प्रधानन्यायाधीश गोपाल पराजुलीले के भने, आइजीपी अर्याल तनावमा ,आजबाट बिदामा बस्दै



प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाशको मुखैमा नातेदार प्रहरी अधिकृतलाई बढुवा गर्न दिएको दबाब थेग्न नसकेपछि प्रहरी महानिरीक्षक (आइजिपी) बिदामा बस्न लागेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न चर्को दबाब दिएपछि आइजिपी प्रकाश अर्याल बुधबारदेखि चार दिन बिदा बस्न लागेका हुन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री रामबहादुर थापाको आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएको कारण निरीक्षणलगत्तै अपराह्नदेखि बिदामा बस्दै छन् । अर्यालनिकट स्रोतका अनुसार चार दिन बिदा र यो बीचमा हुने चार दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा ८ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको छ । एसएसपीको ५५ वर्षे उमेर हदका कारण यही २३ फागुनमा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्न प्रधानन्यायाधीश पराजुलीले चर्को दबाब दिएका कारण आइजिपी अर्याल केही दिनदेखि तनावमा छन् ।

सोही कारण उनी गृहजिल्ला दाङमा आयोजित आफन्तको विवाहको कार्यक्रममा सरिक हुन भन्दै बिदा बस्न लागेको स्रोतको भनाइ छ । आइजिपी अर्यालसँगै २९ चैत ०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम प्रधानन्यायाधीश पराजुलीका आफन्त हुन् । उनी यही २३ फागुनमा ५५ वर्ष पुग्दै छन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष र पदावधि ६ वर्ष कायम छ ।

गौतम आगामी २३ फागुनभित्र डिआइजीमा बढुवा नभए एसएसपीबाटै स्वतः अवकाश पाउनेछन् भने डिआइजी भएको खण्डमा आगामी २८ चैतमा ३० वर्षे सेवाहदका कारण आइजिपी अर्यालसँगै स्वतः अवकाश पाउनेछन् । बुधबार कार्यालय समयभित्र बढुवासूची प्रकाशित नभए एसएसपी गौतमको डिआइजी सपना टुंगिनेछ । नवलपरासीको एसपी हुँदा आर्थिक प्रलोभनमा ज्यान मुद्दाका अभियुक्तलाई छोडेको आरोप लागेपछि कारबाहीमा परेका उनी विवादास्पद अधिकृत हुन् ।

‘बढुवा भए पनि एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्नुपर्यो ? कोही कसैलाई पूर्वडिआइजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ?’ आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डिआइजीले भने, ‘अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवा लगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउँदैन ।’ त्यसो त आइजिपी अर्यालले एसएसपी गौतमलाई बढुवा गरेर पुरानो गुन तिर्न नखोजेका होइनन् । बढुवा प्रयोजनका लागि गतहप्ता मात्रै आइजिपी अर्यालले आफ्नै सचिवालयमा पदपूर्ति समितिको बैठक बोलाएर इन्स्पेक्टरदेखि डिआइजीसम्म खाली पदमा पदपूर्ति गर्ने निर्णय गराइसकेका छन् ।

आइजिपी अर्यालले अवकाशको मुखमा बढुवा तयारी गरेको खबर पाएपछि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव मोहनकृष्ण सापकोटालाई बढुवा समितिको बैठक नराख्न र उक्त विषयमा गृह मन्त्रालयले कुनै भूमिका नखेल्न चेतावनी दिएपछि आइजिपी अर्याल हच्केका थिए । डिआइजी बढुवामा गृहसचिव बढुवा समितिको अध्यक्ष हुने कानुनी प्रावधान छ । ‘बढुवाको सबै निर्णय नयाँ गृहमन्त्री र नयाँ आइजिपी आएपछि हुन्छ, अहिले कुनै प्रक्रिया अगाडि नबढाउनू,’ प्रधानमन्त्री ओलीले गृहसचिव सापकोटालाई दिएको निर्देशन उधृत गर्दै बालुवाटार स्रोतले भन्यो । उसो त आइजिपी अर्यालले आइजिपी नियुक्तिसम्बन्धी मुद्दा आफ्नो पक्षमा पार्न एसएसपी गौतमलाईसमेत प्रयोग गरेको स्रोत बताउँछ ।

प्रधानन्यायाधीश पराजुली नेतृत्वको सात सदस्यीय इजलासले तत्कालीन डिआइजी नवराज सिलवालले दायर गरेको रिट खारेज गरेर अर्यालको नियुक्ति सदर गरेको थियो । अर्यालले त्यसवेला गौतमका अलावा हालका डिआइजी उत्तमकुमार कार्कीलाई समेत प्रयोग गरेको चर्चा चल्ने गरेको छ । हालका डिआइजी कार्की उक्त इजलासका न्यायाधीश प्रकाशमानसिंह राउतका आफन्त हुन् । तत्कालीन एसएसपी कार्कीले त्यसवेला दौडधुप गरेर लगाएको गुन तिर्दै अर्यालले उनलाई चौथो नम्बरमा बढुवा गर्न सफल भइसकेका छन् । नवराज सिलवाललाई फसाउनेदेखि आफ्नो पक्षमा मुद्दाको फैसला गराउन दिलोज्यान दिएका केही अधिकृतहरूको गुन नतिरीकनै आइजिपी अर्याल अवकाशमा जान लागेपछि ती अधिकृतहरू तनावमा रहेको स्रोतले जानकारी दिएको छ ।

अर्यालले प्रयोग गरेका एसपीद्वय मुकुन्द आचार्य, विक्रम चन्द, डिएसपीद्वय भूपेन्द्रबहादुर खत्री र सविन प्रधान आफूहरूको बढुवा नहुने भएपछि तनावमा परेको मुख्यालय स्रोत बताउँछ । डिएसपी खत्री र प्रधान एसपी बढुवाको लाइनमा रहेका अधिकृत हुन्, उनीहरू दुवै आइजिपी अर्याल निकट मानिन्छन् । उनीहरू वाम गठबन्धनका उम्मेदवार हराउन प्रहरी परिचालन गर्नेदेखि नवराज सिलवाललाई फसाउने अभियानको मुख्य योजनाकार मानिन्छन् । गत साउनको बढुवामा आफ्ना ब्याचमेटहरूको बढुवा हुँदा एसपी आचार्य र चन्द बढुवामा छुटेका थिए । उनीहरू दुवै विवादास्पद अधिकृत हुन् । बढुवामा छुटेपछि आफूहरूले जिउज्यान दिएर सहयोग गर्दा पनि प्रकाश अर्यालले धोका दिएको भन्दै असन्तुष्टि पोख्दै हिँड्ने गरेका छन् ।

एसपी चन्द नवराज सिलवाललाई पक्राउ र धरपकड गर्ने अधिकृत हुन् भने एसपी आचार्य मुद्दा मिलाउन लबिङ गरेका अधिकृत हुन् । तत्कालीन प्रधानन्याधीश सुशीला कार्की नेतृत्वको पाँच न्यायाधीश सम्मिलित मुद्दाको फैसला गर्दा सक्कल कागजात हेरेर सिलवाललाई आइजिपी नियुक्ति गर्न नाम तोक्ने चार न्यायाधीशको रायमा न्यायाधीश डा. आनन्दमोहन भट्टराइले असहमति जनाएका थिए । न्यायाधीश भट्टराइले असहमति जनाएपछि बहुमतको आधारमा फैसला लेखौँ भन्ने अन्य न्यायाधीशको आग्रहमा मध्यमार्गी निर्णय दिऔँ, नाम नतोकौँ, वरीयता तोकिदिऔँ भन्दै सुझाव दिएपछि जयबहादुर चन्दको नियुक्ति बदर गर्दै सिलवाल पहिलो नम्बर, प्रकाश अर्याल दोस्रो नम्बर, बम बहादुर भण्डारी तेस्रो नम्बर र जयबहादुर चन्द चौथो नम्बरमा रहेको फैसला सुनाइएको स्रोतको दाबी छ ।

त्यसवेला नाम नतोकिनु नै पछि घटेको कार्यसम्पादन मूल्यांकन किर्ते प्रकरणको प्रमुख कारक रहेको चर्चा चल्ने गरेको छ । त्यसवेला न्यायाधीश भट्टराईलाई कन्भिन्स गर्ने कार्यमा पूर्वआइजिपी उपेन्द्रकान्त अर्याल र हालका आइजिपी प्रकाश अर्यालले एसपी आचार्यलाई प्रयोग गरेको स्रोतको दाबी छ । एसपी मुकुन्द आचार्य न्यायाधीश डा. आनन्दमोहन भट्टराईका नातेदार हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको