीलाई भेट्नुभयो । र, मंगलबार पार्टी एकता संयोजन समितिको बैठक पनि बस्यो । दुई अध्यक्षवीच के कुराकानी भयो र बैठक सम्भव भयो ?

पहिलो कुरा, त्यो बैठक तोकिएको थिएन । भोलिपल्ट आएर कुरा भइ नै हाल्यो । केही समयदेखि दुई अध्यक्षका बीचमा सम्वाद भएको थिएन, त्यो भयो । यो आफैंमा सकारात्मक कुरा हो । पुरै छिचोलियो भनेर त म भन्दिनँ तर, त्यस दिशामा गएको छ । यसैको प्रमाण हो मंगलबारको संयोजन समितिको बैठक ।

माओवादी नेताहरु एकताबाट भाग्दैछन् भन्ने आरोप तपाईहरुमाथि लाग्न थालेको छ, तपाईहरु एकताबाट भाग्नै खोजेको हो त ?

माओवादीले एकता टार्दैछ भन्नेमा म सहमत छैन । अहिले पनि अध्यक्ष प्रचण्डसँग मेरो छलफल भइरहेको छ र मैले बुझेसम्म एकतालाई चाँडो निष्कर्षमा पुर्‍याउन बल गरिराख्नुभएको छ ।

प्रचण्ड र केपी ओली दुबै नेता यो स्थितिमा पुगिसक्नु भएको छ कि उहाँहरुले आफ्नो पार्टीका लागि मात्र होइन, सिंगो वाम गठबन्धनका नेताहरुको मोरल बुस्ट गर्नुपर्छ । यसका लागि उहाँहरु पहिला ड्याम्म निष्कर्षमा पुग्नुपर्छ । यसका लागि समय लाग्न सक्छ ।

तर, म पूर्ण विश्वासका साथ प्रचण्डका तर्फबाट के भन्न सक्छु भने एकताप्रति उहाँ पुरै दृढ हुनुहुन्छ र भएभरको तागत लगाएर निष्कर्षमा पुर्‍याउन संकल्पवद्ध हुनुहुन्छ । समय केही लाग्न सक्छ । ९ गते नै हुन पनि सक्छ । भएन भने वैशाख ९ गते लेनिन जयन्ती छ, अलिपछि त मार्क्स जयन्ती पनि छ । यस्ता ऐतिहासिक दिनहरु थुप्रै छन् ।

तर, यसो भनेर ढिला गर्नहुँदैन । तर, ९ गते नै भएन भने सबै बरबाद हुन्छ भनेर सोच्नुभएन । पर्याप्त गृहकार्य हुनुपर्छ, नेता कार्यकर्ता सबैको जिम्मेवारी सुनिश्चित हुनुपर्छ ।

 

पछिल्लो समय माओवादी नेताहरुले सम्मानजनक एकता हुनुपर्छ भनिरहेका छन् । के हो यो ‘सम्मानजनक एकता’ ? एमालेले कहाँनेर तपाईहरुलाई सम्मानजनक व्यवहार गरेन ?

पार्टी एकता गर्ने घोषणा गरेर नै हामी जनतामा गयौं । पार्टी एकताको घोषणाले नै यति ठूलो जनादेश प्राप्त भएको छ । त्यसकारण यो सरकार बनाउन मात्र होइन, पार्टी एकता गर्न पनि जनादेश छ । त्यसैले पार्टी एकता सामान्य कार्यनीतिक विषय होइन, ठूलो महत्वको रणनीतिक विषय हो । पार्टी एकता विचार, राजनीतिक लाइन र दृष्टिकोण मिल्ने कुरा हो । त्यो एकताको स्पिरिटलाई आत्मसाथ गर्ने कुरामा अलकति कमी भएको हो कि भन्ने महसुस भएको छ ।

यो कमीलाई पूरा गर्ने उपाय भनेको चुनावमा जाने बेलामा पार्टी एकताको जुन स्पिरिट थियो, त्यसलाई गम्भीर बहसबाट अझ विकास गर्नुपर्छ । यस अर्थमा इतिहासलाई सम्मान गर्नुपर्‍यो, वर्तमानको आवश्यकता पनि पूरा हुनुपर्‍यो र भोलिको उद्देश्य पनि सफल हुनुपर्‍यो ।

दुई पार्टीवीच नमिलेको खास कुराचाहिँ के हो ?

प्रथमतः दुईजना अध्यक्ष रहने सहमति भएको छ । तर, छलफल के बाँकी छ भने यो दुई सशक्त धारको पार्टीको एकता हो । यो मर्ज होइन, सहवरण पनि होइन । एकताको भावअनुसार नै दुबै पार्टीका नेता, कार्यकर्तादेखि समर्थन शुभचिन्तकसम्म आत्मसम्मानको स्थिति पैदा हुनुपर्छ । त्यसो गर्न दुई अध्यक्षको कार्यकारी अधिकार समान हुने सुनिश्चित गर्नुपर्‍यो । एउटा कार्यकारी, अर्को सेरेमोनियल भयो भने दुई अध्यक्ष राख्नुको औचित्य पुष्टि हुँदैन ।

सबै तहका कमिटीमा दुबै पार्टीवीच ५०/५० को भागवण्डा गर्नैर्पर्छ भन्ने तपाईहरुको अर्को बटमलाइन हो ?

समानताका आधारमा गर्नुपर्छ भन्ने हो । छलफल गर्दै जाँदा स्पिरिट मिल्यो र समझदारी भयो भने २/४ सीट उता बढी होला, कि यता बढी होला ।

तर, चुनावका बेला त तपाईहरुले ६०/४० स्वीकार्नुभएकै थियो, अब त्यो किन स्वीकार्य नहुने ?

चुनावमा जानेबेलामा प्रतिशतको कुरा गर्‍यौं, त्यो तत्कालीन कार्यनीतिक थियो । अब दुरगामी महत्वको रणनीतिक चरणमा प्रवेश गर्दैछौं । यसमा अन्ततः निर्धारण गर्ने सवाल दृष्टिकोण नै हो । यसमा दुबै पार्टीका नेता, समर्थक सबैलाई यस्तो सन्देश जानुपर्‍यो कि यो वास्तवमा एकता हो ।

चुनावमा २/४ सिट घटीबढी हुन्छ । चुनावका बेला ६०/४० कार्यनीतिक सवाल थियो र ठीकै पनि थियो । तर, पार्टी एकताको निर्धारण विचार र राजनीतिले गर्छ । रणनीतिक सवालमा त्यो सुत्रले काम गर्दैन ।

रणनीतिक प्रश्न कार्यनीतिक सुुत्रमा कैद हुन सक्दैन । हिजो चुनाव जित्नका लागि गरिएको सिट बाँडफाँटले एकताको स्पिरिट पैदा गर्दैन । यो एकताको स्पिरिट होइन । अब समानताका आधारमा सम्मानजनक एकता हुनुपर्छ ।

 

एउटा ठूलो र अर्को सानो पार्टीवीच एकता गर्दा ५०/५० का आधारमै हुुनुपर्छ भन्नु कसरी प्राकृतिक होला ?

एउटा चुनावमा पाएको केही सिटले मात्रै ठूलो पार्टी र सानो पार्टी भन्ने मूल्यांकन हुन सक्दैन ।

यहाँको विचारमा माओवादीले एमालेसँग यसरी बराबरी हैसियतको हकदाबी गर्ने आधार केके हुन् ?

पहिलो संविधानसभामा हामी एमाले भन्दा ठूलो पार्टी बनेका थियौं । यो एकता त्यसबेला भएको भए पनि बराबरीमै हुन्थ्यो । हाम्रो संख्या बढी हुँदा पनि हामीले बराबरीको मान्यता नै अघि साथ्र्यौं र सारेका पनि थियौं । कमसेकम हामी केमा क्लियर छौं भने यो बैचारिक-राजनीतिक एकता हो ।

युगान्तकारी परिर्वतनका लागि दुबै पार्टीको योगदान छ । जस्तो, हामीले जनयुद्ध गर्दैगर्दा उहाँहरुले संसदीय संघर्ष गर्नुभयो । त्यसबेला सरसल्लाह त गरेको होइन तर, प्रकारान्तरले भइदियो के भने हाम्रो जनयुद्धले उहाँहरुको संसदीय सघर्षलाई र उहाँहरुको संघर्षले हाम्रो विद्रोहलाई सहयोग पुर्‍यायो । राजतन्त्र फाल्नलाई दुबैको सहकार्य रहृयो ।

बलिदानको हिसावले हेर्दा यता (माओवादी) निर्णायक हो कि जस्तो लाग्छ । तर, जनपरिचालन, १९ दिने जनआन्दोलनको नेतृत्व हेर्दा एमाले पो निर्णायक हो कि भन्ने लाग्छ । सारमा हेर्दा दुबैको बराबरी योगदान छ ।

स्पिरिटमा हेर्ने हो भने अम्बल कार्यकर्ता, छिनको छिन बलिदानका लागि तयार हुने पंङ्ती हामीसँग छ भने एमालेसँग असाध्यै राम्रो कार्यशैलीबाट सुरु भएको संगठन छ ।

लेनिनले नै भनेका छन् कि बोल्सेभिक स्पिरिट र अमेरिकन दक्षता भयो भने चमत्कार गर्न सकिन्छ । हाम्रो स्पिरिट र उहाँहरुको कार्यदक्षता मिलाउँदा नेपालमा हामी चमत्कार गर्छौं, गर्छौं । यो उचाइमा सबै उठ्नुपर्‍यो, प्रतिशतको हिसावले हामीलाई तल झार्छ ।

संसदीय व्यवस्थामा जति कुशल हुनुपथ्र्यो र संसदीय निर्वाचनलाई जति उपयुक्त सञ्जाल हुनुपथ्र्यो, त्यसमा कमी भयो होला । तर, सबै युगान्तकारी परिर्वतनको नेतृत्व गरेको र देशब्यापी सञ्जाल भएको पार्टी हो माओवादी ।

दुई पार्टीवीच अहिले जुन विषयलाई नमिलेका विषय भनिएको छ, अन्तर्यमा चाहिँ नेताहरुको व्यवस्थापन नै मुख्य विवादको विषय हो भन्ने सुनिन्छ । त्यसमा पनि केपी ओली र प्रचण्डको व्यवस्थापन मूल समस्या हो र उनीहरुमा एकअर्काप्रति अझै आपसी विश्वास छैन भन्छन् नि केही मानिसहरु ?

तपाईले भनेजस्तै दुई कार्यदलले धेरै विषयमा सहमति जुटाएको छ र धेरै विषय बाँकी छैनन् । जति विषय बाँकी छन्, त्यसलाई निष्कर्षमा पुर्‍याउन गाह्रो छैन । मुख्य कुरा, एकताको स्पिरिट कायम राख्ने हो कि होइन ? हिजो एउटा स्पिरिट कायम गरेर जनतामा गयौं र जनादेश पायौं । त्यसलाई अहिले स्मरण गरौं । हामी त्यही उचाइमा उठ्नुपर्छ ।

जहाँसम्म ओली र प्रचण्डको कुरा छ, त्यो स्वाभाविक हो । प्रतिस्पर्धा प्रतिभाहरुकै बीचमा हुन्छ । नेपालमा अहिले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र हाम्रो अध्यक्ष प्रचण्डको एकताले नै यो जनादेश प्राप्त भयो र उहाँहरुको टक्करले असहज परिस्थिति आउने आशंका पनि हुन्छ ।

तर, यो दुई नेताको योग्यता-क्षमताको ठूलो परीक्षा पनि हो । हामीले ७० वर्षदेखिको अराजकता चिर्छौं भनेका छौं । त्यसकारण मैले नेतृत्व गर्नुपर्छ भन्ने आकांक्षा राख्नु केपी ओली र प्रचण्ड दुबैका लागि स्वाभाविक हो । यो छ र लुकाउनुपर्ने छैन । उहाँहरुकै निर्णयबाट सिंगो राष्ट्र उद्देलित भयो र अहिले उहाँहरुको बीचमा समझदारी भयो र दृष्टिकोणमा समानता कायम भयो भने ब्रेक थ्रू भइहाल्छ । मलाई लाग्छ, प्रधानमन्त्री व्यस्त पनि हुनुहुन्छ, त्यसले गर्दा छलफल तीव्र बनाउन पाउनुभएको छैन होला । तर, छलफल गर्दै जाँदा समाधान हुन्छ ।

दुई अध्यक्ष राख्ने सहमति भइसकेकाले दुबैको कार्यकारी अधिकार सुनिश्चित गर्ने स्वतः सिद्ध हुन्छ । त्यो समझदारी बन्नासाथ सबै कुरा हल भएर जान्छ । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने