एमाले माओवादी बराबर ! चुनावको हिसाब काम लाग्दैन- अग्नि सापकोटा
नेकपा माओवादी केन्द्रका नेता एवं सांसद अग्नि सापकोटाले एमाले र माओवादी दुबै पार्टीहरु बराबर हैसियतका रहेको बताएका छन् । नेपालको राजनीतिक परिवर्तनमा दुबै पार्टीको योगदान बराबर रहेको सापकोटाको विश्लेषण छ ।
राजनीतिमा दुबै पार्टीको बराबरी योगदान रहेकाले सोही स्पिरिटमा पार्टी एकता हुनुपर्ने र एकता सम्मानजनक हुनुपर्ने माओवादी नेता सापकोटाको जिकिर छ ।
निर्वाचनका बेलामा माओवादीले ६०/४० को अंकगणितलाई स्वीकारेको थियो, अहिले आएर किन बराबरी ? अनलाइनखबरको प्रश्नमा माओवादी नेता सापकोटाले भने- ‘चुनावका बेलाको हिसाब कार्यनीतिक हो, पार्टी एकतामा त्यो काम लाग्दैन, सम्मानजनक एकता हुनुपर्छ ।’
चुनावमा झण्डै ७०/३० अनुपातको नतिजा हासिल गरेका एमाले र माओवादीलाई ‘बराबर’ शक्ति कसरी मान्न सकिन्छ ? यो कसरी ‘नेचुरल’ दाबी हुन सक्छ ? यिनै प्रश्नको सेरोफेरोमा हामीले पूर्वमन्त्री सापकोटासँग कुराकानी गरेका छौंः
केपी ओलीसँग निर्धारित वार्ता छाडेर प्रचण्ड आइतबार सुकुटे गएपछि पार्टी एकतामा संशय उत्पन्न भयो । यद्यपि फर्किएर प्रचण्डले सोमबार ओलीलाई भेट्नुभयो । र, मंगलबार पार्टी एकता संयोजन समितिको बैठक पनि बस्यो । दुई अध्यक्षवीच के कुराकानी भयो र बैठक सम्भव भयो ?
पहिलो कुरा, त्यो बैठक तोकिएको थिएन । भोलिपल्ट आएर कुरा भइ नै हाल्यो । केही समयदेखि दुई अध्यक्षका बीचमा सम्वाद भएको थिएन, त्यो भयो । यो आफैंमा सकारात्मक कुरा हो । पुरै छिचोलियो भनेर त म भन्दिनँ तर, त्यस दिशामा गएको छ । यसैको प्रमाण हो मंगलबारको संयोजन समितिको बैठक ।
माओवादी नेताहरु एकताबाट भाग्दैछन् भन्ने आरोप तपाईहरुमाथि लाग्न थालेको छ, तपाईहरु एकताबाट भाग्नै खोजेको हो त ?
माओवादीले एकता टार्दैछ भन्नेमा म सहमत छैन । अहिले पनि अध्यक्ष प्रचण्डसँग मेरो छलफल भइरहेको छ र मैले बुझेसम्म एकतालाई चाँडो निष्कर्षमा पुर्याउन बल गरिराख्नुभएको छ ।
प्रचण्ड र केपी ओली दुबै नेता यो स्थितिमा पुगिसक्नु भएको छ कि उहाँहरुले आफ्नो पार्टीका लागि मात्र होइन, सिंगो वाम गठबन्धनका नेताहरुको मोरल बुस्ट गर्नुपर्छ । यसका लागि उहाँहरु पहिला ड्याम्म निष्कर्षमा पुग्नुपर्छ । यसका लागि समय लाग्न सक्छ ।
तर, म पूर्ण विश्वासका साथ प्रचण्डका तर्फबाट के भन्न सक्छु भने एकताप्रति उहाँ पुरै दृढ हुनुहुन्छ र भएभरको तागत लगाएर निष्कर्षमा पुर्याउन संकल्पवद्ध हुनुहुन्छ । समय केही लाग्न सक्छ । ९ गते नै हुन पनि सक्छ । भएन भने वैशाख ९ गते लेनिन जयन्ती छ, अलिपछि त मार्क्स जयन्ती पनि छ । यस्ता ऐतिहासिक दिनहरु थुप्रै छन् ।
तर, यसो भनेर ढिला गर्नहुँदैन । तर, ९ गते नै भएन भने सबै बरबाद हुन्छ भनेर सोच्नुभएन । पर्याप्त गृहकार्य हुनुपर्छ, नेता कार्यकर्ता सबैको जिम्मेवारी सुनिश्चित हुनुपर्छ ।
पछिल्लो समय माओवादी नेताहरुले सम्मानजनक एकता हुनुपर्छ भनिरहेका छन् । के हो यो ‘सम्मानजनक एकता’ ? एमालेले कहाँनेर तपाईहरुलाई सम्मानजनक व्यवहार गरेन ?
पार्टी एकता गर्ने घोषणा गरेर नै हामी जनतामा गयौं । पार्टी एकताको घोषणाले नै यति ठूलो जनादेश प्राप्त भएको छ । त्यसकारण यो सरकार बनाउन मात्र होइन, पार्टी एकता गर्न पनि जनादेश छ । त्यसैले पार्टी एकता सामान्य कार्यनीतिक विषय होइन, ठूलो महत्वको रणनीतिक विषय हो । पार्टी एकता विचार, राजनीतिक लाइन र दृष्टिकोण मिल्ने कुरा हो । त्यो एकताको स्पिरिटलाई आत्मसाथ गर्ने कुरामा अलकति कमी भएको हो कि भन्ने महसुस भएको छ ।
यो कमीलाई पूरा गर्ने उपाय भनेको चुनावमा जाने बेलामा पार्टी एकताको जुन स्पिरिट थियो, त्यसलाई गम्भीर बहसबाट अझ विकास गर्नुपर्छ । यस अर्थमा इतिहासलाई सम्मान गर्नुपर्यो, वर्तमानको आवश्यकता पनि पूरा हुनुपर्यो र भोलिको उद्देश्य पनि सफल हुनुपर्यो ।
दुई पार्टीवीच नमिलेको खास कुराचाहिँ के हो ?
प्रथमतः दुईजना अध्यक्ष रहने सहमति भएको छ । तर, छलफल के बाँकी छ भने यो दुई सशक्त धारको पार्टीको एकता हो । यो मर्ज होइन, सहवरण पनि होइन । एकताको भावअनुसार नै दुबै पार्टीका नेता, कार्यकर्तादेखि समर्थन शुभचिन्तकसम्म आत्मसम्मानको स्थिति पैदा हुनुपर्छ । त्यसो गर्न दुई अध्यक्षको कार्यकारी अधिकार समान हुने सुनिश्चित गर्नुपर्यो । एउटा कार्यकारी, अर्को सेरेमोनियल भयो भने दुई अध्यक्ष राख्नुको औचित्य पुष्टि हुँदैन ।
सबै तहका कमिटीमा दुबै पार्टीवीच ५०/५० को भागवण्डा गर्नैर्पर्छ भन्ने तपाईहरुको अर्को बटमलाइन हो ?
समानताका आधारमा गर्नुपर्छ भन्ने हो । छलफल गर्दै जाँदा स्पिरिट मिल्यो र समझदारी भयो भने २/४ सीट उता बढी होला, कि यता बढी होला ।
तर, चुनावका बेला त तपाईहरुले ६०/४० स्वीकार्नुभएकै थियो, अब त्यो किन स्वीकार्य नहुने ?
चुनावमा जानेबेलामा प्रतिशतको कुरा गर्यौं, त्यो तत्कालीन कार्यनीतिक थियो । अब दुरगामी महत्वको रणनीतिक चरणमा प्रवेश गर्दैछौं । यसमा अन्ततः निर्धारण गर्ने सवाल दृष्टिकोण नै हो । यसमा दुबै पार्टीका नेता, समर्थक सबैलाई यस्तो सन्देश जानुपर्यो कि यो वास्तवमा एकता हो ।
चुनावमा २/४ सिट घटीबढी हुन्छ । चुनावका बेला ६०/४० कार्यनीतिक सवाल थियो र ठीकै पनि थियो । तर, पार्टी एकताको निर्धारण विचार र राजनीतिले गर्छ । रणनीतिक सवालमा त्यो सुत्रले काम गर्दैन ।
रणनीतिक प्रश्न कार्यनीतिक सुुत्रमा कैद हुन सक्दैन । हिजो चुनाव जित्नका लागि गरिएको सिट बाँडफाँटले एकताको स्पिरिट पैदा गर्दैन । यो एकताको स्पिरिट होइन । अब समानताका आधारमा सम्मानजनक एकता हुनुपर्छ ।
एउटा ठूलो र अर्को सानो पार्टीवीच एकता गर्दा ५०/५० का आधारमै हुुनुपर्छ भन्नु कसरी प्राकृतिक होला ?
एउटा चुनावमा पाएको केही सिटले मात्रै ठूलो पार्टी र सानो पार्टी भन्ने मूल्यांकन हुन सक्दैन ।
यहाँको विचारमा माओवादीले एमालेसँग यसरी बराबरी हैसियतको हकदाबी गर्ने आधार केके हुन् ?
पहिलो संविधानसभामा हामी एमाले भन्दा ठूलो पार्टी बनेका थियौं । यो एकता त्यसबेला भएको भए पनि बराबरीमै हुन्थ्यो । हाम्रो संख्या बढी हुँदा पनि हामीले बराबरीको मान्यता नै अघि साथ्र्यौं र सारेका पनि थियौं । कमसेकम हामी केमा क्लियर छौं भने यो बैचारिक-राजनीतिक एकता हो ।
युगान्तकारी परिर्वतनका लागि दुबै पार्टीको योगदान छ । जस्तो, हामीले जनयुद्ध गर्दैगर्दा उहाँहरुले संसदीय संघर्ष गर्नुभयो । त्यसबेला सरसल्लाह त गरेको होइन तर, प्रकारान्तरले भइदियो के भने हाम्रो जनयुद्धले उहाँहरुको संसदीय सघर्षलाई र उहाँहरुको संघर्षले हाम्रो विद्रोहलाई सहयोग पुर्यायो । राजतन्त्र फाल्नलाई दुबैको सहकार्य रहृयो ।
बलिदानको हिसावले हेर्दा यता (माओवादी) निर्णायक हो कि जस्तो लाग्छ । तर, जनपरिचालन, १९ दिने जनआन्दोलनको नेतृत्व हेर्दा एमाले पो निर्णायक हो कि भन्ने लाग्छ । सारमा हेर्दा दुबैको बराबरी योगदान छ ।
स्पिरिटमा हेर्ने हो भने अम्बल कार्यकर्ता, छिनको छिन बलिदानका लागि तयार हुने पंङ्ती हामीसँग छ भने एमालेसँग असाध्यै राम्रो कार्यशैलीबाट सुरु भएको संगठन छ ।
लेनिनले नै भनेका छन् कि बोल्सेभिक स्पिरिट र अमेरिकन दक्षता भयो भने चमत्कार गर्न सकिन्छ । हाम्रो स्पिरिट र उहाँहरुको कार्यदक्षता मिलाउँदा नेपालमा हामी चमत्कार गर्छौं, गर्छौं । यो उचाइमा सबै उठ्नुपर्यो, प्रतिशतको हिसावले हामीलाई तल झार्छ ।
संसदीय व्यवस्थामा जति कुशल हुनुपथ्र्यो र संसदीय निर्वाचनलाई जति उपयुक्त सञ्जाल हुनुपथ्र्यो, त्यसमा कमी भयो होला । तर, सबै युगान्तकारी परिर्वतनको नेतृत्व गरेको र देशब्यापी सञ्जाल भएको पार्टी हो माओवादी ।
दुई पार्टीवीच अहिले जुन विषयलाई नमिलेका विषय भनिएको छ, अन्तर्यमा चाहिँ नेताहरुको व्यवस्थापन नै मुख्य विवादको विषय हो भन्ने सुनिन्छ । त्यसमा पनि केपी ओली र प्रचण्डको व्यवस्थापन मूल समस्या हो र उनीहरुमा एकअर्काप्रति अझै आपसी विश्वास छैन भन्छन् नि केही मानिसहरु ?
तपाईले भनेजस्तै दुई कार्यदलले धेरै विषयमा सहमति जुटाएको छ र धेरै विषय बाँकी छैनन् । जति विषय बाँकी छन्, त्यसलाई निष्कर्षमा पुर्याउन गाह्रो छैन । मुख्य कुरा, एकताको स्पिरिट कायम राख्ने हो कि होइन ? हिजो एउटा स्पिरिट कायम गरेर जनतामा गयौं र जनादेश पायौं । त्यसलाई अहिले स्मरण गरौं । हामी त्यही उचाइमा उठ्नुपर्छ ।
जहाँसम्म ओली र प्रचण्डको कुरा छ, त्यो स्वाभाविक हो । प्रतिस्पर्धा प्रतिभाहरुकै बीचमा हुन्छ । नेपालमा अहिले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र हाम्रो अध्यक्ष प्रचण्डको एकताले नै यो जनादेश प्राप्त भयो र उहाँहरुको टक्करले असहज परिस्थिति आउने आशंका पनि हुन्छ ।
तर, यो दुई नेताको योग्यता-क्षमताको ठूलो परीक्षा पनि हो । हामीले ७० वर्षदेखिको अराजकता चिर्छौं भनेका छौं । त्यसकारण मैले नेतृत्व गर्नुपर्छ भन्ने आकांक्षा राख्नु केपी ओली र प्रचण्ड दुबैका लागि स्वाभाविक हो । यो छ र लुकाउनुपर्ने छैन । उहाँहरुकै निर्णयबाट सिंगो राष्ट्र उद्देलित भयो र अहिले उहाँहरुको बीचमा समझदारी भयो र दृष्टिकोणमा समानता कायम भयो भने ब्रेक थ्रू भइहाल्छ । मलाई लाग्छ, प्रधानमन्त्री व्यस्त पनि हुनुहुन्छ, त्यसले गर्दा छलफल तीव्र बनाउन पाउनुभएको छैन होला । तर, छलफल गर्दै जाँदा समाधान हुन्छ ।
दुई अध्यक्ष राख्ने सहमति भइसकेकाले दुबैको कार्यकारी अधिकार सुनिश्चित गर्ने स्वतः सिद्ध हुन्छ । त्यो समझदारी बन्नासाथ सबै कुरा हल भएर जान्छ । अनलाईनखबरबाट