सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित



हाम्रो इकोनोमि

यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् ।

फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् ।

सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब रु दुई लाखको सुन्तला बिक्री गरेकामा अहिले रु एक लाख बराबरको बिक्री गर्नुभयो ।

सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताउनुभयो । उहाँले सुन्तला टिपेपछि टिपेको घाउबाट ब्याक्टेरिया, कीटाणुले आक्रमण गर्ने भएकाले कम्तीमा तीन पटक नीलोथुथो, चुना छर्कनुपर्ने बताउनुभयो ।

सुन्तला बिक्रीबाट साढे दुई लाख आम्दानी

निस्दी गाउँपालिका–५ गल्धा बहपुरका अगुवा किसान तेजन सिंजालीले यस वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख ५० हजार आम्दानी गर्नुभएको छ ।

उहाँले दुई मुरी अन्नबाली समेत उत्पादन नहुने जग्गामा विगत आठ वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । यस वर्ष करिब ४० क्विन्टल सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो ।

झण्डै १५ रोपनी जग्गामा तीन सय बोट सुन्तला लगाउनुभएका सिंजालीले अहिले दुई सय उत्पादनशील बोटबाट आम्दानी लिन शुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी भएको छ,” उहाँले भन्नुभयो, “पाखापखेरामा सुन्तला लगाएर रु दुई लाखदेखि रु तीन लाखसम्म सजिलै आम्दानी गर्दैआएको छु ।”

प्रतिकिलो रु ५० मा सुन्तला बिक्री गरेको सिंजालीले बताउनुभयो । “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन,” उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको सुन्तला रामपुरको बजारमा खपत हुन्छ ।

बहपुरकै अर्का किसान मानबहादुर ढेँगाले पनि सुन्तला बिक्रीबाट मनग्य कमाई गर्दै आउनुभएको छ । उहाँले करिब २० रोपनी जग्गामा चारसय बोट सुन्तला लगाउनुभएको छ । ढेँगाले अहिले उत्पादनशील १५० बोटबाट रु दुई लाख बराबरको आम्दानी लिइरहनुभएको छ ।

यस्तै, मुक्तबहादुर रानाले यस वर्ष सुन्तला बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी लिइसक्नुभएको छ । उहाँले करिब २०० बोट सुन्तला लगाउनुभएको छ । यहाँका १६ घरपरिवारको आयआर्जनको माध्यम नै सुन्तला खेती बनेको छ । एउटा परिवारले ५० बोटदेखि ५०० बोटको हाराहारीमा सुन्तला खेती गरेका छन् ।

अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि बहपुर क्षेत्रका कृषकले सुन्तला खेती गर्न थालेका हुन् । यस क्षेत्रलाई जिल्लाकै नमूना सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...