एकताको अन्तिम गृहकार्यमा ओली-दाहाल : तीन दिनदेखि लगातार छलफल,



एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन् । एकता संयोजन समितिमा दुई अध्यक्षबीच थप गृहकार्य गरी राजनीतिक–वैचारिक तथा सांगठानिक संरचना मिलाउन कार्यदल गठन गर्ने सहमतिअनुसार ओली–दाहाल हरेक दिन छलफलमा बसेर एकतालाई अन्तिम रूप दिने गृहकार्य अघि बढाएका हुन् ।

बालकोट र खुमलटार स्रोतका अनुसार सरकार गठनअघि नै सकेसम्म पार्टी एकता गर्ने योजनाका साथ ओली-दाहालले छलफल अघि बढाएका हुन् । यही कामका लागि दुवै नेता केही दिनयता पूर्वनिर्धारित सबै कार्यक्रम छाडेर एकता वार्तामा जुटेका छन् । बुधबार राष्ट्रिय सभा निर्वाचन भएपछि केही दिनभित्र परिणाम आउने र लगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद चयन प्रक्रिया अघि बढाउने गृहकार्य थालेपछि बढीमा फागुनको दोस्रो साता नयाँ सरकार गठन हुने लगभग निश्चित छ । सोहीकारण पनि एकताको दबाबमा रहेका ओली र दाहालले हरेक दिन वान टु वान वार्ता गरी एकताको विषयलाई टुंगो लगाउने प्रयास अघि बढाएका हुन् ।

स्रोतका अनुसार दुई नेताबीच केही दिनयता निरन्त्र छलफल चलिरहेको छ । शुक्रबार, शनिबार र आइतबारसमेत लगातार ओली र दाहालबीच पार्टी एकतामा देखिएको जटिलतालाई मध्यनजर गर्दै अन्तिम रूप दिने गरी छलफल भएको स्रोतले बतायो । विगतमा राखिएको एकता मोडालिटीमा कसरी व्यवस्थापन गर्ने र शीर्ष नेतादेखि जनसंगठन र कार्यकर्ताले समेत सम्मानजनक एकताको अनुभूति हुने गरी एकतालाई अन्तिम रूप दिने विषयमा केन्द्रित रही दुई नेताबीच छलफल भएको हो । ओली दाहालले एकता गृहकार्य अन्तिम रूप दिने पहल गरिरहँदा कतिपय विषयमा पार्टी नेतासँगसमेत परामर्श गरिरहेका छन् ।

‘एमाले र माओवादीबीच विचारमा खासै समस्या नदेखिए पनि विगतलाई कसरी हेर्ने भन्ने विषय र सांगठानिक संरचना तथा नेता कार्यकर्ताको सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्नेमा केही समस्या रहेको छ । सबै इतिहास बोकेका नेता रहेको र निर्वाचनमा जनताले स्पष्ट आकार दिएको अवस्थामा सबैले अपनत्व अनुभूति गर्ने गरी एकतालाई टुंगो लगाउने निचोडमा दुवै अध्यक्ष पुग्नुभएको छ, केही समस्या आए पनि समाधान उन्मुख छ,’ खुमलटार स्रोतले भन्यो ।

अन्तिम निर्णय लिने क्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, पार्टी अध्यक्ष, कार्यवहाक अध्यक्ष रहनेदेखि दुवै पार्टी विघटन गरी संयोजक, सहसंयोजकसम्मको विकल्पमा दुई नेताबीच छलफल भएको छ । तर, दुवैतिरका नेताहरूको दबाबमा ओली र दाहालले निर्णय लिन सकिरहेका छैनन् । एमालेभित्र अध्यक्ष छाडेर एकताको सहमति नगर्न दबाब रहेको छ भने माओवादीमा पनि यही दबाब छ । दुवैतिर दबाबका बीच ओली र दाहालले पार्टीका सबै नेतासँग आवश्यक सुझाव लिएर अन्तिम निर्णय लिने अवस्थामा पुगी छलफललाई घनिभूत पारेका हुन् ।

निष्कर्षमा पुग्नकै लागि ओली र दाहालले शुक्रबार, शनिबार र आइतबार लामो छलफल गरेका छन् । दुवै नेताले छलफलबाट आएको निचोड भने गोप्य राखेका छन । ‘एकताको अन्तिम निर्णय लिने अवस्थामा पुग्नुभएको छ, तर के–के सहमति बन्यो भन्ने विषय दुवै नेताले कसैलाई पनि खोलेका छैनन्, एकैपटक निर्णय दिनेमुडमा छलफल अघि बढेको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार ओली र दाहालले देश र जनताको चाहना एकता भएकोले एकताका लागि जस्तोसुकै कठोर र लचिलो निर्णय पनि लिन पछि नहट्ने सन्देश पार्टीभित्रका नेतालाई दिएका छन् ।

‘केही दिनयताको छलफलपछि दुवै नेता उत्साहित हुनुहुन्छ, कठोर निर्णय लिने मुड देखिन्छ, दुवैतिरका नेताहरूले अध्यक्षको निर्णयलाई सहर्ष स्वीकार गर्ने अवस्थाका लागि थप गृहकार्य गरिरहनुभएको हो,’ माओवादी केन्द्रका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि