लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव पुगे शताब्दी पुरुषको निवासमा



“उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भन्नुभयो, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए । त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ ।”

जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ उपहार दिएपछि महासचिव पोखरेलले कैलाशकुट दरबारको इतिहासबारे चासो राख्दा उक्त दरबार हाँडीगाउँमै भएको आधिकारिक दस्तावेज भने हालसम्म नपरेको जवाफ पाउनुभयो । प्रायः इतिहास, संस्कृतिका अध्येता र सञ्चारकर्मी पुग्ने जोशी निवासमा आज राजनीतिक नेता पुगेर विभिन्न चासो राखेपछि जोशीले खुशी हुँदै भन्नुभयो, “आज मेरो घर पवित्र भयो ।”

प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँ निर्वाचन क्षेत्र नंं ५ बाट उम्मेदवार बन्दा इतिहास, धर्म र संस्कृतिसम्बन्धी गरेका विकासका प्रतिबद्धता पूरा गराउने क्रममा संस्कृतिविद् जोशीसँग नवनिर्वाचित सांसद पोखरेलले आज करिब दुई घण्टा भलाकुसारी गर्नुभएको थियो ।

नेपालको इतिहासको स्वर्णकाल मानिने लिच्छविकालका राजा अंशु वर्मा र मानदेवले हाँडीगाउँबाटै शासन चलाएको मानिन्छ । दुई दशकअघि मालीगाउँमा स्थानीयवासी रामभक्त खड्काले घर बनाउन जमिन खन्दा संवत् १०७ का राजा जय वर्माको ढुंगाको मूर्ति फेला परेको र हाल त्यसलाई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको जोशीले जानकारी दिनुभयो । त्यसपछिको अभिलेखमा संवत् ३८७ मा राजा मानदेवले आफ्ना पिता धर्मदेवको स्मृतिमा लाजिम्पाटको धोबीचौरमा विष्णु विक्रान्तको मूर्ति बनाएको भेटिएको छ ।

महासचिव पोखरेलले निर्वाचन घोषणापत्रमा “लिच्छविकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने र हाँडीगाउँको पञ्चधाराको पुनःनिर्माण, टोखालाई ऐतिहासिक र सांस्कृतिक नगरीका रूपमा विकास गरिने” उल्लेख गर्नुभएको थियो ।

यस्तै विष्णु–बूढानीलकण्ठ (नारायणस्थान), टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्यलाई व्यवस्थित गरिने तथा धार्मिक–सांस्कृतिक गन्तव्यका रूपमा प्रवद्र्धन गरिने उहाँको प्रतिबद्धता छ । क्षेत्रका धार्मिक आस्थाका चैत्य, गुम्बा, मस्जिद, चर्च तथा पुरातात्विक महत्वका मठ, मन्दिरको संरक्षण र विकास गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

हाँडीगाउँवासीले लिच्छविकालीन शैलीको कैलाशकुट दरबार बनाउने इच्छा गरेकाले आफूले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको सुनाएपछि संस्कृतिविद् जोशीले “चाहेमा गर्न सकिने” जनाउ दिनुभयो ।

धर्मपत्नी मीरा ध्वजू, एमाले केन्द्रीय सदस्य सूर्य थापासहित पुग्नुभएका महासचिव पोखरेलले जोशीका जीवनमा उकाली ओराली र उहाँले गरेका लोक सांस्कृतिक अध्ययन, प्रकाशनबारे जिज्ञाशा राख्दा जोशीले रोचक शैलीमा संस्मरण सुनाउनुभएको थियो ।

जोशीले आफूले मदन पुरस्कार पाएको कर्णालीको लोक संस्कृतिसम्बन्धी र चीनमा बस्दा माओत्सेतुङका कविताको आफूले गरेको अनुवादको पुस्तक घरभित्रबाट खोजेर ल्याए देखाउनुभयो । ‘अरनिकोकृत श्वेतचैत्य’ र अन्य कृति पनि देखाउनुभयो । महासचिव पोखरेलले पनि आफूलाई सिकारु लेखक भन्दै ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ दुई पुस्तक जोशीलाई उपहार दिनुभयो ।

तुल्सीलाल, मनमोहन अधिकारी, सिद्धिलाल सिंहलगायत कम्युनिष्ट नेतासँगका दुःखदायी जीवनीका सन्दर्भ जोशीले सुनाएपछि महासचिव पोखरेलले प्रतिज्ञा गर्दै भन्नुभयो, “हो, त्यसबेलाका नेताले धेरै दुःख पाएका थिए । हामीले पनि दुःखको धर्ती छाड्नु हुँदैन, त्यसको जमिनमा टेकेर अघि बढ्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित