ओलीले प्रचण्डको पार्टीमा यसरी सारिदिए झगडाको बिउ,बादल बोके पछी वर्षमानले प्रचण्डलाई झम्टिए,यस्तो छ कलह



११ फागुनमा बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कलाकार सिताराम कट्टेल (धुर्मुश) को प्रसंग निकाल्दै आफ्नो सरकारमा उपप्रधानमन्त्री किन नराख्ने भनेर बेलिबिस्तार लगाए।

‘चित्रबहादुर केसी, सीपी मैनाली जस्ता नेतालाई सरकारमा ल्याउँदा मन्त्री, राज्यमन्त्री दिएर भएन’ ओलीको भनाई थियो, ‘यसपटक त्यस्तो अवस्था छैन। त्यसैले, उपप्रधानमन्त्री राखिँदैन।’

यसअघि सरकारमा धेरै उपप्रधानमन्त्री राख्दा जनतामा राम्रो सन्देश नगएकाले यसपटक उपप्रधानमन्त्री नबनाउनेमा ओली दृढ छन्। यस विषयमा प्रचण्डसमेत सकारात्मक रहेको बताइन्छ। १० फागुनको केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले ओलीको धारणाबारे ‘ब्रिफिङ’ गरेका थिए।

तर, ओलीको यहि अडानका कारण एमालेसँग सत्ता साझेदारीको तयारी गरिरहेको माओवादी केन्द्रभित्र विवाद बढेको छ।

ओली सरकारमा कुन मन्त्रालय लिने भन्ने विषयलाई लिएर माओवादीभित्र बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र बर्षमान पुनबीच ‘शीतयुद्ध’ नै चलेको छ। सुरुमा बादललाई अन्य कुनै मन्त्रालयसहित उपप्रधानमन्त्री बनाएर पठाउने र गृह बर्षमानले लिने समझदारी ओलीले उपप्रधानमन्त्री नराख्ने निर्णयसँग अप्ठेरोमा परेको हो।

उपप्रधानमन्त्री नबनाउने ओलीको मनशाय बुझेपछि माओवादी केन्द्रका यी दुबै नेताले गृहमन्त्रालय दावी गरेका छन्। ‘गृह–लफडा’ ले गर्दा अध्यक्ष प्रचण्डसमेत अप्ठेरोमा परेपछि उनीसहित नारायणकाजी श्रेष्ठ र बादल रहेको समितिले मन्त्रीहरूको नाम अझै टुंगो लगाउन सकेको छैन।

बादल यसअघि उपप्रधानमन्त्रीको हैसियतसहित सरकारको नेतृत्व गर्ने र बर्षमान गृह लिने दाउमा थिए। तर, उपप्रधानमन्त्री नबनाउने ओलीको अडान आएपछि पार्टीमा तेश्रो बरियताका बादल बर्षमान भन्दा ‘कमजोर’ मन्त्रालयमा जान चाहिरहेका छैनन्।

यसअघि अर्थ मन्त्रालय हाँकिसकेका बर्षमानले प्रचण्डलाई आफू अर्थ र गृहबाहेक अरु मन्त्रालयमा जान इच्छुक नरहेको जानकारी दिइसकेका छन्। ०६५ सालमा रक्षामन्त्री हुँदा बेहोरेको असफलताका कारण बादल सुरक्षा सम्बन्धी मन्त्रालयमा जान नखोजेको बताइएको थियो। तर, उपप्रधानमन्त्रीका कारण दुवै नेताले गृहलाई प्रतिष्ठाको विषय बनाइरहेका छन्।

‘यसअघि बादलजीले उपप्रधानसहित सरकारको नेतृत्व गर्ने र अरु कुनै मन्त्रालय लिने, गृहमा बर्षमान जाने भन्ने दुबै नेताबीच समझदारी थियो’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘तर उपप्रधानमन्त्री नबनाउने भएपछि दुबैजनाले गृह ताके, अहिले त दुबैले गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाएका छन्।’

गृहमन्त्रालयमा अर्का नेता जनार्दन शर्माको पनि आँखा परेको छ। दुई नेताबीचको जुहारीमा जनार्दनले गृहमा दाउ हेरिरहेको बताइन्छ। आफुले गृह पाउने अवस्था नआएको खण्डमा भने जनार्दनले बादललाई समर्थन गर्ने पक्का छ।

माओवादी केन्द्रभित्र जनार्दन र बर्षमानबीच तिक्ततापूर्ण सम्बन्छ छ। अखिल (क्रान्तिकारी) को चुनावमा दुई नेताबीचको खटपट उत्कर्षमा पुगेको थियो। जनार्दनका कान्छा भाइ अनिल शर्मा र रञ्जित तामाङबीचको प्रतिस्पर्धामा बर्षमानले रञ्जितको पक्षमा लबिङ गरेपछि उनीहरु बीचको सम्बन्धमा झनै दरार उत्पन्न भएको थियो।

बर्षमानलाई गृहको दावीबाट पछि हटाउन बादल पक्षबाट ओनसरीलाई पुनः सभामुख बनाउने प्रस्ताव गरिएको छ। तर, सभामुखमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले दावी गरिरहेका छन्।

‘सभामुखका विषयमा छलफल शुरु त भएको छैन तर बर्षमानलाई ब्याक हटाउन उहाँहरुले नै बरु ओनसरीलाई सभामुख बनाइदिउँला भन्ने आश्वासन दिन थाल्नुभएको छ’, बर्षमान निकट एक नेताले भने।

बर्षमानको आक्रोशः पार्टी फुटाउने पुरस्कृत भए
बादलले गृहमन्त्रालयमा दावी पेस गरेपछि बर्षमान पक्ष आक्रोशित बनेको छ। लाभका पद पार्टी फुटाउन भुमिका खेल्ने नेताहरुलाई दिएको भन्दै उनले प्रचण्डप्रति समेत गुनासो गर्न थालेका छन्।

‘लाभका पदमा अहिले हिजो पार्टी फुटाउनेहरुको हालिमुहाली छ, पार्टी फुटाउनेहरु अध्यक्षबाट पुरस्कृत भइरहेका छन्’, बर्षमान निकट एक नेता भन्छन्, ‘बर्षमानजीहरुले अप्ठ्यारो अवस्थामा पार्टी र अध्यक्षका पक्षमा काम पनि गर्नु र आज उहाँहरु नै अपमानित हुनु त न्यायसंगत भएन, उहाँहरुले फुटाएपछि पार्टीको हालत के भयो भन्ने पनि ख्याल गर्नुपर्छ।’

प्रतिनिधि र प्रदेशसभामा पनि बादल पक्षकै हालिमुहाली रहेको भन्दै माओवादीभित्र बर्षमान पक्ष असन्तुष्ट छ। प्रचण्डले बादल समूहलाई महत्व दिएर विगतदेखि नै आफुलाई सहयोग गर्दै आएको समुहलाई पाखा लगाएको बर्षमानको गुनासो छ।

उपप्रधानमन्त्री नराख्ने ओलीको अडान एमाले महासचिव ईश्वर पोखरेलले पनि रुचाएका छैनन्। यसअघि बाबुराम भट्टराईको सरकारमा १३ दिन उपप्रधानमन्त्रीको हैसियतमा सहभागी भएका उनी यसपटक पनि सोही हैसियतमा सरकारमा सहभागी हुन चाहन्छन्।

त्यसैले, माओवादीभित्रको आन्तरिक मतभेद व्यवस्थापन गर्न र ईश्वर पोखरेलको चिन्तालाई सम्बोधन गर्न उपप्रधानमन्त्री नराख्ने आफ्नो निर्णयबाट ओली र प्रचण्ड दुवैजना पछि हट्नेपनि उत्तिकै सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको