सिटामोल नपाएरै फर्कन्छन् बिरामी



हाम्रो इकोनोमि

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।

त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधि पठाएको थियो । उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो । “अहिले सिटामोलसम्म छैन, दैनिक बिरामी आउँछन् तर औषधि नहुँदा रित्तै फर्काउनु परेको छ”, त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सिर्जना रोकायाले भन्नुभयो ।

स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायतको जिम्मा नगरपालिकाको जिम्मामा भएको रोकायाले बताउनुभयो । “बारम्बार जानकारी गराउँदासमेत नगरपालिकाले ध्यान दिएको छैन,” उहाँले भन्नुभयो–“घण्टौँ हिँडेर बिरामी आउने गर्छन्, औषधि छैन भन्दै फर्कानु परेको छ ।”

त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । सामान्य औषधिसमेत नभएको पहाडा स्वास्थ्य चौकीका प्रमुख कृष्ण कार्कीले बताउनुभयो । पाँचवटै स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल स्वास्थ्य केन्द्रमा कहिलेकाहीँमात्र देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले रु १५ लाखको औषधि र उपकरण खरिद गर्ने निर्णय गरेको भएपनि जनप्रतिनिधिको बेवास्ताका कारण खरिदमा ढिलाइ भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताउनुभयो । औषधि खरिदका लागि पहल गरिरहेको उहाँको भनाइ छ ।

पाँच दिनसम्म ज्वरोले थलिएर उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएकी ६० वर्षीया नौसरा बुढाले भन्नुभयो, “अस्पताल गएपनि खाली फर्काउँछन्, सिटामोल पनि छैन ।”

जिल्ला अस्पताल दुनैका प्रमुख डा श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताउनुभयो । “नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दा अहिलेसम्म खरिद गरेको छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...