संसदीय दलमा देउवालाई सर्वसम्मत नदिने



कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्।

संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन्। स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा छन्। सिंह भने देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिन तयार छन्।

समानुपातिकतर्फका सांसदको टुंगो लागेपछि कांग्रेसमा दलको नेता छान्ने गृहकार्य अघि बढेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसका ६३ सांसद छन् ।

जसमध्ये सभापति शेरबहादुर देउवा पक्ष संसदीय दलमा सहज बहुमतमा देखिएको छ । दलको नेता बन्न ३२ मत (बहुमत) आवश्यक पर्छ । तर, देउवा पक्षमा प्रत्यक्षका ११ र समानुपातिकका २९ गरी ४० सांसद छन्।

पौडेल पक्षबाट प्रत्यक्षमा नौ र समानुपातिकमा १० गरी १९ सांसद छन् । प्रत्यक्षमा तीन सिट जितेको सिटौला पक्षका समानुपातिक सांसद छैनन् । सहमति नभई भोटिङ हुने अवस्थामा पौडेल पक्ष सहजै पराजित हुने देखिन्छ।

प्रत्यक्ष निर्वाचनतर्फ केही कमजोर देखिएका सभापति देउवा समानुपातिकतर्फको नतिजामा सुदृढ देखिएपछि दलको नेता आफैँ बन्ने सोचमा छन् ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमध्ये संस्थापन पक्षका ११ सांसद मात्रै छन् । तर, समानुपातिकतर्फ देउवाले आफूनिकट २९ सांसद बनाएर दलमा सहज बहुमत पु-याएका छन्।

संस्थापन पक्षका नेताहरू देउवाले फेरि पनि चाहना राखेमा अन्य कुनै पनि नेता उम्मेदवार नै नबन्ने बताउँछन् । अहिलेसम्म देउवाले अरूलाई दलको नेता बनाउने गरी आश्वासन पनि दिएका छैनन् ।

आफू उठ्दा समस्या नहुने भए पनि अर्को कुनै नेतालाई अघि सार्दा आफ्नो पक्षमा असन्तुष्टि बढ्ने भएपछि देउवा आफैँ अघि बढ्ने मनस्थितिमा पुगेको स्रोतले बतायो ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित रामचन्द्र पौडेल सबै किसिमका संसदीय प्रतिस्पर्धाबाट स्वतः बाहिर छन्।

उनको पक्षबाट संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् । दुवैले सार्वजनिक रूपमा आफू दलको नेतामा दाबी पेस गर्ने बताएका छन् ।

कोइराला सर्वसम्मत रूपमा नेता चयन हुने अवस्थामा मात्रै दाबी पेस गर्ने पक्षमा छन् । आफू दलको उम्मेदवार भएमा प्रस्तावक पार्टी सभापति देउवा हुने कोइरालाले सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

उनले अघिल्लो साता नवलपरासीमा आयोजित कार्यक्रममा भनेका थिए, ‘म दलको नेता भएँ भने मेरो प्रस्तावक सभापतिजी हुनुहुन्छ ।’

तर, नेता सिंहले भने सार्वजनिक रूपमै प्रतिस्पर्धामा आफू उम्मेदवार हुने बताउँदै आएका छन् । स्रोतका अनुसार पौडेल पक्षका भएपनि कोइराला परिवारनिकट सांसदहरूले सिंहलाई उम्मेदवार बनाउन चाहिरहेका छैनन् ।

‘अब पुरानो संस्थापन पक्षको नेतृत्व कोइराला परिवारबाट कसैले गर्ने हो, पौडेलले गर्ने होइन,’ स्रोत भन्छ, ‘पौडेल आफैँ सांसदमा पराजित भएकाले महामन्त्रीसमेत रहेका डा. कोइरालाले नै दलको नेतामा प्रतिस्पर्धा गर्नुपर्छ । सिंहलाई उम्मेदवार बनाउने होइन ।’

स्रोतका अनुसार पौडेल पक्षका सांसदहरू कोइरालालाई सर्वसम्मत नेता बनाउनुपर्ने र निर्वाचनमा जानुपरे सिंहलाई दलको नेतामा उम्मेदवार बनाउन चाहिरहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संघीय संसद्का सांसदले शपथ लिएपछि मात्र कांग्रेसले दलको नेता चयन गर्नेछ ।

‘कांग्रेस सांसदहरूले शपथ लिएपछि मात्र उनीहरू दलको नेता छान्न योग्य हुन्छन् भन्ने पक्षमा छ,’ शर्माले भने, ‘अरूले सांसदको शपथसमेत नलिईकन दलको नेता छाने पनि हामी सांसदले शपथ लिएपछि मात्र दलको नेता चयनको प्रक्रिया थाल्छौँ ।’ यो खबर रमेश र मधुसुधनले आजको नयाँ पत्रिकामा लेखेका छन्

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।