म प्रहरी संगै छु तर देउवाले खटाएका बहुला कुकुर टोक्नका लागि आइरहेका छन् भन्दै नवराज सिलवालले दिए यस्तो सनसनीपूर्ण अन्तर्वार्ता



ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल एक वर्षदेखि चर्चामा छन् । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणदेखि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव र आमनिर्वाचनसम्मका धेरै घटनाक्रम उनैका वरिपरि घुमिरहे । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्य सम्पादन मूल्यांकनको फोटोकपी अदालतमा पेस गरेको आरोपमा उनी अनुसन्धानको दायरामा तानिएका छन् । त्यस क्रममा प्रहरीले उनलाई बयानका लागि खोजिरहेको बताएको छ । नेपाल साप्ताहिकका मन बहादुर बस्नेतसँग लामो कुराकानी गरे, त्यसैको सम्पादित अंश हामीले प्रस्तुत गरेका छौ।

तपाईं साँच्चै फरार हो ?
जनताबाट चुनिएको म जनतासँगै छु । सरकार र प्रहरीका केही मानिसले एउटा झूटलाई हजारचोटि भन्दा त्यो सत्य हुन्छ भन्ने गोयबल्स शैलीमा ‘नवराज सिलवाल अपराधी हो’ भन्दै दुष्प्रचार गरिरहेका छन् । राज्य संगठित र प्रायोजित रूपमा मविरुद्ध प्रतिशोध साँध्ने हिसाबले प्रस्तुत भएको छ ।

कस्तो प्रतिशोध ?

राजनीतिक प्रतिशोध देखिन्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्रमार्फत मलाई अदालतको मुद्दा फिर्ता लिएमा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने प्रस्ताव पठाएका थिए । मैले पद प्राप्तिका लागि नभई अन्यायका विरुद्धमा लडेकाले मुद्दा फिर्ता नलिने, बरू एउटा टुंगोमा पुर्‍याउने सन्देश पठाएँ । यही विषयलाई लिएर तत्कालीन प्रधानन्यायाधीशमाथि महाभियोग लाग्यो । यसका सूत्रधार देउवा नै थिए । त्यसपछि यो प्रकरणका विभिन्न रूप देखिए । म प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा आएँ । त्यस प्रकरणसँग जोडिएका सबै कुरा चुनावी एजेन्डा बने र नेपाली कांग्रेसको पक्षमा लज्जास्पद नतिजा आयो । यसको कारण मेरै प्रकरणलाई ठानियो र देउवाले ममाथि राजनीतिक प्रतिशोधको डन्डा चलाइरहेका छन् ।

तपाईंमाथि लागेको आरोपबारे राज्यले अनुसन्धान नै गर्न नपाउने हो र ?

म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व गरेको मानिस । अनुसन्धानको थालनी तथ्यका आधारमा हुनुपर्छ । तर, यहाँ त तथ्य एकातिर छ, अनुसन्धान अर्कैतिर । जहाँबाट सुरु गर्नुपर्ने हो त्यहाँबाट नगरी एकैचोटि अन्तिममा रहेको ममाथि अनुसन्धान केन्द्रित छ । निष्पक्ष ढंगले अनुसन्धान गर्ने हो भने त कार्य सम्पादन मूल्यांकन राख्ने अधिकारीदेखि अनुसन्धान सुरु गर्नुपर्छ । कसरी मिडियामा त्यो गोप्य कागजात गयो ? यसमा छानबिन हुनुपर्छ । अनि पो मेरो पालो आउँछ ।

त्यो गोप्य कागजात त तपाईंले नै बुझाउनुभएको होइन, अदालतमा ?

मैले त मिडियामार्फत जे सार्वजनिक भएको छ, त्यही प्रिन्ट गरेर बुझाएको भनेर बारम्बार भनिसकेको छु ।

तपाईंले बुझाएको फोटोकपीमै किर्ते भएको विधिविज्ञान प्रयोगशालाको परीक्षणबाटै पुष्टि भएको छ नि ?

८ चैतमा सर्वोच्च अदालतको पूर्ण इजलासको परमादेशमा ‘चार वर्षको कार्य सम्पादन मूल्यांकन कुल औसत अंक सबैभन्दा बढी नवराज सिलवालले, दोस्रोमा प्रकाश अर्यालले, तेस्रोमा बमबहादुर भण्डारीले र चौथोमा जयबहादुर चन्दले प्राप्त गरेको तथ्य सरकारको सम्बद्ध निकायबाट विवादको सुनुवाइका क्रममा उपलब्ध गराइएको कार्य सम्पादन मूल्यांकन फारामको सक्कल प्रतिहरूबाट देखिन आयो’ भनिएको छ । तर, पछि सरकारले अर्कैलाई एक नम्बर भनेर आईजीपी बनायो । सर्वोच्चले एक नम्बर भनेर किटान गर्दागर्दै सरकारले मलाई महानिरीक्षक नबनाएपछि न्यायालयको आदेश कार्यान्वयन गरी पाउँm भनेर फेरि अदालत गएको हुँ । यसबाट दुई खालको कार्य सम्पादन मूल्यांकन सरकारले नै बनाएको देखिएन र ? संसारमा कहीँ पनि कार्य सम्पादन मूल्यांकन सार्वजनिक हुँदैन । यसको गोप्यता र सुरक्षाको काम जसको हो, उसैले यसको जिम्मेवारी लिनुपर्छ । छानबिनको विषय नै यही हो । तर, यसमा संलग्नहरूलाई बचाउने र मलाई जसरी पनि अपराधी करार गर्ने दुर्नियत सरकारको छ । प्रहरी शक्तिको चरम दुरुपयोग हो, यो ।

अदालतले पनि छानबिन अघि बढाउन भनेको होइन ?

मलाई सर्वोच्च अदालतले दोषी भनेको छैन । कार्य सम्पादन मूल्यांकन दुई खालको देखिएकाले यसबारे छानबिन गरी दोषीलाई कारबाही गर्नु भनेको हो । यति संवेदनशील कागजात कसरी बाहिरियो, कसले नक्कली बनायो, छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने त मेरो पनि माग हो । छानबिनको दायरामा पहिले नै आउनुपर्नेचाहिँ नआउने अनि अन्तिमतिरको मचाहिँ सुरुमै कठघरामा उभिनुपर्ने ?

तपाईंलाई फेला पारेर प्रहरीले बयान लिन नसक्नुले प्रहरीको अनुसन्धान पद्धति त साह्रै फितलो रहेछ भनेर बुझ्दा हुन्छ ?

यो प्रकरणमा ९९ प्रतिशत प्रहरी मेरो पक्षमा छन् । उनीहरू ‘प्रहरी नेतृत्वले सरलाई अन्याय–अत्याचार गरेको छ, तपार्इंलाई हामी सुरक्षा दिन्छौँ’ भन्छन् । म प्रहरीसँगै छु । प्रहरीले नै मलाई संगठनभित्र भएका मेरा विरुद्धका षड्यन्त्रकारी सूचना दिइरहेका छन् ।

प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अवस्था पो रहेछ उसो भए ?

प्रहरीका बहुसंख्यकको मप्रति भरोसा छ ।

अदालतले नै आदेश दिएकाले छानबिन गर्न तपाईंले कसरी सहयोग गर्नुहुन्छ त ?

अहिलेको जस्तो अनुसन्धान स्वीकार्दिनँ । निष्पक्ष निकायले छानबिन गर्नुपर्छ । यो प्रकरणमा संलग्न मेरो विपक्षीचाहिँ शक्ति केन्द्रको ओतमा बसेर मालिकको सेवक बनेर निर्दोष हुन खोज्ने ? मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री देउवालाई खुसी पार्न एकै दिनमा पटक–पटक प्रहरी अधिकारीलाई फोन गरेर ‘सिलवाललाई समात्नुपर्‍यो’ भन्दै दबाब दिइरहेका छन् । यस्तो दबाबपूर्ण अनुसन्धानको तटस्थता रहँदैन । स्वतन्त्र अनुसन्धानलाई म सहयोग गर्छु ।

फेरि पनि अनुसन्धान गर्ने निकाय त प्रहरी नै हो नि, होइन ?

प्रहरी नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन ।

कसले गर्ने त ?

अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसन्धान गरेर हुँदैन ।

विपक्षी संलग्न भएको निकायले गर्ने अनुसन्धानमा बयान दिन्न, बयान/अनुसन्धान रोकिपाउँm भनेर अदालत जाने बाटो त थियो नि तपाईंसँग ?

यो अदालत जानुपर्ने विषय नै होइन । सही अनुसन्धान हुनुपर्छ ।

आईजीपी बन्नुभएको भए अवकाशपछि राजनीतिमा आउनु हुन्थ्यो ?

अवकाशपछि विश्वविद्यालयहरूमा पढाउने योजना थियो । किताब लेख्छु, पढ्छु भन्ने सोच थियो । तर, परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्न सक्छु भन्ने मलाई विश्वास छ ।

राजनीतिक दलको छहारीचाहिँ सबैलाई चाहिने रहेछ, होइन ?

बर्दीमा रहुन्जेल म कुनै पार्टीको विचार, आस्थामा रहेर काम गरिनँ । राजनीतिक हस्तक्षेपको जहिल्यै विरोध गरेँ/गर्छु । आज बहुसंख्यक प्रहरी मेरो पक्षमा उभिनुको कारण पनि मेरो व्यावसायिक निष्ठा र नैतिकता नै हो । तर, सबै कुराले सक्षम हुँदाहुँदै पनि देउवाले मलाई प्रहरी नेतृत्वमा पुग्नबाट रोके । प्रचण्डले एक नम्बरलाई नबनाउँदा पापै लाग्छ भन्दा देउवाले सरकार नै छोड्ने धम्की दिए । देउवाको अन्यायपूर्ण प्रहारविरुद्ध म एक्लै लडिरहेको अवस्थामा विपक्षी दलका नेता केपी शर्मा ओलीले सदनमै मेरो न्यायको पक्षमा बोल्नुभयो । त्यसले मलाई तत्काल ठूलो राहत मिल्यो र कालान्तरमा पार्टीमै गएँ ।

आईजीपी नियुक्ति प्रकरणदेखि सांसद चुनिदासम्मको उतारचढावलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

यो प्रकरणले नेपालको राजनीति, न्याय प्रणाली, प्रहरी प्रशासनको अवस्थिति सर्लक्क देखाइदियो । मुलुकले भविष्यमा सुधार गर्नुपर्ने पाटो देखाएको छ ।

शपथ कसरी लिनुहुन्छ त अब ?

लिइहाल्छु । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतप्रति मात्र हो ।

अनि, किन लुक्नुभएको त ?

कसरी लुकेँ ? (९ माघ) मात्रै पूर्वप्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाएँ, उति पठाएँ भनेर नाटक मञ्चन गर्नेले मलाई देख्नै सक्दैन ।

अलि सहज भएपछि सबैले देख्ने गरी आउनुहुन्छ, त्यसो भए ?

सहजभन्दा पनि निष्पक्ष अनुसन्धान भएमा कुन प्रश्नको कहाँ गएर उत्तर दिनुपर्ने हो दिन तयार छु । अनुसन्धानको दायरामा भएका १५ जनामध्येको एक हुँ । पहिले ती सबैको अनुसन्धान गरियोस् अनि म जवाफ दिन्छु । अनुसन्धानको चेन र सिद्धान्त मिल्नुपर्‍यो ।

भनेपछि आफू अनुकूलको अनुसन्धान हुने भए सहयोग गर्नुहुन्छ ?

आफू अनुकूलको अनुसन्धान भनेकै छैन । निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत अनुसन्धान हुनुपर्‍यो, अहिले नै तयार छु । बहुला कुकुर टोक्नका लागि आइरहेका छन् भने म निर्दोष भनेर उभिने कि बच्ने ? बच्नैपर्‍यो ।

भोलि तपाईंको पार्टी पनि सत्तामा आउँछ, फेरि प्रतिशोधको अर्को चक्र सुरु हुने होला होइन ?

मलाई हिजो देउवा र उनका सिन्डीकेटवालाले दु:ख दिएकाले अझ फराकिलो क्षितिजयुक्त प्लेटफर्म पाएँ । जनताको माया पाएँ । उनीहरूको यो योगदान त धन्यवादको हकदार छ । हिजोबाट पाठ सिकेर अगाडि जाने हो । प्रतिशोधको निकृष्ट सोचबाट माथि उठेको मानिस हुँ म ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका