राष्ट्रपति चयनका लागि मतदान शुरु,दुवै उम्मेदवारले भोट हाल्न नपाउने,बिद्याले जित्ने यसरी भयो निश्चित
नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ।
तेस्रो राष्ट्रपतिका लागि अहिले १० बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन शुरु भएको छ।
एमाले माओवादीसहितका वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी राईबीच प्रतिस्पर्धा हुँदै छ। तर दुवै उम्मेदवारले भोट हाल्न भने पाउदैनन।
एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद तथा अर्को मतदान केन्द्रमा प्रदेश सभाका सांसदले मतदान गर्ने निर्वाचन आयोजका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
निर्वाचनमा वर्तमान राष्ट्रपति भण्डारीको जित निश्चित देखिएको छ। उनको पक्षमा १३ हजारभन्दा बढी मत छ। उनी दोश्रो कार्यकालका लागि राष्ट्रपति बन्ने सुनिश्चित जस्तै छ।
संघीय संसद्–प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३० र प्रदेश सभाका ५५० सांसद राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुनेछन्।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ छ। कुल मतदाता संख्या ८८० भएकाले जम्मा मतभार ५२ हजार पाँच सय रहेको छ।
कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरी र पछि शपथ लिएका राष्ट्रिय सभाका तीन सांसदले भने मतदानमा भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ।
एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका ६६६ सांसदको समर्थन वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा छ । यसले भण्डारीको पक्षमा मत ३९ हजार ७०९ मत देखिन्छ।
संविधानअनुसार राष्ट्रपतिमा विजय हुन खसेको मतमा कम्तीमा ५० प्रतिशत कटाउनुपर्ने भएकाले २६ हजार ३४४ मत आवश्यक पर्छ। भण्डारी १० हजार २० मत बढी ल्याएर विजयी हुने निश्चित प्रायः छ।
कांग्रेसकी उम्मेदवार लक्ष्मी राईका पक्षमा कांग्रेसका १८९ सांसदको समर्थन रहेकाले उनको पक्षमा ११ हजार ४२८ मत खस्ने छ। १० ओटा साना दलसँग एक हजार ६४९ त छ। साना दलले जता मत हाले पनि त्यसले जित–हारका लागि खास अर्थ राख्दैन।निर्वाचन आयोगले आजै बेलुकासम्ममा राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।