बामका बागी छक्कबहादुरले छक्क पार्दै काकाभतिजालाई यसरी हराए



विसं २०४६ को राजनीतिक परिवर्तनपछि हरेक पटकको हुम्लाको निर्वाचनमा नयाँ र नसोचेको परिणाम प्राप्त हुँदै आएको छ ।

प्रत्येक निर्वाचनमा फरक फरक परिणाम आएका कारण र राजनीतिक दलले जनप्रभावी नेतालाई चिन्न नसक्दा त्यस्तो परिणाम आउने गरेको हो । यस पटकको निर्वाचनमा पनि हुम्लाको निर्वाचनमा यस्तै भयो । संयोग पनि कस्तो प¥यो भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएका छक्कबहादुर लामा नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनलाई छक्याउँदै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित हुनुभयो ।

उहाँले वाम गठबन्धनका छिमीदोर्जे लामा र काँग्रेसका मंगलबहादुर शाहीलाई पाखा लगाउँदै विजयको झण्डा फहराउनुभएको हो । उहाँले आठ हजार ४९१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी शाहीले आठ हजार ४४४ मत प्राप्त गर्नुभएको छ ।

वाम गठबन्धनका उम्मेदवार छिमीदोर्जे लामाले भने दुई हजार ७०० मत प्राप्त गर्नुभएको छ । विजयी लामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुनुहुन्छ । वाम गठबन्धनले उहाँलाई टिकट नदिई छिमीदोर्जेलाई आधिकारिक उम्मेदवार बनायो । अन्तिम समयसम्म पनि आधिकारिक उम्मेदवारलाई सघाउन गठबन्धनले अधिकतम प्रयास ग¥यो तर लामाले मान्दै मान्नुभएन ।

हल्ला पनि चल्यो, वाम गठबन्धनका आधिकारिक उम्मेदवारले छक्कबहादुरलाई नै समर्थन गरे । न त उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो, न त वाम गठबन्धन नै टसको मस भयो । अन्त्यमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ४७ मत बढी ल्याएर लामाले इतिहास कायम गर्नुभयो । नवनिर्वाचित सांसद् लामा तिनै व्यक्ति हुनुहुन्छ जसले २०४८ सालको निर्वाचनमा काका चक्रबहादुर शाही र २०७४ को निर्वाचनमा भतिजा मंगलबहादुरलाई पराजित गर्नुभयो ।

हुम्लाका पत्रकार तथा विज्ञ डा दीपेन्द्र रोकायाका अनुसार २०४८ सालको संसदीय निर्वाचनमा काँग्रेसका चक्रबहादुरलाई सात मतले पारजित गर्नुभएका लामाले यस पटक उहाँका भतिजा मंगललाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । हुम्लाको इतिहासमा २०५१ मा काँग्रेसका चक्रबहादुर र २०५६ मा एमालेका गोरखबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचत हुनुभएको थियो । यस्तै २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा(माओवादी)का कर्णजीत बुढाथोकी विजयी हुँदा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही सभासद् बन्नुभयो ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुने नौ सांसदमध्ये छक्कबहादुर एक हुनुहुन्थ्यो । रोल्पाका कृष्णबहादुर महरा र बर्मन बुढा जस्तै चर्चित सांसद्का रुपमा लामालाई लिइन्थो । संविधानअनुसार प्रदेश नं ६ को हिमाली जिल्ला हुम्ला सडक सञ्जालको पहुँचबाट अझै पनि टाढा छ ।

हुम्लीको सडक सपना पूरा गर्ने एकसूत्रीय योजनामा छक्कबहादुर चुनावी मैदानमा खडा हुनुभएको हो । हुम्लाका स्थापित नेता लामा तिब्बती, चिनियाँ, नेपाली, हिन्दी र अग्रेजी भाषाका जानकार हुनुहुन्छ । कानुनमा स्नातक छक्कबहादुर त्रिविमा समाजशास्त्र संकायमा स्तातकोत्तरका विद्यार्थीसमेत हुनुहुन्छ ।

तत्कालीन राजाको सरकारमा सहायक मन्त्री बन्नुभएका लामा शान्ति प्रक्रियाको सुरुवातपछि माओवादीमा प्रवेश गर्नुभयो । नवर्निाचित सांसद लामाले पार्टीले टिकट नदिए पनि जनताले आफूलाई विजयी गराएका छन् भन्दै आफूसम्बद्ध पार्टीबाट बाहिर नजाने प्रतिक्रिया दिनुभयो । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, सिमीकोट विमानस्थलको स्तरोन्नति गर्ने तथा नेपाल चीन हिल्सा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाकाका रुपमा विस्तार गर्ने आफ्नो कार्ययोजना अगाडि सारेको र जनताले आफ्नो कार्ययोजनाको अनुमोदन गरेको जिकिर गर्नुभयो ।

माथिल्लो हुम्लालाई पशुपालन र व्यापार, मध्य हुम्लालाई फलफूल र जडीबुटी खेती र तल्लो हुम्लालाई कृषि तथा व्यापारिक क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ मत माग्नुभएको थियो । हुम्लाका जानकार डा रोकायाले भन्नुभयो, “पार्टीले लामालाई टिकट नदिएर अन्याय गरे पनि हुम्ली जनताले न्याय गरेका छन् । सत्यको जीत हुन्छ भन्ने कुरा प्रष्ट भएको छ ।”

हुम्लाका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जिल्लामा कूल २७ हजार ४३५ मतदाता भएकामा २२ हजार मतदान भएको थियो । प्रतिनिधिसभामा एक स्वतन्त्रसहित सात राजनीतिक दलको सहभागिता थियो भने प्रदेशमा तीन दलले भाग लिएका थिए । प्रजिअ बाँस्कोटाका अनुसार यही मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई आजै सम्पूर्ण मत परिणामसमेत सार्वजनिक हुने छ ।

कष्टकर जीवनयापन गर्दै आएका हुम्लीलाई सहज सेवा दिने लक्ष्यका साथ निर्माण भएको चीनको तिब्बत जोड्ने हिल्साको पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ पुस ५ गते उद्घाटन गर्नुभएको थियो । सो पुल निर्माणका लागि समेत नवनिर्वाचित सांसद् लामाले पहल गर्नुभएको थियो ।

नवनिर्वाचित छक्कबहादुरसँग कर्णाली करिडोर हिल्सा–सिमीकोट सडक निर्माण, विद्युत् आपूर्तिमा सहजता, हेक्पा र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन, मानसरोवर तथा कैलाश पर्वतमा दश प्रवेशद्वार निर्माण, दक्षिणी क्षेत्रमा कृषि उत्पादन वृद्धि र जिल्ला अस्पतालमा भिडियो एक्स–रे सेवा स्थानीय बासिन्दाको माग छ । स्थानीय जनताको माग सम्बोधन गर्न सबैसँग मिलेर काम गर्ने नवनिर्वाचित छक्कबहादुरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा