धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर



धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोलि साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम शुरु भएसँगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले पर्याप्त शक्ति सञ्चय गर्न छाडेपछि बत्तीको अभावले पुनले साँझ घरमा गर्ने गृहकार्य र अध्ययन राम्ररी गर्न पाएकी छैनन् । यो सिंगो मुदी गाउँका बालबालिकाको समस्या हो ।

केन्द्रीय विद्युत्को पहुँच नपुगेका कारण यहाँका अधिकाँश घरमा बत्ती बाल्न सोलार प्यानल राखिएका छन् । कतिपय घरमा त अझै पनि टुकीकै भरमा उज्यालोको सहारा लिनुपर्ने बाध्यता छ । ठूलो क्षमताको सौर्य उपकरण जडान गर्न आर्थिक जोहो गर्न कठिन हुने, राखेको उपकरणको हरेक वर्ष क्षमता घट्दै जाने, बिग्रिएको सामानको मर्मत गर्न नसक्ने जस्ता कारण बत्ती बाल्नका लागि राखिएका उपकरण केन्द्रीय विद्युत् नपुगेका कारण विकल्प भएपनि आमजनताका लागि भरपर्दो हुन नसकेको बुद्धि विकास माविका शिक्षक लोकराज रोकाले बताउनुभयो ।

“विद्युत् सेवाको पहुँच नहुँदा राज्यले दिएका सुविधाहरु उपभोग गर्नबाट समेत वञ्चित भएका छौँ, विद्युत् अभावले सञ्चार सेवा समेत मजबुत छैन, विद्यालयमा कम्प्युटर छन्, तर भरपर्दो ऊर्जा नहुँदा नियमित सञ्चालनमा समस्या छ,” शिक्षक रोकाले भन्नुभयो । उहाँका अनुसार, सौर्य ऊर्जामार्फत कम्प्युटर सञ्चालन गर्ने गरी विद्यालयमा कक्षा ६ देखि ८ सम्म ऐच्छिक विषयको रुपमा कम्प्युटर शिक्षा राखिएको भएपनि सौर्य उपकरणले पर्याप्त ऊर्जा दिन नसकेका कारण प्रभावकारी बनेको छैन ।

केन्द्रीय विद्युत् नपुगेका कारण गाउँका बासिन्दालाई आफ्नै घरमा मोबाइल चार्ज गर्न समेत सुविधा छैन भने टेलिभिजन, इन्टरनेट लगायतको आधुनिक सूचना प्रविधिको पहुँचबाट टाढै बस्नुपर्ने अधिकाँशको बाध्यता बनेको छ । विद्युत् अभावले स्थानीय स्वास्थ्य चौकीमा राख्ने खोपहरु समेत सुरक्षित तवरले राख्न समस्या हुने गरेको शिक्षक रोकाले बताउनुभयो ।

यस वडाको मुदी, बगरा र नेरबाङमा उज्यालोका लागि हरेक जसो घरमा सौर्य उपकरण राखिएका छन् भने खिवाङ गाउँमा लघुजलविद्युत् परियोजनामार्फत स्थानीयवासीले विद्युत् सुविधा उपभोग गर्दैआएका छन् । मुदीमा मात्रै होइन सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको कुनै पनि वडामा केन्द्रीय विद्युत्को पहुँच पुगेको छैन् । सिंगो गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा सौर्य उपकरण र लघुजलविद्युत् परियोजनाहरु स्थानीयवासीका उज्यालोको स्रोत बनेका हुन् ।

कादुरी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतका विभिन्न संघसंस्था र समुदायको लगानीमा निर्मित लघुजलविद्युत् आयोजनाहरु नियमित सञ्चालन भएका ठाउँका स्थानीयवासी सस्तो दरमा विद्युत् कटौती विना सेवा उपभोग गर्न पाउँदा खुशी छन् । तर कतिपय ठाउँका लघुजलविद्युत् आयोजनाहरु बाढी र पहिराको चपेटामा परेपछि ती आयोजनाका उपभोक्ताहरु भने समस्यामा परेका छन् । अहिले धौलागिरि गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ५ मल्कबाङ र वडा नं ६ मराङमा लघुजलविद्युत् परियोजनामार्फत स्थानीय बासिन्दाले विद्युत् उपभोग गरिरहेका छन् ।

वडा नं २ लुलाङमा रहेको लघुजलविद्युत् परियोजनामा बाढीले क्षति पु¥याएपछि लामो समयदेखि स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । वडा नं ३ मुनामा लघुजलविद्युत् परियोजना रहेपनि बाढी, पहिराको क्षतिको कारण उत्पादन भरपर्दो बन्न सकेको छैन । त्यस्तै, वडा नं ७ ताकम, धारापानीलगायतका क्षेत्रमा अहिले स्थानीय बासिन्दाले सौर्य उपकरणलाई नै बत्ती बाल्ने स्रोतको रुपमा प्रयोग गर्दैआएका छन् ।

केन्द्रीय विद्युत्को अभावमा स्थानीयवासीले सौर्य ऊर्जा र लघुजलविद्युत् परियोजनाबाट बत्ती बाल्ने गरेको भएपनि वैकल्पिक ऊर्जाका यस्ता स्रोतहरु दिगो, भरपर्दो र सबैको पहुँचमा नहुँदा समस्या सिर्जना भएको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । स्थानीय स्तरमा बत्ती बाल्न मात्रै नभएर फर्निचर, कुटानी पिसानी मिल लगायतका घरेलु उद्योग सञ्चालन र सञ्चार क्षेत्रको पहुँच विस्तारका लागि समेत केन्द्रीय विद्युत् अति आवश्यक रहेको उहाँको भनाइ छ । विद्युत्सँगै इन्टरनेट, टेलिफोनलगायतको सहज पहूँच नभएका कारण धौलागिरि गाउँपालिकाले मुनास्थित कार्यालयबाटै नियमित सेवा सञ्चालन गर्न समेत सकिएको छैन ।

सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले अहिले बेनीमा सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको छ । विद्युत्कै अभावले गाउँपालिकामा वित्तीय संस्थाको पहुँच विस्तारमा समेत ढिलाइ भएको छ । यता, विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले भने धौलागिरि गाउँपालिकाको धारापानी हुँदै ताकम, मुनालगायतका क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच विस्तार गर्ने योजना अघि बढाइएको जनाएको छ । प्राधिकरणले धारापानीमा विद्युत्को पहुँच विस्तारका लागि मुख्य लाइनसहित शाखा खम्बा विस्तार गरी ट्रान्सफर्मर समेत पु¥याइसकेको छ ।

धारापानीसम्म विद्युत् प्राधिकरणले केन्द्रीय विद्युत् विस्तार गरेपछि त्यहाँदेखि माथिका लागि गाउँपालिकाले समेत पहल थालेको छ । “यो वर्ष ताकममा विद्युतीकरणका लागि रु ४० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको छ, प्राधिकरणले के–कति बजेट विनियोजन गर्ने हो त्यसको अझै टुँगो लाग्न सकेको छैन्,” उपाध्यक्ष छन्त्यालले भन्नुभयो । धारापानी हुँदै ताकम, मुनालगायतको क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच विस्तार गर्ने योजनाअनुसार ताकमसम्म मुख्य लाइनको खम्बा गाडिइसकिएको छ । धारापानीमा यसै वर्ष मुख्य लाइनको काम सकेर बिजुली बत्ती बाल्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

यो वर्ष जिल्लामा ग्रामीण विद्युत् विस्तार र अधुरा योजना सम्पन्न गर्न रु २ करोड २५ लाख बजेट विनियोजन भएर आएको छ । प्राधिकरणले यस वर्ष बिम, पाखापानी, बेगखोला, रुम, देविस्थान, निस्कोट, अर्मन, दरबाङ, दग्नाम र ओखरबोटमा गत वर्षका अधुरा योजनालाई सम्पन्न गर्दै बिमदेखि मराङतर्फ र धारापानीदेखि ताकमतर्फ मुख्य विद्युत् लाइन विस्तार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेसँग सहकार्य गर्नलाई साथीहरू गइसक्नुभयो : वामदेव

    वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने एमालेको निर्णयबारे

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई नबिल बैंकद्वारा कम्बल वितरण

  नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ

सरकार धेरै जान्छ जस्तो लागेको छैन : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता

    राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र