मुख्यमन्त्री हत्याउन शीर्ष नेता भेट्नेदेखि गुट परिर्वतनसम्मका खेल,यी हुन् मुख्य मन्त्री बन्न ओलीको दौराको फेर समात्ने नेता



केही दिनअघि प्रदेश ६ को नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीको दाबेदारी नछोड्ने भन्दै विज्ञप्ति जारी गर्यो । प्रदेश ६ को ४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३ सांसद निर्वाचित छन्।

एमालेका दुई नेता प्रकाश ज्वाला र यामलाल कँडेलले मुख्यमन्त्रीको दाबी गरेपछि संसदीय दलले अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन नदिने भन्दै विज्ञप्ति निकालेको थियो। प्रदेश ६ मा वाम गठबन्धनकै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको पनि मुख्यमन्त्री दावेदारका रुपमा चर्चा हुन थालेपछि एमालेले आफ्नो दाबी प्रस्तुत गरेको हो।

प्रदेश ६ मा एमाले समर्थनबिना अरु कसैले पनि सरकार बनाउन सक्दैन। यसैले पनि एमालेले सो प्रदेशमा सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको हो।

यसैगरी, बिहीवार राजधानीमा पत्रकार सम्मेलन नै गरेर प्रदेश १ का एमालेका संयोजक एवं केन्द्रीय सचिव भीम आचार्यले आफू मुख्यमन्त्री बन्ने दाबी पेस गरे।

केही दिनदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल लगायतका शीर्ष नेताकहाँ धाइरहेका आचार्यले पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्रीको दाबी गरे। उनले पत्रकार सम्मेलनमा प्रदेश १ मा आफू मात्र मुख्यमन्त्री बन्न योग्यता रहेको बताए। प्रदेश १ का एमाले सहसंयोजक एवं पोलिटब्युरो सदस्य शेरधन राई पनि मुख्यमन्त्रीकै लागि प्रतिस्पर्धामा छन्। प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ। जसमा एमालेले ५१ सिट जितेको छ।

यसैगरी, प्रदेश ३ को मुख्यमन्त्री दौडमा रहेका एमाले नेता राजेन्द्र पाण्डे प्रतिस्पर्धी मानिएकी अष्टलक्ष्मी शाक्यले आफूलाई सर्मथन गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका छन्।

प्रदेश ३ मा १ सय १० संसद छन्, जसमध्ये एमालेले ५९ सिट जितेको छ। प्रदेश ३ को मुख्यमन्त्रीमा पाण्डे र शाक्यबाहेक पोलिटब्युरो सदस्यहरू पशुपति चौलागाईं, अरुण नेपाल, काठमाडौंका पूर्वमेयर केशव स्थापितसम्मले आकांक्षा देखाएका छन्।

पाण्डेले प्रदेशसभाका सदस्यलाई सम्पर्क गर्दै आफूलाई मुख्यमन्त्री बनाउन अध्यक्ष ओली सकारात्मक रहेको भन्दै सहयोगका लागि आग्रह गरिरहेका छन्। नवौं महाधिवेशनमा शाक्य र पाण्डे दुवैले नेपाल समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। शाक्यले चुनाव जितिन् पाण्डे पराजित भए।

एमाले भ्रातृ संगठन अखिल नेपाल महिला संघले महिलालाई कम्तिमा एउटा प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने निर्णय गरेको छ। मुख्यमन्त्रीका लागि महिलाबाट शाक्यले मात्रै दाबी गर्दै आएकी छिन्।

आचार्य, राई, ज्वाला, कँडेल, पाण्डेजस्तै अन्य प्रदेशसभामा निर्वाचित नेता पनि मुख्यमन्त्रीको दौडमा व्यस्त छन्। प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षी पार्टीका शीर्ष नेताकहाँ धाउनेदेखि आपसी छलफल र बैठकमा व्यस्त छन्।

केही नेताले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण (गुट) परिवर्तन समेत गर्न थालेका छन्।

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गरेका एमालेका आचार्य पार्टीभित्र माधव नेपाल खेमामा पर्छन्। उनी आफू मुख्यमन्त्री बन्ने पक्का भए अध्यक्ष ओली पक्षमा ढल्किन तयार भएको उनी निकट नेताहरु बताउँछन्।

एमाले–माओवादी केन्द्रका प्रदेशसभाका सांसदहरु राजधानीमै आएर लबिङमा लागेका छन्।

एमालेले प्रदेश ५ मा बाहेक अन्य प्रदेशमा संसदीय दलको नेता छानेको छैन। माओवादीले हालसम्म कुनै पनि प्रदेशको संसदीय दलको नेता चयन गरेको छैन। प्रदेश ५ मा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका शंकर पोखरेल संसदीय दलका नेता बनिसकेका छन्। उनी दाङ निर्वाचन क्षेत्र २ को प्रदेशसभा (ख) बाट सदस्यमा निर्वाचित भएका हुन्।

प्रदेशसभा निर्वाचनअघि नै सिट बाँडफाँटका क्रममा एमाले र माओवादी केन्द्रबीच प्रदेश ५ मा गठबन्धनले बहुमत ल्याए पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। ६ वटा प्रदेशमा एमाले र माओवादी केन्द्र गठबन्धनले सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएका छन्। एमालेको प्रदेश १ र ३ मा एकल बहुमत छ।

गठबन्धन भए पनि एमाले र माओवादी केन्द्रबीच कुन–कुन प्रदेशमा सरकारको नेतृत्व गर्ने भन्ने विषयमा लिखित सहमति भएको छैन। प्रदेश १, ३, ४ र ५ मा एमाले तथा ६ र ७ मा माओवादीलाई मुख्यमन्त्री दिने अनौपचारिक सहमति भने भइसकेको दुवै पार्टीका नेताहरु बताउँछन्।

एमालेले मुख्यमन्त्री पाउने भनेका प्रदेश १, ३ र ४ मा एमालेबाट नै दुईभन्दा बढी नेता प्रतिस्पर्धी छन्। माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भनिएको प्रदेश ६ मा पनि एमालेका नेताहरुले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

प्रदेश ४ मा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीको प्रतिस्पर्धामा छन्। किरण गुरुङ प्रदेश ४ मा एमालेका संयोजक हुन्। यस्तै, पृथ्वीसुब्बा पार्टीको संगठन विभाग प्रमुख हुन्। नवौं महाधिवेशनमा दुवै नेताले ओली समूहबाट चुनाव लडेका थिए। किरण उपाध्यक्षमा पराजित भए भने पृथ्वीसुब्बा सचिवमा विजयी भए। किरण उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन्। प्रदेश ४ मा दुवैलाई आधा–आधा कार्यकाल मुख्यमन्त्री बनाउने विकल्पबारे पनि छलफल सुरु भएको छ।

प्रदेश ७ मा मुख्यमन्त्रीमा एमालेको दाबी चर्चामा आएको छैन। प्रदेश ७ मा एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले चुनावअघि नै मुख्यमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरेका थिए। प्रत्यक्ष नभई समानुपातिक निर्वाचनबाट उनी उम्मेदवार बने। प्रत्यक्ष चुनावमा एमालेका कुनै पनि महिला उम्मेदवारले सो प्रदेशबाट जित्न सकेनन्। जसको मार समानुपातिक बन्दसूचीमा खसआर्य समूहतर्फ पहिलो नम्बरमा रहेका थापालाई पर्योब। सो प्रदेशमा एमालेले समानुपातिकतर्फ प्राप्त गरेको ८ सिटमै महिला पठाउनुपर्ने वाध्यता आएपछि थापा सांसद हुन पाएनन्। यता, माओवादीले मुख्यमन्त्री पाउने सम्भावना बढेपछि अछामबाट प्रदेशसभामा निर्वाचित झपट बोहरा र कैलालीबाट निर्वाचित वीरमान चौधरीले दाबी प्रस्तुत गरेका छन्।

वाम गठबन्धनको कार्यदलको आइतबार बस्ने बैठकले ६ वटै प्रदेशको मुख्यमन्त्रीबारे एउटा सहमति गरेर शीर्ष नेतालाई बुझाउने बताइएको छ।

यसैगरी, प्रदेश २ का १ सय ७ सांसदमध्ये ५४ सिट मधेश केन्द्रित दलको पक्षमा छ। संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ सांसदले जितेका छन्। उक्त प्रदेशमा मुख्यमन्त्रीका लागि राजपाका मनिष सुमन, जितेन्द्र सोनल र रामनरेश राय प्रतिस्पर्धामा छन् भने संघीय समाजवादीबाट लालबावु राउतको मात्र चर्चा छ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित