राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च
सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको समाचार छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंकी चाँदनी जोशी र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई सिफारिस गरेको समाचारमा उल्लेख छ ।
सिफारिसमा परेका बस्नेत कांग्रेस विभाजित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति थिए ।
यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभाकालागि निर्वाचनबाट हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना चुनिन्छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
यसैगरी मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको समाचारमा उल्लेख छ । अन्नपूर्ण पोष्ट दैनिक
प्रदेश सांसदलाई किस्तामा घडेरी
प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेको समाचार छ ।
हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको समाचारमा उल्लेख छ ।
उपमहानगरका मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरुलाई घडेरी दिने निर्णय भएको हो । हेटौंडा-८, कमानेमा रहेको सात बिघा जग्गामध्ये प्रदेश सांसदहरुलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ ।
यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइने छैन । मकवानपुरबाहेकका प्रदेश सांसदहरुलाई दश धुर -आधा कठ्ठा)को दरले घडेरी दिइने मेयर महतले जानकारी दिएका छन् । यस्तै प्रदेश सांसदहरुलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराइने छ ।नेपाल समाचार पत्र दैनिक