प्रकाशलाई पछार्दै यसरी बाजी मार्दैछन् एमाले महासचिब पोखरेल,बाम गठबन्धनको मत देखेर आत्तियो कांग्रेस



काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले र कांग्रेसका ‘हेभी वेट’ नेता चुनावी मैदानमा छन्।

स्थानीय चुनावमा वडाअध्यक्षको मतअनुसार यहाँ एमालेले १६ हजार ८ सय ९५ मत ल्याएको छ। माओवादी केन्द्रको मत ३ हजार २ सय ८४ मत छ। दुबैको मत जोडदा २० हजार एक सय ७९ हुन्छ।

कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले पाएको मत १५ हजार ४ सय ३४ छ। कांग्रेसले तालमेल गरेको राप्रपाको १ हजार ८ सय ७२ मतसमेत जोड्दा कांग्रेसका पक्षमा १७ हजार ३ सय ६ मत पुग्छ। यसरी हेर्दा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले जित्ने पक्का भएको छ ।

स्थानीय चुनावमा यो क्षेत्रका वडाअध्यक्षलाई आएको मत जोड्ने हो भने यहाँ एमाले अघि छ। त्यसमाथि माओवादीका पाएको मत थप्ने हो भने वाम गठबन्धन कांग्रेसभन्दा पाँच हजार मतले अघि छ।

यसअघिको चुनावमा पनि यो क्षेत्रमा दुई पार्टीले ‘हेभी वेट’लाई नै भिडाएका थिए। यसपालि यही क्षेत्रमा विवेकशील साझाका सहसंयोजक उज्ज्वल थापा पनि चुनाव लड्दैछन्।

पछिल्ला दुई चुनाव जितेका कांग्रेस नेता नरहरि आचार्य यसपालि स्वास्थ्यका कारणले लडेनन्। त्यसैले कांग्रेसले पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतलाई यहाँ चुनावी मैदानमा उतारेको छ। अर्कोतिर वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल उठेका छन्। पछिल्ला दुई चुनावमा पोखरेल आचार्यसँग पराजित भएका थिए।

यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा सधैँ रोचक हुने गरेको छ। २०७० मा पोखरेल एक हजार मतले आचार्यसँग पराजित भएका थिए।

 

 

यसपालि महतले पोखरेललाई जित्न स्थानीय निर्वाचनमा वाम गठबन्धनका पक्षमा खसेको करिब १५०० मत आफ्नो पक्षमा तान्नु पर्ने हुन्छ। के उनले कांग्रेसले पाएको मत कायमै राखेर यति मत आफ्नो पक्षमा तान्लान्?

यो क्षेत्रका बुढानिलकण्ठ, टोखा, धापासी, महाराजगञ्ज, बालुवाटार, चपली, हात्तिगौँडा, तासीकोट घुमेर हामीले झण्डै १०० जना मतदातालाई सोध्यौं— तपाई भोट कसलाई दिनुहुन्छ?

आचार्यले जित्नुको कारण कांग्रेस मत मात्रै थिएन उनको व्यक्तित्व र स्थानीयताका आधारमा आउने मत पनि थियो। आचार्यले पाएको त्यो मत कायम राख्न नै महतलाई ठुलो चुनौती छ। अघिल्लो पटक कांग्रेसलाई मत दिएका धेरै मतदाताले यसपटक पोखरेललाई मत दिने बताए।

हामीले भेटेका ९७ मध्ये ३६ जनाले एमालेलाई भोट दिने बताए। यीमध्ये ८ जनाले पहिलो पटक एमालेलाई भोट हाल्न लागेको बताए।

२५ जनाले काँग्रेसलाई मत दिने बताए। कांग्रेसलाई भोट दिन्छु भन्नेमध्ये एक जना बाहेक सबै अघिल्लो पटक पनि काँग्रेसलाई नै मत दिएका मतदाता हुन्। थपिएका एकजना अघिल्लो पटक राप्रपालाई मत दिएको बताए।

९७ मध्ये ५१ जना मतदाताले अघिल्लो पटक कांग्रेसलाई मत दिएका थिए। तर ती ५१ जना मध्ये २५ ले मात्र यसपालि पनि कांग्रेसलाई मत दिने निर्णय गरिसकेको बताए।

बाँकी २६ जनामध्ये केहीले अरु पार्टीलाई दिने बताए भने कतिले निर्णय गरिनसकेको बताए।

२६ मध्ये ८ जनाले ईश्वर पोख्रेललाई मत दिने बताए।

‘हामीले दुई-दुई पटक ईश्वरलाई हरायौँ। नरहरिलाई जिताउन पनि उनलाई भोट दिएनौँ। कांग्रेसका यसपालिका उम्मेदवारलाई त चिन्या पनि छैन, यहाँका होइनन् क्यारे। अहिलेसम्म मैले रुखमा बाहेक भोट हालेको थिएन यसपालि पोखरेलालाई दिने हो,’ चण्डोलका जीवन बस्यालले भने।

यसरी रुखमा भोट हाल्ने केही परम्परागत मतदाताले यसपालि सूर्यमा भोट हाल्ने मनस्थिति बनाएपछि ईश्वर पोखरेल यहाँ बलिया देखिएका छन्।

अघिल्लो पटक कांग्रेसलाई मत दिएका १५ जनाले यसपालि कसलाई मत दिने अझै निर्णय गरिनसकेको बताए।

‘पहिले त नरहरिलाई नै दिएको हो अब कसलाई दिने भन्नेमा कन्फ्युजन छ, डिसिजन लिनै सकेको छैन,’ बालुवाटारमा भेटिएका नाम बताउन नचाहने एक मतदाताले भने।

टोखाको चण्डेश्वरीमा भेटिएका श्रेष्ठ थरका मतदाताले पनि अहिल्यै निर्णय लिन नसकेको बताए। ‘पहिले त कांग्रेसलाई दिएको हो अब कसलाई दिने थाहा छैन। यहाँको मान्छे पनि उठ्या छैन, अहिले बाहिरबाट आएको छ। अब के हुन्छ कुन्नी,’ उनले भने।

कांग्रेसको तुलनामा एमालेका पुराना मतदाता बढी ढुक्क देखिए। पहिले एमालेलाई दिएको तर यसपालि कसलाई दिने निर्णय गर्न नसकेका मतदाता जम्मा ३ जना मात्र भेटिए।

१० जना मतदाताले कसलाई भोट दिने बताउनै चाहेनन्। यी मध्ये कसैलाई नदिने भन्नेहरु पनि थिए। बुढानिलकण्ठ ३ की हरिमाया श्रेष्ठले भोट हाल्ने दिन घाम तापेर सुत्ने बताइन्।

‘अस्ति उता चुनिखेल गाकी थिएँ। त्यता त कति राम्रो बाटो बनाएको रहेछ। हो त्यस्तो काम गरे पो भोट हाल्न मन लाग्छ, हाम्रो क्षेत्रमा त कस्ता परेछन् नेता पनि हेर्नुस त यो पसल अघिको बाटो! यस्तो हालत छ। पानीको समस्या उस्तै हुन्छ। ल हामी गर्छौँ भन्दै भोट माग्न आउँछन् नमस्ते नि गर्छन् अनि कहाँ हो कहाँ। म त यसपालि भोट हाल्दिनँ त्यो दिन घाम तापेर सुत्ने हो,’ उनले भनिन्।

क्षेत्र नम्बर ५ मा कांग्रेस र एमालेका मात्रै हैन नयाँ दल विवेकशील साझाका पनि उम्मेदवार छन्। विवेकशीलका सहसंयोजक उज्जवल थापा यो क्षेत्रबाट दोस्रो पटक संसदको चुनाव लड्दै छन्। योभन्दा अघिको चुनावमा उनी कुकुर चिह्न लिएर चुनाव लडेका थिए।

हामीले भेटेकामध्ये ८ जना मतदाताले मात्र थापालाई मत दिने बताए। पुराना दलले केही गरेनन् नयाँलाई विचार गरौँ भन्ने मतदाताहरु उनलाई भोट दिने पक्षमा छन्।

हात्तिगौँडाका कृष्ण डंगोलले यसअघि कांग्रेसलाई भोट दिएका थिए यसपालि उनले विवेकशील साझालाई मत दिने निर्णय गरिसकेका छन्।

‘हेर्नुस जहिले हामीले कांग्रेसजस्तै पुराना पार्टीलाई भोट दियौँ। उनीहरुले हाम्रा सुविधाका लागि केही काम गरेनन्। उनीहरु बुढा भैसके। नयाँ दलले समय अनुसार विकास गर्छ कि भन्ने लाग्या छ, त्यसैले विवेकशील साझालाई नै भोट दिने हो,’ उनले भने।

विवेकशील साझालाई भोट दिन्छु भन्नेमध्ये ४ मतदाताले पहिले कांग्रेसलाई भोट दिएका थिए। २ जनाले यसअघि एमालेलाई दिएका थिए। पहिले राप्रपालाई दिने एक मतदाताले आफ्नो उम्मेदवार नभएकाले विवेकशील साझालाई दिने बताए।

कांग्रेससँग तालमेल गरेको राप्रपाको भोट पनि कांग्रेसलाई भन्दा विवेकशीललाई जाने सम्भावना देखिन्छ। हामीले भेटेमध्ये यसपालि पहिलो पटक भोट हाल्ने एक मतदाताले पनि विवेकशीललाई नै दिने बताए।

कांग्रेसको परम्परागत मत नै कायम राख्ने चुनौती झेलिरहेका महतभन्दा दुई पटक यो क्षेत्रमा चुनाव हारेका पोखरेलप्रति मतदाताको सहानुभुतिका कारण यसपालि उनी बलिया देखिएका छन्। चुनावको हावा महततिर भन्दा धेरै पोखरेलतिरै बगेको छ।

 

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको