रामराज्यको कल्पना गर्दै आत्तिएका प्रधानमन्त्रीलाई चाबुक दिदै रामबीरले आक्रामक बनाए चुनाबी माहोल,पढ्नुहोस उनको दमदार अन्तरबार्ता
चुनावी तयारी कुनरुपमा अघि बढिरहेको छ ?
यही मंसिर २१ गते हुने निर्वाचनको तयारीका लागि अहिले सबैभन्दा पहिला कार्यकर्ता व्यवस्थापन गर्ने, चुनावी प्रचारप्रसारलाई तीव्रता दिने जस्ता कामलाई बढी प्राथमिकता दिएका छौँ । व्यवस्थित चुनाव प्रचार–प्रसारका लागि हामीले शनिबार मात्रै २ हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेका छौँ । योसँगै आम कार्यकर्तामा उत्साह पैदा भएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा तपाईँ त्यही क्षेत्रबाट निर्वाचित हुनुभयो । अहिले अझ वाम तालमेलको भएको छ । चुनाव जित्न कत्तिको सहज महशुस गर्नुभएको छ ?
म निर्वाचनका बेला मात्र मतदाताको घरदैलोमा पुग्ने व्यक्ति होइन । ०७० सालको निर्वाचनमा विजयी भएपछि पनि म मतदाताकै घरदैलोमा रहेको छु । मेरो मतदातासँग भावनात्मक सम्बन्ध छ । म यो क्षेत्रका लागि घरपरिवारको दाजुभाई, छोरा–भतिजो जस्तो भएको छु । यहाँका दिदीहिनीहरुसँग सधैँ साथमा छु । सधैँ बुवामाआको साथ पाएको छु । यो क्षेत्रका कुनै पनि मतदातासँग मेरो वैमनस्यता छैन । नेपाली जनताले ७० वर्षदेखि चाहना गरेको नेपालको संविधान निर्माण गर्ने जिम्मेवारी मेरो कार्यकालमै सम्पन्न भयो । अब हामी संविधान कार्यान्वयनको चरणमा छौँ । संविधान कार्यान्वयनका लागि पनि यहाँका जनताले ममाथि विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।
मैले अघि पनि भने– मलाई यस क्षेत्रमा मतदाताले यसअघि पनि मत दिएर निर्वाचित गराउनुभएको छ । संविधान निर्माण गर्न म र मेरो पार्टीले खेलेको भूमिकालाई नजिकबाट नियाल्नु भएको छ । त्यसैले अब मुलुकको समृद्धिका लागि पनि मलाई एक पटक यहाँका जनताले विजयी गराएर पठाउँने ठानेको छु । एमालेले वोकेको समाजजवादको लक्ष्य पूरा गर्न पनि यहाँका जनताले विजयी गराउने अपेक्षा गरेको छु । हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला हाम्रो पार्टीले प्रस्तुत गरेको आर्थिक एजेण्डासहितको विकास बजेटलाई कार्यान्वयन गर्न पनि मेरो आवश्यकता छ ।
अर्को कुरा म सभासद्–सांसद् भएपछि मैले गरेका कामको बारेमा मैले स्वेतपत्र जारी गरेको छु । मसँग आएका बजेट, मेरो क्षेत्रमा भएका विकासका क्रियाकलाप समेटेर मैले स्वेतपत्र जारी गरेको हुँ । यो स्वेतपत्र जनताको हातहातमा पुर्याएको छ । मेरो जित्ने अर्को आधार यो ।
चुनावअघिसम्म सपना बाड्ने अनि चुनाव जितेपछि फर्केर पनि नआउने आरोप लाग्ने गर्छ । त्यो आरोप तपाईँले खेप्नु पर्यो कि परेन ?
जनताले जनप्रतिनिधिबाट धेरै ठूलो अपेक्षा रोखेका हुन्छन् । ती अपेक्षा पूरा नहुँदा खिन्न हुुनु स्वाभाविक हो । यसलाई मैले सहजरुपमा लिएको छु । मेरो गाउँठाउँमा हिड्दा चियापसलमा पुग्दा केही असहज त भएकै छ । तर, भेटघाट नै नभएको, जनताको घरदैलोमै आउँदै नभएको भन्ने आरोप खेप्नु परेको छैन । मेरो निर्वाचन क्षेत्र नै मेरो जन्म र कर्म थलो भएकाले जनताका गुनासा सुन्न सक्ने र कार्यान्वय गर्ने क्षमता पनि मसँग छ । यद्यपि जनताले अपेक्षा गरे अनुरुपको विकास मैले वितेको कार्यकालमा गर्न सकिन । जनताका अपेक्षा पूरा गर्नका लागि पनि मलाई यहाँका जनताले एक पटक फेरि विजयी बनाएर पठाउन चाहनु भएको छ । यो क्षेत्रमा अस्पताल, वाटो, पानी, कलेज, पार्क निर्माण गर्ने, ठूलाठूला योजना लागु गर्ने मसँग भिजन छ । त्यो पूरा गर्न पनि मैले एक कार्यकाल अझै जनप्रतिनिधि भएर जानु पर्ने छ ।
तपाई सांसद् हुँदा गरेका खास काम के–हुन् ?
क्षेत्र नम्बर ७ मा १० वटा वडा छन् । महानगरपालिकाको चारवटा, नागार्जुनको तीनवटा र तार्केश्वरको तीनवटा वडा छ । यी सबै वडामा म पुगेको छु । केही काम व्यवस्थित नहुँदा जनताका केही गुनासो हुनसक्छन् । यद्यपि यहाँका जनताले हामी राज्य शक्तिमा पुग्दा यी समाधान गर्र्छाै भन्ने राम्रो हेक्का राखेको महशुस मैले गरेको छु । मैले चाहेर पनि गर्न नसकेका केही काम छन् । तर, वातावरण अनुकुल हुनेगरी मैले काम गर्दै आएको छु । चारवटै वडामा बत्ती राख्न सफल भएका छौँ । मेरो क्षेत्र भित्रका बाटाहरुमा पीच गरेका छौं, ढलान गरेका छौं । १२ वटा भन्दा बढी योजनाहरु पूर्णरुपमा सफल गरेका छौं । तार्केश्वरको तीनवटा वडामा आएको बजेट व्यवस्थापनमा ध्यान दिएका छौं । अहिले हामीले बाटो, पानीलाई पहिलो प्राथमकितामा राखेका छौं । प्रत्येक वडामा दुईचारवटा ढलान, बाटो र पानीको व्यवस्थापन गर्दै आएका छौं । यी सबै जनचासोका विषय हुन् । यी काममा जनता नै प्रत्यक्ष सहभागी भएकाले पनि मैले यो क्षेत्रमा गरेको विकासको कामको मूल्याङ्कन जनताले गरेका छन् ।
क्षेत्र नम्बर ७ मा तपाईको जितको आधार के छ ?
मेरो जितको सुनिश्चितताको पहिलो आधार भनेको संविधान जारी गर्ने बेलाको सबै भन्दा ठूलो दल नेपाली यो क्षेत्रका लागि मुख्य प्रतिष्पर्धी दल हो । तर, यो क्षेत्रमा कांग्रेसकै उम्मेदवारी परेको छैन । वर्षौदेखि रुख चिन्हमा भोट हाल्दै आएका यहाँका जनता यो पटक त्यो अवसरबाट वञ्चित भएका छन् । रुखमा भोट हाल्न नपाएका यो क्षेत्रका धेरै जनताले मलाई समर्थन गर्ने निश्चित छ । मेरो मुख्य प्रतिष्पर्धी दलकै यो क्षेत्रमा उम्मेदवारी नहुनु मेरो जितको आधार हो । नेपालको कम्युनिष्ट पार्टीको इतिहासमा यो निर्वाचन क्षेत्र निकै प्रसिद्व छ । ती क्षेत्रको विकास र निर्माणका लागि मेरो पहलकदमी हुने छ । इमान्दार जनताले मलाई भोट हाल्ने छन्, उनीहरुले बुझेका छन् । केही विपक्षी साथीहरुले मेरो नराम्रो कुरा गर्लान तर जनताले मैले गरेको विकासको कामलाई बिर्सदैनन् ।
विकेन्द्रीकरणको सिद्वान्त कसरी पालना भइरहेको छ ?
जबसम्म विकेन्द्रीकरणको सिद्वान्त लागु गर्न सक्दैनौं तबसम्म नेपालको इतिहासमा जतिसुकै आर्थिक समृद्विको कुरा गरे पनि त्यो प्राप्त गर्न सक्दैनौँ । आर्थिक वृद्विदर हासिल गर्न स्पष्ट नियम बनाउनुपर्छ । कुन ठाउँमा बैठक बस्ने भन्ने अहिले टुंगो लगाउन सकिएको छैन । प्रदेशलाई ३५ वटा अधिकार दिएको छ । तर, प्रदेशको व्याख्या गर्ने तरिका अझै मिलाउन सकेको छैन । यसो गर्न पाए हुन्थ्योे भन्ने छ कानुन नभएको र सरकारको निकम्माका कारण काम विकासले अझै दुर्तगति लिने सम्भावना छैन । नेकपा एमालेले जितेपछि स्थानीय तह, प्रदेश र संघ मिलेर विकासमा गति दिन सके नेपाल बन्न धेरै समय लाग्दैन ।
देशले वाम एकता, कम्युनिस्ट पार्टी निर्माण गर्ने चर्चा छ । कांग्रेसले पनि वाम तालमेललाई अतिरञ्जित तरिकाले प्रचार गरिसकेको छ, तपाई यसलाई कसरी लिनुभएको छ ?
वाम एकताको सबैभन्दा प्रचारक कांग्रेस नै भएको छ । नेपाल चीन, कोरिया बन्न भन्ने हावा फैलाउनु आवश्यक छैन । नेपाल नेपाल नै बन्छ । दक्षिणपन्थीहरुको स्वभाव नै गलत प्रचार गर्न खोज्ने हुन्छ । उनीहरु नेपाल उत्तर कोरिया हुन्छ भन्ने डर देखाउन चाहन्छन् । उनीहरुले कम्युनिष्टको गलत हावा फैलाउने गर्छन् । तर २०५१ सालमा आएर मात्र जनताले बुझे । कम्युनिस्टले शासन गर्न पायो भने मात्र देश संमृद्व बन्छ भन्ने अनुभव गर्न पाए । २०५१ को नौ महिने कम्युनिस्टको शासनले जनताले ठूलो आनन्दको महसुश गर्न पाएका छन् । आर्थिक समृद्वको चरमचुलीमा पुगेको चीनजस्तो नेपाल बन्न सक्नु ठूलो कुरा हो । संविधानको प्रस्थावना नै लेखिएको कुरा राम्रोसँग पढ्न म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । संविधानमा व्यवस्था भएको कुराले नै यो मुलुकमा तत्काल कुनै पनि हालतमा साम्यवाद आउँदैन भन्ने कुरा प्रस्पट छ । सयवर्षपछि साम्यवाद ल्याउन सकिएला तर तत्काल यो संविधान रहेसम्म साम्यवाद सम्भव छैन् । त्यही संविधान अनुसार चलेको सरकार त्यस सरकारलाई समर्थन गर्ने नेकपा माओवादीका मन्त्रीहरु पनि अहिले पनि बहाल हुनुहुन्छ । प्रधानमन्त्रीलाई आफ्ना मन्त्री गन्न आउँछ होला नि । किन भने यो संविधानमा हामीले समाजवाद बाहेक कल्पना नै गरेका छैनौ । समाजवादपछि हुने नै साम्यवाद हो । साम्यवाद भनेको नै रामराज्य हो । रामराज्यको कल्पना गर्नु अनुचित होइन । त्यसैले कांग्रेसका साथीहरु र मुख्य गरेर वर्तमान प्रधानमन्त्रीजीलाई म आग्रह गर्न चाहन्छु । सय वर्षपछि कल्पना गरिएको रामराज्यबाट अहिले नै आत्तिनु पर्ने जरुरी छैन ।
म प्रधामन्त्रीजीलाई सोध्न चाहन्छु । तपाईँ देशको प्रधानमन्त्रीको कांग्रेस पार्टीको तपाईँका गतिविधि देशको प्रधानमन्त्री जस्तो छैनन् । तपाईँका गतिविधि कांग्रेसको नेताको जस्तो मात्रै छन् । तपाईँ अहिले पनि सबै साझा प्रधानमन्त्री बन्न सक्नु भएको छैन । तपाईँले कति जना विना विभागीय मन्त्री बनाउनुभएको छ । कति जना तपाईँको क्याविनेटमा विनाविभागीय मन्त्री छन् । तपाईँलाई त्यो लेखाजोखा थाहा छ ? नेकपा एमाले र नेकपा माओवादी बाम गठबन्धनको सरकार बनेपछि साम्यवाद आउँने भयो भन्ने हल्ला गर्दै हिड्नु भएको छ । तपाई यो हेक्का नहुन सक्छ । संविधानले बहुदलीय व्यवस्थाको वकालत गरेको छ । साम्यवादको हल्ला त घोषित–अघोषितरुपमा कांग्रेसले नै हल्ला चलाइदिएको मात्र हो । यो मुलुकमा एकदलीय शासन ल्याउन संभव छैन । वामपन्थीको सरकार बन्यो भने समृद्व मुलुक बनाउन सकिन्छ । जुन कुराले सामन्तिलाई ठिक ठाउँमा ल्याउन सकिन्छ ।
नेपाली जनता सक्षम र इमान्दार छन् । उनीहरुले बुझ्न सक्छन् जसले जस्तोसुकै छारो हाल्न खोजेपनि नफस्नुहोला भन्न चाहन्छु । नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्नुहोस् भन्न चाहन्छु ।