भोली १५२ वर्षपछिको खग्रास चन्द्रग्रहण लाग्ने, हेर्नुहोस् ग्रहण लाग्दा के गर्न हुन्न ?



माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उहाँले भन्नुभयो ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।

स्वस्थानीको उद्यापन बिहानै

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने प्रा डा गौतमले बताउनुभयो । आठ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ । काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी शुरु गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान ७.३० बजेदेखि नै नित्य पूजापाठ गरेर व्रत समापन शुरु गरिने समितिले जनाएको छ । यही माघ १८ गते वर्तालुलाई भोज खुवाएपछि एकमहिने माधवनारायण मेला समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका