पाँच वर्ष भित्रमा पाँच हजार ८९० मेगावाट विद्युत् उत्पादन हुने



हाम्रो इकोनोमि

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गरेको सकारात्मक पहलका कारण आगामी पाँच वर्षभित्र नेपालको कुल विद्युत् उत्पादन पाँच हजार ८९० मेगावाट पुग्ने देखिएको छ ।

ऊर्जा संकटकालीन कार्ययोजना र मन्त्री शर्माको ३७ बुँदे कार्यक्रमका आधारमा अगाडि बढेको योजना मूर्त रुप लिदै विद्युत् उत्पादन क्षमतामा गुणात्मक फड्को हान्ने अवस्थामा पुग्ने नीति निर्माताहरुको भनाइ छ ।

नेपालको आफ्नै विद्युत उत्पादन पाँच हजार ८९० मेगावाट पुग्ने र विद्युत्मा आत्मनिर्भर बन्ने अवस्थाको सुरुवात आगामी वर्षाकालबाटै सुरु हुनेछ । विद्युत् उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको महत्वाकाक्षी लक्ष्य पूरा गर्न उक्त परिणामको विद्युत उत्पादनले सहयोग पुग्ने बताइएको छ ।

ऊर्जा मन्त्रालयले गरेको प्रक्षेपणअनुसार आगामी चारदेखि पाँच वर्षसम्म नेपालको विद्युत उत्पादनमा स्वर्ण युगको प्रारम्भ हुनेछ ।

ऊर्जा मन्त्रालयकाअनुसार स्वदेशी आयोजनाबाट ०७९ सालसम्ममा पाँच हजार ८९० मेगावाट विद्युत उत्पादन हुनेछ । त्यतिबेला विद्युतको माग चार हजार ५२५ मेगावाट मात्रै हुनेछ ।

निजी क्षेत्रले निर्माण गरिरहेको तीन हजार ५०० मेगावाट क्षमताका आयोजना आगामी चार वर्षभत्र पूरा हुनेछ । निजी क्षेत्रले उत्पादन गर्ने उक्त परिणामको विद्युत् वर्षाकालमा पूर्ण क्षमतामा उत्पादन हुने र हिउँदमा एक हजार ५०० मेगावाटको हाराहारीमा मात्रै उत्पादन हुनेछ ।

आगामी वर्षको मंसिर मसान्तपछि चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्नेछ । यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४८ मेगावाटको साञ्जेन, १११ मेगावाटको रसुवागढी, १०१ मेगावाटको मध्य भोटेकोशीको समेत निर्माण सम्पन्न हुनेछ ।

तामाकोशीले विद्युत् उत्पादन सुरु गरेपछि वर्षायाममा नेपालको विद्युत् खेर जाने अवस्थामा पुग्नेछ । भारतबाट विद्युत् आयात बन्द हुनेछ ।

केही समयभित्रै ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो पनि सम्पन्न हुनेछ । प्राधिकरणको लगानीमा निर्माण भइरहेको ६० मेगावाटको त्रिशुली थ्री ए ले पनि अबको डेढ वर्षमा विद्युत् उत्पादन थाल्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सकारात्मक पहलका कारण नेपाल विद्युत् उत्पादनमा क्रमशः आत्मनिर्भरको बाटोमा लागेको जानकारी दिए । उनले सो अवधिमा अरु केही साना तथा मझौला आयोजना समेत सम्पन्न भएर कुल उत्पादन ६ हजार मेगावाटको हाराहारीमा पुग्नेछ । हाल देशभर नै विद्युत् माग एक हजार ४०० मेगावाटको हाराहारीमा रहेको छ । तर आपूर्ति भने करिब एक हजार मेगावाट मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...