यी हुन् कांग्रेसमा टिकट लिन नेतालाई गाडी,साडी र राडी उपहार दिने, यस्ता छन्, धनवाद र डनवादका कांग्रेसी उम्मेदवार



फोर्ब्स म्यागेजिनको अर्बपति समूहमा परेका उद्योगी विनोद चौधरी यसपटक नेपाली कांग्रेसको कोटाबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा दर्ज छन्। चौधरीलाई ०६४ मा नेकपा एमालेले समानुपातिक सभासद् चुनेको थियो। ०७० को निर्वाचनमा एमालेले उनलाई नवलपरासीबाट प्रत्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो। तर, उनले प्रत्यक्षबाट निर्वाचन लड्ने ‘जोखिम’ मोल्न चाहेनन्।

०७४ को कात्तिकसम्म आइपुग्दा चौधरीलाई कांग्रेसले मधेसी कोटामा तेस्रो नम्बरको प्राथमिकतामा राखेको छ । उद्योगी चौधरीलाई समानुपातिक माध्यमबाट ‘माननीय’ बनाउने तयारी गरेको कांग्रेसले १८ वर्ष सोलुखुम्बुको पार्टी सभापति भएका प्रभुराम बस्नेतलाई भने त्यो सूचीमा अटाउन आवश्यक ठानेन। बस्नेत ०३१ सालको टिम्बुरबोटे काण्डमा होमिदाका ज्युँदा सहिद हुन्। उनले अहिलेसम्म सरकारी लाभको कुनै पद पाएका छैनन्।

नेपाली कांग्रेस जिल्ला कार्य समितिले प्रतिनिधिसभाको समानुपातिकमा बस्नेतलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको थियो।

रामेछापका पुर्णबहादुर तामाङ (कान्छाराम) ‘क’ श्रेणीका ठेकेदार हुन्। उनलाई पार्टीको सिद्धान्त, आदर्श, त्याग, सर्मपणसँग कुनै मतलब छैन। जसरी हुन्छ, पैसा कमाउनु उनको एकसूत्रीय ‘मिसन’ हो । मध्य बानेश्वरमा रहेको आफ्नो आलिशान महल उनले दुई वर्षदेखि कांग्रेस नेता विमलेन्द्र निधिलाई नि:शुल्क उपयोग गर्न दिइरहेका छन्। तिनै कान्छारामले रामेछापबाट प्रतिनिधिसभाको प्रत्यक्ष टिकट पाएका छन् अहिले। उनले मध्य बानेश्वरको त्यही घर निधि परिवारका नाममा रजिष्ट्रेशन गरिदिएर टिकट लिएको कांग्रेस वृत्तमा चर्चा छ।

कान्छारामले टिकट लिन निधिबाहेक कांग्रेसकै पूर्वकोषाध्यक्ष तथा मन्त्री चित्रलेखा यादवलाई एउटा प्राडो गाडी दिएको रामेछाप कांग्रेसका एक नेता बताउँछन्।

यस्तै, कुख्यात गुण्डा नाइके गणेश लामाले पनि टिकट पाए। जबरजस्ती असुली, ठगी, धम्की, ज्यान मार्ने उद्योगजस्ता अपराधमा संलग्न भन्दै उनलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरी मुद्दा चलाइसकेको छ। बिनास्रोत अकूत धन कमाएको आरोपमा सम्पत्ति शुद्धीकरण विभागमा पनि उनको मुद्दा विचाराधीन छ।

राजनीतिक ओत खोज्दै लामा दुई वर्षअघि अवसरवादी राजनीतिका पर्याय विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए। र, त्यस पार्टीको केन्द्रीय सदस्य नै बने। लामा हालै गच्छदारसँगै कांग्रेसमा प्रवेश गरे। उनी अहिले काभ्रेबाट प्रदेशसभामा कांग्रेसका आधिकारिक उम्मेदवार छन्।

पार्टीहरुमा उद्योगी/व्यापारी, ठेकेदार र डनहरु कसरी हाबी भइरहेका छन्? यी तीन प्रतिनिधि घटना काफी छन्।

बुझ्न गाह्रो छैन, ठूलै ठेकी/भेटी नबुझाई उद्योगी/व्यापारी, ठेकेदार, डनहरुले टिकट पाएका छैनन्। अघिल्लो संविधानसभामा ८४ जना ठेकेदार/व्यापारीहरुले संसदमा प्रवेश पाएका थिए।

स्वास्थ्य, शिक्षा, सहकारी, बैंकिङ लगायत विधेयक आफूअनुकूल पारित गर्न/गराउन उनीहरुले कुन तहसम्मका हर्कत गरे, सर्वसाधारणको तहसम्मै छर्लङ्ग छ। उदाहरण चौधरीकै लिऊँ– उनको कांग्रेस प्रवेश र समानुपातिकमा नाम समावेशले दुई वटा तथ्य एकसाथ उद्घाटित गर्छ।

पहिलो, उद्योगी-व्यापारी-ठेकेदारको एउटा निश्चित पार्टी हुन्न। उनीहरु आफूलाई जहिले, जहाँबाट फाइदा हुन्छ, छेपारोले रङ फेरेसरी त्यहीँ पुग्न तयार हुन्छन्। दोस्रो, पैसाको चलखेलबाट माननीय बनेकाहरुको ध्येय देशको प्रणाली (सिस्टम) लाई समृद्ध बनाउने हुँदै होइन।

उनीहरुको एकसूत्रीय अभीष्ट कानुन, न्याय आफूअनुकूल बनाउनु हो। पैसा भए जहाँ जे पनि गर्न सकिन्छ भन्ने उनीहरुको मानसिकता हुन्छ। विडम्बना, दलका शीर्ष नेताहरुले विधिको शासन उल्लंघन गर्न चाहने धनवाद र डनवादलाई नै हरतरहले भरोसा गरिरहेका छन्।

धन र डनलाई च्याप्ने मामिला धेरथोरको सवाल अलग हो। यसबाट अछुतो कुनै दल पनि छैनन्। यद्यपि यस पटकको निर्वाचनमा यसको अग्र मोर्चा ‘लोकतन्त्रको ठेकेदार’ नेपाली कांग्रेसले सम्हालेको छ। जस्तो कि दर्जन बढी ठेकेदार/व्यापारीलाई कांग्रेसले प्रत्यक्षमै टिकट थमाएको छ।

त्योभन्दा ठूलो संख्याले समानुपातिकमा स्थान पाएका छन्। कांग्रेसले मेडिकल माफिया तथा प्रहरी सूचीमा डाक्टरको नक्कली प्रमाणपत्रका फरार अभियुक्त सुनिल शर्मालाई प्रजातान्त्रिक लडाइँको महत्वपूर्ण भूमी मोरङ-३ बाट प्रत्यक्षमा उम्मेदवार बनाएको छ।

विराटनगरस्थित नेशनल मेडिकल कलेजका सञ्चालक शर्माले काठमाडौंमा पिपुल्स डेन्टल कलेजको अनुमति लिन हजारौं प्रयत्न गरिरहेका छन्। तिनै माफिया शर्मालाई सासंद बनाउनुपर्ने बाध्यता कांग्रेसलाई किन पर्यो? कसैले उत्तर दिन आवश्यक ठानेका छैनन्। स्रोतका अनुसार शेखर कोइरालाको प्रयत्नमा सम्पूर्ण खर्च बेहोर्ने गरी उनी उम्मेदवार बनेका हुन्।

वर्षौ जेलनेल भोगेका, प्रजातान्त्रिक लडाइँमा होमिँदा संयोगले मर्नबाट जोगिएका, सिद्धान्त, आस्था भनेर त्याग गरेका नेता-कार्यकर्ताहरुलाई किनारामा धकेल्दै शर्मा जस्ता पात्रलाई टिकट दिएपछि हरेक पार्टीभित्र असन्तुष्टि चुलिँदो छ। तर, पनि नेताहरुले त्यसलाई गम्भीर रुपमा लिएको पाइँदैन।

कांग्रेसले ठेकेदार दीपक खड्कालाई संखुवासभामा दोहोर्याएर टिकट दिएको छ। ०७० को निर्वाचनमै टिकट पाएर विजेता बनेका उनी अघिल्लो सरकारमा राज्यमन्त्री समेत भए। गृहजिल्ला संखुवासभामा उनले सडक निमार्णको ठेक्का लिएका थिए। तर, व्यक्तिगत लगानीमा सडक खने जस्तो गरी मत मागेर विजय प्राप्त गरे। फेरि पनि उनले टिकटको चिठ्ठा जितेका छन्।

काभ्रे-१ मा पनि कांग्रेसले ठेकेदार तथा गुण्डा तीर्थ लामालाई दोहोर्याएको छ।

ठेकेदार तथा व्यपारी शम्शुलाल श्रेष्ठलाई कांग्रेसले अघिल्लो पटक सर्लाहीमा टिकट दिएन। त्यसपछि उनी रातारात माओवादी भएर टिकट मात्र चप्काएनन्, जित नै पड्काए। हाल उनी माओवादी कोटाबाटै राज्यमन्त्री छन्। अहिले उनलाई फिर्ता लगेर कांग्रेसले सर्लाही-१ मा टिकट थमाएको छ।

सञ्चारमन्त्रीको कुर्सीमा आसीन मोहनबहादुर बस्नेतले प्रदेशसभाको दुईवटै क्षेत्रमा ठेकेदार, व्यापारीलाई टिकट दिलाएका छन्। सिन्धुपाल्चोकको प्रदेशसभा-१ को प्रत्यक्षमा विष्णु खत्री र २ को प्रत्यक्षमा विष्णुकुमार श्रेष्ठले टिकट पाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोकको अध्यक्ष समेत भइसकेका खत्री रक्त चन्दनमा चर्चित नाम हो ।
ठेकेदार/व्यापारी लगायत कमाउधन्दाका सबै काममा हात हाल्ने खत्री आर्थिक लगानीमै जोगिँदै आएका छन्।

काठमाडौं खिचापोखरीमा अवस्थित पिपुल्स प्लाजाका प्रमुख रहेका श्रेष्ठ खासा व्यापारी हुन्। उनले कांग्रेसको सक्रिय सदस्यता समेत लिएका छैनन्। माओवादी नेता अग्नि सापकोटासँग प्रतिस्पर्धा गर्न दह्रै आर्थिक जोहो चाहिने भएकाले बस्नेतले दुवै क्षेत्रमा व्यापारीलाई टिकट ‘बेचेका’ सिन्धुपाल्चोक कांग्रेसका एक नेता सुनाउँछन्। भन्छन्, ‘श्रेष्ठले टिकट पाएको देख्दा हामी अचम्म परेका छौं।’

कांग्रेसले समानुपातिकमा समावेश गरेको सूचीको हालत प्रत्यक्षभन्दा अझ दु:खद छ। टिकट वितरणको शैली हेर्दा बिपीले अघि सारेको प्रजातान्त्रिक समाजवाद कांग्रेसका देखाउन सजिलो बहाना मात्र भएको छ। लोकतन्त्र उच्चारण गर्ने शब्दमा मात्र सीमित बन्दैछ।

सिद्धान्त र मुद्दालाई किनारामा धकेलेर नैतिक-अनैतिकको सीमारेखा नछुट्याई डन र धनलाई प्राथमिकता दिइएको प्रस्टै देखिन्छ। जस्तो कि पोखराका उद्योगी सुर्यबहादुर केसीले केही दिनअघि मात्र राप्रपाबाट कांग्रेसमा ढाकर बिसाएका थिए। केसी प्राथमिकताका साथ कांग्रेसको समानुपातिक सूचीमा समेटिएका छन्।

जुम्लाका पूर्वसभापति लाल हमाल, कालिकोटका ‘दु:खी कांग्रेस’ हिक्मत विष्टले त्यहाँ टिकट पाउन सकेनन्। सशस्त्र द्वन्द्वकालमा विष्टलाई माओवादीले मारेर हिँडेका थिए। ‘मरेको ठहर गरेर फ्याँकिएका उनी मुखमा खुकुरीको लामो चोट बोकेर हिडिरहेका छन्। तर, अवसरजति डन र धन हुनेले पाइरहेका छन्,’ टिकट वितरणलाई नजिकबाट नियालिरहेका कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेसले शब्दको उच्चारण चाहिँ पटकपटक प्रजातन्त्र र लोकतन्त्रको जप्ने गरेको छ। व्यववहार भने पुरापुर अलोकतान्त्रिक देखाउने गरिरहेको छ। कांग्रेसमा सिद्धान्त र व्यवहारबीचको तालमेल दन्त्यकथा जस्तो बनेको छ। यसले यो देश समृद्धिमा जान्छ भन्ने मेरो त विश्वास नै हराइसक्यो।’

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग