हजार र पाँच सयका नोट गायब, ओली प्रधानमन्त्री बने पछी पैसा लुकाउने बढे,१८ अर्बका नोट कस्ले लुकायो?



हाम्रो इकोनोमि

केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनपछि बैंकिङ प्रणाली बाहिरै पैसा ‘होल्ड’ गर्ने क्रम बढेको छ। प्रणाली बाहिर पैसा होल्ड हुन थालेपछि पछिल्लो एक महिनामा राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बैंकहरुलाई उपलब्ध गराइसकेको छ।

ओली प्रधानमन्त्री हुँदा बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको हातमा गरी कूल चार खर्ब ५७ अर्ब रुपैयाँ बराबरको नोटहरु चलनचल्तीमा थिए। ती नोट प्रणालीबाट हराउन थालेपछि राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुलाई पठाएको छ। एक महिनाको अवधिमा चलनल्तीको नोट चार खर्ब ७५ अर्ब रुपैयाँ पुगिसकेको छ। राष्ट्र बैंकले बजारमा पठाएको नयाँ नोट ठूला दर (५०० र १०००) का छन्।

सामान्यतया ठूला दरका नोट यसरी बजारमा पठाउनु पर्ने आवश्यकता हुँदैन्थ्यो। पठाए पनि पुरानो नोट लिएर नयाँ नोट साटफेर हुन्थ्यो। तर यसपाली ठूला दरका नयाँ नोटहरु धमाधम बजारमा पठाइरहनु परेको छ।

चुनावमा भएको खर्च प्रणालीमा आउँछ भन्ने अनुमान विपरीत राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउनु पर्ने अवस्थाले ठूलो आशंका जन्माएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

‘यो पैसा कहाँ गइरहेको छ? कसले होल्ड गरेको छ? हामीलाई पनि थाहा छैन’ उनले भने, ‘प्रणाली बाहिरै पैसा होल्ड हुनुले ठूलो शंका जन्माएको छ। यस बारेमा अनुसन्धान गर्न हामीले दुई वटा विभागलाई जिम्मा दिइसकेका छौं।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पैसा पठाउँछ। त्यो पैसा सर्वसाधारणको हातमा पुग्छ। कारोबारका क्रममा ती पैसा पुराना हुन्छन् र बैंक वित्तीय संस्थामार्फत राष्ट्र बैंकमा फर्किन्छ। राष्ट्र बैंकले त्यसको बदलामा फेरि नयाँ नोट दिन्छ। तर एक महिनायता भने त्यसरी बैंकहरुबाट पुरानो नोट आएको छैन। बैंकहरुलाई उल्टै नयाँ नोट उपलब्ध गराउनु परिरहेको छ।

यही कारण राष्ट्र बैंकसँग १००० दरका नोटको ‘स्टक’ घट्दै गएको छ। स्टक घट्न थालेपछि राष्ट्र बैंकले १००० को ठाउँमा ५०० दरका नोट बजारमा पठाउन थालिसकेको छ।

‘निक्कै शंकास्पद अवस्था छ। तर यो अल्पकालीन हो वा कुनै कारणले भएको हो भन्न सकिने अवस्था छैन। हामी चाँडै पत्ता लगाउँछौं,’ शिवाकोटीले भने, ‘ब्यवसायीहरुले होल्ड गरेका छन् कि भन्ने हाम्रो अनुमान हो। तर पुष्टि गर्न सकिएको छैन।’

अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन। यसो हुँदा बैंकिङ प्रणालीमा पैसा हुनु पर्ने थियो। उल्टो प्रणालीमा निक्षेप नबढ्ने र राष्ट्र बैंकको मौज्दात पनि घट्ने अवस्था आउनुले अवस्था शंकास्पद भएको राष्ट्र बैंकको ठम्याइ छ। जबकी चुनावका बेला दशैंमा जस्तै ठूलो पैसा राष्ट्र बैंकबाट बाहिरिन्छ भन्ने अनुमान थियो। तर यस विपरीत २५ अर्ब रुपैयाँले राष्ट्र बैंकको नोट कोष बढेको थियो। अहिले आएर बैंकमा नोटको माग बढ्दा केही शंका जन्मिएको हो’ शिवाकोटीले भने।

राष्ट्र बैंकका अधिकारीहरुले नोटको माग बढ्नुमा दुई/तीन वटा शंका गरेका छन्।

पहिलो, १० लाखको नगद कारोबारको सीमाले गर्दा व्यापारी, ठेकेदारहरुले दैनिक रुपमा चेक काटेर नगदको स्टक बढाउन थालेका छन्। यसले गर्दा बैंकमा नयाँ नोटको माग भएको हो।

दोस्रो, विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिटेन्स यहाँ ‘अमुक’ ब्यक्ति तथा संस्थाले आफन्तलाई दिने गरेका छन्। रेमिटेन्स घट्न थालेकाले पनि यो शंका राष्ट्र बैंकले गरेको हो। यसरी भुक्तानी दिन ब्यापारीहरुले दैनिक रुपमा बैंकबाट १०/१० लाखका दरले पैसा झिकेको हुन सक्छन्।

अर्को, भारतीय सीमावर्ती क्षेत्रमा भारु साटेर नेपाली रुपैयाँ राख्ने क्रम पनि बढेको हुन सक्छ। किनभने नोटबन्दीको त्रास अझै पनि घटिसकेको छैन।

यी तीन वटै राष्ट्र बैंकको अनुमान हो। तर ओली प्रधानमन्त्री भएपछि एकाएक ठूलो रकम प्रणालीबाट हराउनुलाई भने राष्ट्र बैंकका अधिकारीहरुले अर्कै तरिकाले विश्लेषण गरेका छन्।

‘वामपन्थी सरकार आए लगत्तै भन्सारमा गरिएको कडाइ र सम्भावित त्रासले पनि पैसा होल्ड गरेको हुन सक्छ’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तर यो पनि हाम्रो अनुमान मात्र हो। अनुसन्धान थालिसकेका छौं। केही दिनमै वास्तविकता बाहिर आउँछ।’

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...