त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्ने पर्यटन मन्त्रीको घोषणा



हाम्रो इकोनोमि

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन् ।

“सिङ्गल रनवे भए पनि २४ घण्टा संचालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन हुन्छ । भारतको बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?” अधिकारीले भने ।

साक्षात्कारमा मन्त्री अधिकारीले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।
विमानस्थल संचालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ ।

“काठमाण्डौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ ।” उनले भने ।
नेपालको अवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए । विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने उनले बताए ।

पत्रकारहरुको अगाडि अधिकारीले भने, “रेकर्ड गरेर राख्नुस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउँछ । त्यसपछि एयर ट्राफिक कन्ट्रोल हुन्छ । पर्यटक आगमन बढ्छ ।”
आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगंज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनले बताए ।
हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए । त्यसका साथै दुर्घटनाबारे छुट्टै अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाई छ ।

“आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ । अहिले सि टु क्याटागोरीमा रहेछ । अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ ।” अधिकारीले भने ।

पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरउन्नति आवश्यक रहेको औँल्याउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्याउन सक्ने गरी काम गर्ने बताए ।

सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए । “अध्ययन र तथ्याङ्कलाई आधार मानेर भनेको हुँ । कम्तिमा पनि २० लाख पर्यटक आउँछन् ।”उनले भने ।

पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए । एक वर्षभित्रमा ९० प्रतिशत सम्पदा पुनः निर्माण सक्ने दाबी उनले गरे ।

मन्त्री अधिकारीले राष्ट्रिय संग्रहालय छाउनी र नारायणहिटी दरबार सग्रहालयलाई पनि व्यवस्थित गरिने बताएका छन् ।
नेपाल वायु सेवा निगमलाई पनि व्यवस्थित बनाउनका लागि अध्ययन भइरहेको उनले बताएका छन् । निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएको भन्दै उनले भएका कर्मचारीको व्यवस्थापनका लागि सेवा व्यवस्थित बनाउने बताए ।

“निगममा १८ सय कर्मचारीले ३ जहाज चलाएर बसेका छन् । कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन् । हामी पनि त्यस्तै सुधार गर्छौँ ।” अधिकारीले भने ।

अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे ।

अहिले आफू कार्ययोजना बनाउनमा व्यस्त रहेको जानकारी दिदै अधिकारीले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने बताए ।
उनले संस्कृति, पर्यटन र हवाईसम्बन्धी तीनवटा छुट्टाछुट्टै विज्ञ समुह बनाउने तयारी भइरहेको बताए । तर स्वयम्सेवाको भावनाले काम गर्न चाहनेलाई मात्र समुहमा राख्न सकिने उनको भनाई छ ।

एमालेका नेतासमेत रहेका अधिकारीले जनताले अब छिटै सुखद समाचार सुन्न पाउने बताउँदै पार्टी एकता हुने निश्चित भएसकेको दाबी गरे ।“कम्युनिष्ट पार्टी स्थापना दिवस अप्रिल २२ तारिखमा एमाले र माओवादीबिच एकता घोषणा हुन्छ । सबै तयारी पूरा भएको छ ।”

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...