सुन तस्करसँग आईजीपीको यस्तो साँठगाँठ, एआईजीको असुली धन्दाले प्रहरी वाक्क दिक्क,प्रधानमन्त्रीको नाममा दाम भेला गर्ने यी हुन उपल्लो तहका पुलिस



गृहमन्त्री नभएको गृह प्रशासन अस्तव्यस्त छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृह मन्त्रालय सम्हालेका छन् तर, उनलाई सुरक्षा निकायको ब्रिफिङ सुन्ने फुर्सद पनि छैन ।
जसका कारण उनका सहयोगीहरु नै गृहमन्त्री बनेर गृह र सुरक्षा निकायका हाकिमलाई ‘यसो गर्नुस् र उसो गर्नुस्’ भनेर काम लगाउने गर्दछन् । प्रधानमन्त्रीका पीएहरुको ध्यान शान्तिसुरक्षामा भन्दा पैसामा छ । जसकारण गृह पुग्दा अराजकता र भ्रष्टाचार मौलाएको छ ।

चुनावको मुखमा प्रहरीमा धमाधम सरुवा भइरहेको छ । सरुवामा चरम राजनीतिकरण भइरहेको छ । नेपाली कांग्रेसका नेताहरुको प्रिय रहेका प्रहरी अधिकारीहरुले मात्र अवसर पाइरहेका छन् । त्यसमा पनि राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका अधिकारीहरु पहिलो रोजाईमा छन् ।

कार्यक्षमताको हिसाबले सबैभन्दा कमजोर रहेका ‘राअ’ टोलीलाई मात्र अवसर दिएपछि संगठनभित्र व्यापक असन्तुष्टि बढेको छ । गत साता तीन जिल्लाका इन्चार्जहरु फेरिएका थिए । जसमा सबै जना राष्ट्रिय अनुसन्धान टोली छन् ।

कैलालीमा पठाइएका एसपी विनोद घिमिरे, सुर्खेतमा पठाइएका उमाप्रसाद चतुर्वेदी तथा पूर्वी नवलपरासीमा पठाइएका दीपेन्द्र जिसी राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा स्थानन्तरण भएकाहरु अधिकृतहरु हुन् । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उनीहरुलाई नेपाल प्रहरीमा ल्याएका थिए ।

कांग्रेस नेताहरुकै सोर्सफोर्समा उनीहरुले तोकआदेशका भरमा राष्ट्रिय अनुसन्धानमा जागिर खाएका थिए । पछि तोकेआदेशकै भरमा प्रहरीमा इन्सपेक्टर भए । हजारौं प्रतिस्पर्धीबीच नाम निकालेर आएका प्रहरी अधिकारीहरुभन्दा अहिले प्रहरीमा उनीहरुकै राज चलेको छ ।

किनकि जसरी खुमबहादुरले गृह प्रशासन चलाएका थिए अहिले त्यसैगरी राजनीतिक आस्थाका आधारमा गृह प्रशासन संचालन भइरहेको छ । खुमबहादुर खड्काकै भतिज डिएसपी विश्वराज खड्कालाई तीन साताअघि मात्र बालाजु वृत्तको इन्चार्ज बनाइएको थियो ।

त्यस्तै राअबाट आएका सिद्धिबिक्रम शाह, माधव पुडासैनी, हिमालय श्रेष्ठले पनि पटक पटक आकर्षक इन्चार्ज पाउने गरेका छन् । हालै भएको एसपी बढुवामा पनि उनीहरुले फ्रेस अधिकृतहरुलाई पछि पारेका थिए ।

आईजीपी प्रकाश अर्याल निरीह भएकाले यसरी प्रहरीमा भ्रष्टहरुको राज चलेको हो । ‘आईजीपी पद जोगाउनमात्र लागेका छन्,’ एक प्रहरी अधिकारी भन्छन्,‘संगठन जोगाउने नेतृत्व हामीले कहिल्यै पाउन सकेनौं ।’

एआईजीको असुली धन्दा
ऐन कानुनबिना नै एआईजीहरुलाई प्रदेश इन्चार्ज बनाएर पठाएको तीन महिना भइसकेको छ । कानुनबिना नै प्रदेश प्रहरी कार्यालयहरुले काम गरिरहेका छन् । प्रदेश प्रहरी कार्यालयहरुको कारबाही र निर्देशनहरुको कानुनी रुपमा प्रश्न उठ्ने अवस्था छ ।

कानुनी रुपमा काम गर्न गाह्रो भएपनि प्रदेश इन्चार्जहरुलाई आर्थिक रुपमा भने कुनै गाह्रो छैन । अहिले प्रहरीको असुली पहिलेभन्दा दोब्बर भएको छ । महानगरीय प्रहरी कार्यालय तथा सातै प्रदेशका एआईजीहरु कमाउनमै व्यस्त छन् ।

चुनावमा आउने बजेटमा भ्रष्टाचार त छँदै छ, जिल्लाहरुमा तस्करी र अवैध धन्दामा समेत प्रत्यक्ष रुपमा एआईजीहरुको संरक्षण हुन थालेको छ । ७ नम्बर प्रदेशका एआईजी बिजयकुमार भट्ट अझै असुलीमा अगाडि छन् ।

जसरी हुन्छ कमाउने अभियानमा उनी लागेको भन्दै ७ नम्बर प्रदेशका कतिपय प्रहरीले सरुवा माग्न थालेका छन् । कैलालीका एसपी अर्जुन चन्द ठकुरीले त एआईजीकै कारण त्यहाँबाट बिदा भएर हिंडेका छन् । तस्करी खुलाउन लगाउनेदेखि अपराधीलाई समेत छाड्न दबाब दिएपछि आफूले काम गर्न नसक्ने भन्दै उनले तीन हप्ताअघि जिल्ला छाडेका हुन् ।

अन्य जिल्लाका इन्चार्जहरुसमेत हैरान भइसकेका छ । एक प्रहरी अधिकारीका अनुसार एआईजी भट्टकी श्रीमती सुशीला भट्टले आफैं फोन गरी प्रहरी अधिकारीहरुलाई अनावश्यक दबाब दिने गरेकी छिन् । एआईजी बढुवा हुँदा धेरै खर्च भएको भन्दै पैसा असुली चलेको छ । भट्ट जुनियर डिआईजी हुँदाहुदै पनि चलखेलकै आधारमा एआईजी बढुवामा परेका थिए ।

उनीमात्र होइन ६ नम्बर प्रदेशका एआईजी रणबहादुर चन्द, ५ नम्बरका मिङमार लामा, ४ नम्बरमा कमलसिंह बम, ३ नम्बरका केशरी घिमिरे र एक नम्बर प्रदेशका एआईजी पशुपति उपाध्यायको ध्यान असुलीमै छ । लामाले दाङका ठेकेदारहरुसँग मिलेर चुनढुंगा तस्करीलाई संरक्षण गरेका छन् ।

रोल्पा सिमेन्ट उद्योगको चुनढुंगा खानीबाट दैनिक लाखौं रुपैयाँको चुनढुंगा तस्करी गरेर घोराही सिमेन्टलाई बिक्री गर्दै आएको छ । महानगरीय प्रहरी कार्यालयमा पनि भ्रष्टाचार बढेको छ । सबै एआईजीहरु मिलेर म्यादीको ड्रे्समा करिब एक अर्ब भ्रष्टाचार गर्न लागेका छन् ।

एउटै ठेकदारलाई बिनाप्रतिस्पर्धा म्यादीको पोशाकको जिम्मा दिएर पैसा कमाउन लागिएको छ । २ हजार पाँच सय लागतमा तयार हुने ड्रेसलाई चार हजार रुपैयाँ राखेर कमिसन खान लागिएको छ । ९८ हजार म्यादीलाई पोशाक खरिद भइरहेको छ । म्यादीलाई नै पैसा दिने भनिए पनि पोशाकमा एकरुपता नहुने भन्दै उनीहरुसँग पैसा लिएर देशभरी एउटै ठेकदारलाई दिन लागिएको छ ।

सबै एआईजीहरुको जागिर अब ५ महिनामात्र भएकाले उनीहरु जिन्दगीभरलाई पुग्ने गरी कमाउनमा केन्द्रित भएका हुन् । अहिले तराईका सबै जिल्लामा तस्करी मौलाइसकेको छ ।

​सुन तस्करसँग आईजीपीको साँठगाँठ ?
देशका ठूला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् ।

एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भूषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिइएको हो । स्रोतका अनुसार दुबईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तर हल्ला नगरी उनलाई अदालत पेश गरियो । उनी भोलिपल्टै सामान्य धरौटीमा छुटे ।

भूषालले प्रहरी नेतृत्वदेखि अदालतसम्म सेटिङ मिलाएर त्यसरी उन्मुक्ति पाएका हुन् । सबैसँग कुरा मिलेपछि उनी नेपाल आएका थिए । सीआईबीले गरेको अनुसन्धानमा साढे ३३ किलो सुन तस्करीका प्रमुख नाइके नै उनै भूषाल हुन् ।

तस्करीमा भरियाको रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाही जेलमा छन् । सीआईबीले लगत्तै एयरपोर्ट भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यस्तै तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्कीसमेत पक्राउ परेका थिए ।

तस्करीमा सहयोग गर्ने एसएसपी श्याम खत्रीलगायतले पनि अदालतबाट उन्मुक्ति पाइसकेका छन् ।
मुख्य एजेन्ट कार्कीले उनै भूषालको निर्देशनमा उत्तरढोकास्थित दरबार दोहोरीसाँझबाट विभिन्न सुन पसलहरुमा त्यसरी तस्करीको सुन बिक्री गर्दै आएका थिए, दृष्टिमा उल्लेख छ ।

तस्करी गरेर भित्र्याउँदा एक किलो सुनमा ८ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए । एकै पटकमा करिब ३० किलो सुन उनीहरुले विमानस्थलबाट भित्र्याउने गरेका थिए । विगत २ वर्षदेखि सयौं किलो सुन तस्करी गरेका थिए । त्यसबाट अरबौं पैसा कमाएको र भूषालले त्यही पैसाबाट अहिले सबैतिर चलखेल गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग