गृहमन्त्रीले सबक सिकाए पछी प्रहरी प्रमुख तनाबमा,ओली सरकारले डाम्ने भयले बिदामा बसे प्रकाश अर्याल



गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक प्रहरी प्रधान कार्यालय पुगेका रामबहादुर थापा बादलले विगतका सहयात्री विप्लव माओवादीलाई अराजनीतिक चरित्र बोकेको समूहको रुपमा चित्रण गर्न भ्याएका छन् ।

विप्लव माओवादीको नाम नलिई अहिले राजनीतिका नाममा जे गतिविधि भएका छन्, ती सबै अराजनीतिक हुन्, त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष योजना बनाउन निर्देशन दिँदै उनले सो निर्देशन नमान्ने हो भने प्रहरी संगठका अधिकारीले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनी दिए ।

उनी मन्त्री भएको तीन दिनपछि विप्लवको घरमा पुर्जी टाँस गरेकै दिन प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री थापा विप्लवप्रति मात्र आक्रोशित भएनन्, प्रहरी नेतृत्वलाई समेत आफ्नो मर्यादामा बस्न निर्देशन दिए ।

मुलुकको शान्ति सुरक्षालाई असन्तुलित बनाउने, हिंसा चाहने, राजनीतिका नाममा चन्दा असुली गर्ने र विकासप्रति नकारात्मक बन्ने तत्व सक्रिय रहेका छन्, गृहमन्त्री थापाले भने, देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन्, केही पश्चिम शक्ति नेपालको परिवर्तनप्रति असन्तुष्ट छन्, हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेका छन् नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्छ, त्यसका लागि प्रहरी संगठन तयार रहनुपर्छ ।

विप्लव माओवादीले जनसरकार व्यूँताउने लगायतका कार्यक्रम अघि सारेको थियो भने आइतबार विद्यार्थी संगठनको नाममा शैक्षिक हडताल गरेको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिएबमोजिम कार्यान्वयन गर्नलाई विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको हो ।

विप्लवको घर कपिलवस्तुको शिवराज नगरपालिकामा पर्छ । सरकारले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गरेको विज्ञप्तिमा सरकारले चोरलाई चौतारो, साधुलाई सुली गर्ने हो भने जनअदालतमा रहेका मुद्दाहरु ब्यूँताउने र ओली र प्रचण्डकै घरमा वारेन्ट पुर्जी टाँस्ने बताएका थिए ।

त्यसपछि गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै मुलुकको शान्ति सुरक्षा गर्ने जिम्मेवारी प्रहरीको भएको बताउँदै हिंसा चाहने तत्वलाई निस्तेज पार्ने निर्देशन दिएका हुन् ।

विप्लव माओवादीलाई लक्षित गर्दै गृहमन्त्री थापाले उनीहरु कस्ता अपराधी हुन् भन्नेबारे सोचेर सरकारले कदम चाल्ने बताउँदै त्यसैअनुसार तयार रहन प्रहरीलाई निर्देशन दिएका थिए ।

तिनीहरु राजनीतिक शक्ति हुन् या होइनन् भन्ने चिनेर कदम चाल्नुपर्छ, प्रहरी अन्धाधुन्द चलेको आभास हुन्छ भन्दै संगठन प्रमुखप्रति उनले असन्तुष्टि राखेका थिए ।

गृहमन्त्री थापाले प्रहरी संगठन कसैको आग्रह पूर्वाग्रहमाचल्ने संगठन होइन भन्दै मर्यादामा बस्न पनि निर्देशन दिएका थिए । उनले सरुवा बढुवामा धेरै चलखेल नगर्न र कानुनतः सरुवा बढुवा हुने बताउँदै नेताहरुको घरमा नधाउन पनि निर्देशन दिएका छन् ।

आईजीपी अर्याल घर बिदामा

गृहमन्त्री रामबहादुर थापाले ब्रिफिङ लिएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल बिहीबारदेखि पाँच दिन बिदामा बसेका छन् ।
कर्मचारी प्रशासन एवं मानव स्रोत विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न‘पर्ने भन्दै उनको बढुवा फाइल उठाएपछि उनी बिदामा बसेको स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री थापाको आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएका कारण त्यस दिनको बिदालाई बिहीबार बनाएर सोमबारसम्म बिदा लिएका हुन् ।

अर्याल निकट स्रोतका अनुसार चार दिन बिदा र यो बीचमा हुने चार दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा आठ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको छ ।

एसएसपीको ५५ वर्षे उमेरहदका कारण यही २३ फागुनमा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्न‘पर्ने भएपछि उनी बिदामा बसेका हुन् ।

आईजीपी अर्यालसँगै २९ चैत ०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम यही २३ फागुनमा ५५ वर्ष पुग्दैछन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेरहद ५५ वर्ष र पदावधि ६ वर्ष कायम छ । एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्न‘प¥यो ?

कोही कसैलाई पूर्वडीआईजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ?’ आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डिआईजीले भने, ‘अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवालगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउँदैन ।’

गौतम आगामी २३ फागुनभित्र डिआइजीमा बढुवा नभए एसएसपीबाटै स्वतः अवकाश पाउनेछन् भने डिआइजी भएको खण्डमा आगामी २८ चैतमा ३० वर्षे सेवाहदका कारण आईजीपी अर्यालसँगै स्वतः अवकाश पाउनेछन् ।

खुल्यो तस्करी लाइन ?
सशस्त्र प्रहरीले अवकाश पाउन लागेका तीन एसपीलाई कार्यालय प्रमुख बनाएर पठाउँदा तस्करी बढेको प्रधान कार्यालय हलचोकमा उजुरी पुगेको छ ।

आगामी असार ३० वर्षे सेवा अवधि पुगी घर जाने अवस्थामा पुगेका तीन एसपीले घर जाँदाजाँदै कार्यालय प्रमुख हुँदा कमाउधन्दामा लागेका छन् ।

दन्तकाली गण सप्तरीका प्रमुख एसपी टंक खड्का, सीमा सुरक्षा कार्यालय सप्तरीकै प्रमुख एसपी रामाधार यादव र औद्योगिक सुरक्षा गणका गणपति गुणाखर खनालले तस्करीको लाइन खुला गरेको स्रोतले बतायो ।

समान्यतः सुरक्षा निकायमा प्रमुखको जिम्मेवारी नदिने नियमविपरीत सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको निगाहमा उनीहरुले कार्यालय प्रमुखको जिम्मेवारी पाएका हुन् ।

उनीहरुसँग अवकाश पाउन लागेका विजय पण्डितलाई भने सशस्त्र प्रहरी मुख्यालयमा थन्क्याइएको छ । आउँदो असारमै घर जाने भएपछि सीमा सुरक्षा कार्यालय सप्तरीका प्रमुख यादवले तिलाठी र रामनगर नाकाबाट बालुवा, गिटी, सुपारी, स्याउ तस्करी गर्न छुट दिएका छन् ।

केही दिनअघि रामनगर नाकाबाट नेपाल प्रहरीले भन्सार छली राजस्व नतिरी लैजान लागेको १३५ किलो स्याउ बरामद गरेको थियो।

स्याउसँगै पक्राउ परेका व्यक्तिले सीमा सुरक्षा कार्यालय प्रमुख यादवकै आदेशमा लैजान लागेको बयान दिएका थिए । नेपाल प्रहरीले बयान लिने क्रममा सो रहस्य खुलेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी मुकेश सिंहले कार्यालयमै बोलाएर उनलाई थर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको