कांग्रेसका यी ओजनदार चर्चित नेता यसरी पछारिदैछन,सिटौला देखी शेखर र प्रकाशमान सम्म ‘डेन्जर जोन’मा



नयाँ संविधान जारी भएपछि हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा धेरै जिल्लामा कडा र रोचक प्रतिस्पर्धा हुने देखिएको छ। माओवादी केन्द्र र एमाले लगायत कम्युनिस्ट दलहरु एकातिर र नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिक अर्कातिर भएकाले निर्वाचन धेरै उम्मेदवारका लागि ‘फलामको चिउरा’ हुन सक्छ। दुवैतर्फ ‘हेभीवेट’ उम्मेदवार मैदानमा उत्रिएका कारण केही प्रभावशाली नेतालाई अब सांसदको रुपमा देख्न पाइनेछैन।

यस्ता केही चर्चित र प्रभावशाली कांग्रेस उम्मेदवार छन्, तिनका लागि यो चुनावी मैदान ‘डेन्जर जोन’सरह बनेको छ।

कृष्ण सिटौला
वाम गठबन्धनलाई ‘काउन्टर’ दिन लोकतान्त्रिक गठबन्धन निर्माण गरेको नेपाली कांग्रेसले सहमति अनुसार प्रतिनिधिसभाका लागि झापाको ३ नम्बर क्षेत्र राप्रपालाई छाड्न तयार भयो। पूर्वमहामन्त्री कृष्ण सिटौलासँगै छलफल नै नगरी कांग्रेस सभापति शेरबहादुर देउवाले सो निर्णय गरेका थिए। त्यसको बदलामा सिटौलाको नाम प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीको एक नम्बरमा प्रस्तावसमेत गरियो। तर पार्टीको १३औं महाधिवेशनमा सभापति भिडेका सिटौलाले पार्टी सभापति र प्रधानमन्त्रीको निर्णयलाई चुनौती दिए, आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमै लड्ने अडान लिएर। उनीसँग राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन प्रतिस्पर्धामा छन्। देशभर राप्रपाको निराशाजनक नतिजा आउँदा उक्त क्षेत्रमा लिङ्देनले साख बचाएका थिए। त्यही कारण राप्रपा अध्यक्ष कमल थापाले उक्त क्षेत्र नछोड्ने अडान लिए। सिटौलाका लागि यो प्रतिस्पर्धा चुनौतीपूर्ण हुन सक्ने देखिन्छ।

आफ्ना कार्यकर्ताले राप्रपालाई मत दिन नसक्ने भन्दै उठ्न दबाब दिएपछि सिटौला मैदानमा आएका हुन्। एमाले र माओवादी सम्मिलित वाम गठबन्धनले सो निर्वाचन क्षेत्रमा राप्रपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सिटौला ‘डेन्जर जोन’मा परेका हुन्।

सिटौलाको क्षेत्रमा राप्रपा र एमाले विजयी भएका स्थानीय तह पर्दछन्। केचनकवल र हल्दीवारी गाउँपालिका राप्रपा र वाम गठवन्धनले जितेका दुई नगरपालिकाका केही वडा क्षेत्र सिटौलाको क्षेत्रमा पर्छ। उक्त क्षेत्र सिटौलाका लागि मुख्य चुनौती हुनेछ। उक्त क्षेत्रमा पर्ने २८ वडामा राप्रपाले स्थानीय निर्वाचनमा १२ हजार ८ सय ८१ मत पाएको थियो भने वाम गठबन्धनको उक्त क्षेत्रमा ३० हजार ७ सय ४० मत ल्यायो। कांग्रेसको भने १९ हजार ३ सय ७ मत देखिन्छ। यो अंकगणित अनुसार सिटौलालाई निर्वाचन जित्न स्थानीय निर्वाचनमा वाम गठवन्धनमा गएको मत मजैले फकाउनुपर्ने देखिन्छ।

वामको समर्थन पाएका राप्रपा महामन्त्री लिङ्देन त्यसलाई आफ्नो पक्षमा पार्दै परिणाम हत्याउने दाउमा छन्। स्थानीय तहको निर्वाचनमा प्राप्त उक्त परिणाम उल्ट्याउन नसके सिटौला पराजित हुने देखिन्छ। सिटौला कांग्रेसका पूर्वमहामन्त्री ‘हेभीवेट’ उम्मेदवार हुन् भने राप्रपाका लिङ्देन पनि स्थानीय स्तरमा लोकप्रिय नेता मानिन्छन्।

माओवादीलाई जनयुद्धदेखि शान्ति प्रक्रियामा ल्याउन उल्लेख भूमिका खेलेका सिटौला यसअघि पहिलो संविधानसभामा पराजित भए पनि दोस्रोमा विजयी भएका थिए। संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सिटौलालाई आगामी निर्वाचन सहज छैन।

प्रकाशमान सिंह
गत बैसाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील र साझा पार्टीका उम्मेदवारले सम्मानजक भोट पाए। विवेकशीलकी रञ्जु दर्शना र साझाका किशोर थापाले प्राप्त गरेको मतले दुई पार्टीलाई एक बन्न दबाब सिर्जना गर्यो। त्यसपछि एकीकृत पार्टी गठन गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीको एक मात्र लक्ष्य भनेको राष्ट्रिय दल बन्ने देखिन्छ।

राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत भोट ल्याउनुपर्छ। त्यस्तै समानुपातिकतर्फ सिट दाबी गर्न १.५ प्रतिशत सदर मत ल्याउनुपर्ने प्रावधान छ। विवेकशील साझाले सोही कुरालाई ख्यालमा राख्दै आफ्ना संयोजक रवीन्द्र मिश्रलाई काठमाडौं क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको उम्मेदवार जिताउने रणनीतिसाथ प्रचार गरिरहेको छ। मिश्रको आक्रामक चुनाव प्रचार गतिविधिले कांग्रेसका पूर्व उपसभापतिसमेत रहेका प्रकाशमान सिंहलाई अहिले अप्ठेरोमा पारेको छ।

कांग्रेसका संस्थापक नेता तथा पिता गणेशमानको विरासत जोगाउने चुनौती पनि छ प्रकाशमानलाई। काठमाडौं १ का १०, ११, २९ र ३१ नम्बर वडामा विवेकशील र साझा पार्टीले राम्रो मत प्राप्त गरेका थिए। सो वडामा विवेकशील र साझाको मत कांग्रेसको भन्दा बढी छ। सोही आँकडाले कांग्रेसको प्रभाव क्षेत्र मानिने काठमाडौं १ प्रकाशमानलाई चुनौतीपूर्ण देखिएको छ।

बिबिसी नेपाली सेवा हुँदै लोक कल्याणकारी राज्यको पक्षमा वकालत गर्दै आएका विवेकशील साझाका उम्मेदवार मिश्रले सहरी इलाकामा बसोबास गर्ने शिक्षित वर्गलाई प्रभावित गर्न सक्ने आँकलनका साथ प्रचारमा छन्। बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, माइतीघर लगायतका स्थान यही निर्वाचन क्षेत्रमा पर्छ।

शेखर कोइराला
काठमाडौंपछि सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला हो, मोरङ। मोरङको क्षेत्र नम्बर ६ मा कांग्रेस र एमालेका दुई नेताबीचको प्रतिस्पर्धाले प्रदेश १ को चुनावी सरगर्मीलाई ह्वात्तै बढाइदिएको छ।

कोइराला परिवारको विरासत जोगाउने जिम्मेवारी शेखर कोइरालाको काँधमा आइलागेको छ। उनलाई चुनौती दिन ‘लो प्रोफाइल’मै रहने एमाले नेता लालबाबु पण्डित चुनावी मैदानमा छन्। सामान्य प्रशाशन मन्त्री रहँदा डिभी, पिआर लिने सरकारी कर्मचारीलाई कारबाही गरेर चर्चामा आएको उनै लालबाबु, मधेस र पहाडलाई जोड्न आफ्नो आवश्यकता रहेको दाबी गर्छन्। लोकतान्त्रिक फोरमसँग पार्टी एकता भएपछि केही राहत महसुस गरेका शेखरलाई स्थानीय निर्वाचनमा पाएको मतले बलियो अवस्थामा रहेको देखाउँछ।

स्थानीय निर्वाचनमा लोकतान्त्रिक फोरमसहित कांग्रेसले २७ हजार ९९७ प्राप्त गरेको मत त्यसैको उदाहरण हो। स्थानीय निर्वाचनमा २६ हजार ३ सय ८० मत ल्याएको वाम गठबन्धनले लालबाबुलाई अगाडि सारेको छ। मोरङमा रहेको मधेसी समुदायको भोट तान्दै विजयी हासिल गर्न सकिने गठबन्धनको रणनीति छ। जुन शेखरका लागि त्यति सहज छैन।

मोहनबहादुर बस्नेत
बहालवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पनि यस पटक सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सहज विजयी हुने अवस्था देखिँदैन। उनीविरुद्ध वाम गठवन्धनले माओवादीका हेभीवेट उम्मेदवार अग्नि सापकोटालाई अघि सारेको छ। स्थानीय तहको निर्वाचनमा कांग्रेसको भन्दा दोब्बर मत उनीहरुलाई प्राप्त भएको हुँदा बस्नेतका लागि यो क्षेत्र यसपालि डेन्जर जोनसरह बनेको छ।

क्षेत्र–१ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने कांग्रेस दोस्रो स्थानमा छ। माओवादी केन्द्र तेस्रो र एमाले पहिलो छ।

जिल्लाबाट दुई पटक चुनाव जितेका बस्नेत पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा बस्नेतले एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले मात्र हराएका थिए। अहिले बस्नेतलाई राप्रपाको पनि समर्थन छ।

चौतारा साँगाचोकगढी नगरपालिकाको ५ वटा वडासहित ७ वटा स्थानीय तह रहेको क्षेत्र नम्बर–१ मा वाम गठबन्धन बलियो छ। स्थानीय निर्वाचनमा गठबन्धनको मत ४३ हजार १ सय १२ छ भने लोकतान्त्रिक गठबन्धनको २४ हजार २ सय १३ मत छ। उक्त मतान्तरलाई कम गर्दै बस्नेतलाई निर्वाचन जित्ने चुनौती छ। उनी टिकट नपाएका एमालेका असन्तुष्ट नेताहरुको पक्षमा रहेको मत ल्याएर चुनाव जित्ने रणनीतिमा छन्। यस्तै, सापकोटालाई स्थानीय तहमा प्राप्त मत संरक्षण गरेर आफू अझ दरिलो बन्नुपर्ने चुनौती छ।
क्षेत्र नम्बर–१ मा १ लाख १४ हजार ३ सय २३ मतदाता छन्। यो मतलाई हेर्दा पनि प्रमुख दुई शक्ति मात्रै भएकाले चुनाव जित्नका लागि कम्तीमा ५० हजार मत ल्याउनुपर्ने देखिन्छ।

स्थानीय तह चुनावपछि जिल्लामा मतदाताको संख्या समेत थपिएको छ। त्यो मतले पनि जित–हारमा भूमिका खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको