मौरीको घार र महबाट मनग्य आम्दानी



हाम्रो इकोनोमि

बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लाग्नुभएका उहाँले व्यावसायिक सफलता हासिल गर्नुभएकोे हो । खत्रीको उद्योगमा वर्षमा ८०० भन्दा बढी मौरीका घार बन्ने गरेका छन् ।

साठी भन्दा बढी घारमा मौरीपालन गर्नुभएका उहाँले वार्षिक सरदर ५०० किलो मह बेच्नुहुन्छ । प्रतिकिलो रु एक हजारमा मह बेचेर पनि खत्रीले राम्रो आम्दानी गर्दै खत्रीले विसं २०५० देखिको यो पेशालाई व्यावसायिक बनाउनुभएको हो । “शुरुमा रु पाँच लाख लगानी भएको थियो, केहीले उद्योगमा रोजगारी पाएका छन् ”– खत्रीले भन्नुभयो ।

बुबाको सीप र अनुभवबाट सिक्दै परिवार नै मौरीपालनलाई व्यावसायिक बनाउन लागिपरेको खत्रीले बताउनुभयो । उहाँको उद्योगमा बन्ने आधुनिक मौरीका घार लिन बागलुङसहित छिमेकी जिल्लाका किसानसमेत आउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले खत्रीकै उद्योगबाट वर्षेनी सयौँ घार खरिद गर्दै आएको छ । व्यावसायिक मौरीपालक किसानलाई अनुदानमा घार उपलब्ध गराउन कार्यालयले उक्त उद्योगबाट घार किन्ने गरेको छ । खुद्रा किन्दा प्रतिघार रु दुई हजार ५०० पर्ने गरेको छ भने कृषि कार्यालयले एकमुष्ठ किन्दा प्रतिघार रु दुई हजार ४०० तिर्ने गरेको छ ।

कार्यालयले सो मूल्यमा २५ प्रतिशत अनुदान कटौती गरी किसानलाई घार उपलब्ध गराउँदै आएको छ । पर्वत र म्याग्दीका कृषि विकास कार्यालयसँग पनि घार खरिदका लागि पहल गरिएको खत्रीले बताउनुभयो । खत्रीको उद्योगमा आधुनिक ‘न्युटन बी’ सेरेनाको घार बन्ने गरेको छ । घार बनाउन प्रयोग हुने टुनी, उत्तीस, लाँकुरीजस्ता काठ गाउँमै खरिद गर्ने गरिएको छ । घार बनाउन चाहिने कच्चा पदार्थ र सामग्री बजारबाट किन्ने गरिएको उहाँको भनाइ छ ।

खत्रीका अनुसार उद्योगबाट मौरीसहितका घार पनि बेच्ने गरिएको र त्यस्तो घारको मुख्य रु छ हजार पर्छ । मौरीपालक बढेसँगै आधुनिक घारको माग पनि बढेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । मौरीपालक किसानलाई अनुदान उपलब्ध गराएपछि थप आकर्षण बढेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीले बताउनुभयो । कार्यालयले किसानको दक्षता बढाउन सीपमूलक तालीममा पनि पठाउने गरेको उहाँको भनाइ छ । खत्रीका अनुसार हाल जिल्लामा सात हजारभन्दा बढी घारमा मौरीपालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...