नवराज सिलवाललाई भगाउन प्रहरीबाटै सूचना



पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ। एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ।

छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ। किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ।

सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन्। स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए। छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ। ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो।

प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ। ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम-कारबाही गोप्य राखिनुपर्छ। गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने। ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए।

प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै सिलवालको खोजीका लागि ७७ जिल्लामा पत्राचार गरेको छ। त्यति गर्दा पनि उनी नभेटिए अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० गुहार्ने तयारीमा प्रहरी मुख्यालय छ।

काठमाडौं प्रहरीले किर्तेमा अभियोग दर्ता गरेलगत्तै सिलवालले ट्विट गर्दै ‘सन् २०१७ मा आफूले धेरै पाठ सिकेको र २०१८ को लागि आफू तयार छु’ भनेका थिए। त्यसपछि अर्को ट्विट गर्दै उनले भने, ‘हे ईश्वर, आइज तेरो खुट्टामा मलम लगाइदिन्छु। कतिका सपनालाई लात हान्दा चोट त लागेकै होला।’

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको तथ्य फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात न्यायाधीश संलग्न इजलासले किर्तेमा संलग्नमाथि छानबिन गरी कारबाही चलाउन सरकार र प्रहरी प्रधान कार्यालयलाई परमादेश दिएको थियो। सोही फैसलाका आधारमा छानबिनका लागि अभियोग दर्ता गर्न प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीले काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन्।

सिलवाल काठमाडौंमै रहेका बेला अर्याल र रेग्मीले पक्राउ गर्न काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निर्देशन दिएका थिए तर धानुकले छानबिनकै क्रममा रहेका कारण पक्राउ गर्नु ‘उचित नहुने’ जवाफ दिएका थिए। ललितपुर प्रहरीले सिलवालको गोदावरीस्थित घर÷ठेगानामा गएर खोजतलास पनि गरेको थियो।

सिलवालको छानबिनको विषय नयाँ बन्ने सरकारसँग जोडेर हेर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि गोप्य रहनुपर्ने उजुरी छानबिनको विषय बाहिर ल्याउन नहुने प्रतिक्रिया दिए। सूचना गोप्य राख्न प्रहरी चुकेको उनले स्विकारेका छन् तर सिलवाललाई प्रहरीले नभगाएको दाबी उनको छ। उनले भने, ‘प्रहरीले भगाएको होइन तर छानबिनका गोप्य विषयलाई बाहिर ल्याउन हुने थिएन। त्यहाँ काठमाडौं प्रहरी चुकेको देखिन्छ।’

काठमाडौं प्रहरी प्रवक्ता रामदत्त जोशीले पनि छानबिनका विषय बाहिर आएको विषयमा आफू अचम्मित भएको बताए। ‘छानबिनका विषय बाहिर ल्याउन नहुने हो तर आइरहेका छन्। सिलवाललाई प्रहरीले नै भगाएको भन्ने आरोप सही होइन’, उनले भने। यो खबर सुवास गोतामेले आजको अन्नपूर्णमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

पार्टी ठिक ढंगले चलेन, सक्रिय राजनितिमा आउँछु : पूर्वराष्ट्रपति भण्डारी

  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक साता पोखरामा बिताइन् । पुस २ गते पोखरा