स्थानीय तहकै मत दोहोरिए बाबुराम झन्डै ५ सय मतले हार्ने यस्तो आयो रिपोर्ट,४ नम्बर प्रदेशमा कस्को हैसियत कस्तो



प्रदेश ४ का ११ जिल्लामध्ये ६ जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ। प्रतिनिधिसभाका यी जिल्लामा ८ निर्वाचन क्षेत्र छन्।

६ जिल्लामा कुल ४६ वटा स्थानीय तह छन्। जसमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले २४, नेकपा एमालेले १४, माओवादी केन्द्रले ४, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एकएक ठाउँमा नेतृत्व गरिरहेका छन्।

२०७० सालको निर्वाचनमा पनि यहाँका ११ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ६, माओवादीले ३ र एमालेले २ क्षेत्रमा जितेको थियो। दुवै निर्वाचनले कांग्रेसलाई बलियो साबित गर्छ।

वामपन्थी गठबन्धनका तर्फबाट एमाले र माओवादीका ४/४ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट भने ७ ठाउँमा नेपाली कांग्रेसका र एक ठाउँमा नयाँ शक्तिका तर्फबाट प्रतिस्पर्धा हुँदैछ।

मत विश्लेषण गर्दा सम्बन्धित दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा पाएको मतलाई मुख्य आधार मानिएको छ। त्यस्तै, २०७० मा सम्पन्न संविधानसभाको मत परिणामलाई समेत सन्दर्भमा लिइएको छ। अर्कोतर्फ स्थानीय तहको निर्वाचनमा गरिएको तालमेलबाट प्राप्त भएको मतलाई यहाँ प्राथमिकता दिइएको छैन।

मुस्ताङः प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा ५ स्थानीय तह रहेका छन्। जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले १ र स्वतन्त्र उम्मेदवार १ ठाउँमा विजयी भएका थिए।

स्थानीय तहको निर्वाचनमा माओवादीको खासै प्रभाव देखिएको थिएन। उसले प्राय: सबै ठाउँमा निकै कम मत ल्याएको थियो।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लामा वामपन्थी गठबन्धनका तर्फबाट एमालेका प्रेमप्रसाद तुलाचन र कांग्रेसका तर्फबाट रोमी गौचन थकाली प्रतिस्पर्धा गर्दैछन्। थकाली ०७० सालमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका उम्मेदवार हुन्।

स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले २ हजार ६ सयभन्दा बढी मत पाएको थियो भने एमालेले २ हजार मत पनि पुर्याएको थिएन। यहाँ एमाले र माओवादीको मत जोड्दा कांग्रेससँग हाराहारी हुन आउँछ। ती मतदातालाई आफैंतिर जोगाइराख्न कतिको सम्भव हुन्छ, त्यसैले नतिजामा भूमिका खेल्छ। कांग्रेस उम्मेदवारले तीमध्ये केही मात्रै मतदाता आफूतिर तान्न सकेमा जित निकाल्न पनि सक्छन्।

मनाङः यहाँबाट पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ। जिल्लाका कुल ४ स्थानीय तहहरुमध्ये कांग्रेस र एमालेले २/२ वटा स्थानीय तहमा विजयी भएका थिए। र, मुख्यतः यहाँ यिनै दुवै दल बलिया मानिन्छन्। माओवादी यहाँ पनि नतिजामा प्रभाव पार्नेगरी शक्तिशाली छैन।

४ मध्ये नारफु गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। बाँकी ३ तहमा एमालेका उम्मेदवारले कुल १ हजार ३ सयभन्दा केही बढी मत पाएका थिए। त्यस्तै, कांग्रेसले भने १ हजार २ सयभन्दा केही बढी मात्रै मत पाए।

यहाँ एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्दैछन्। वाम गठबन्धन भए तापनि एमालेका उम्मेदवारलाई माओवादीको खासै साथ रहनेछैन। त्यसकारण पनि स्थानीय तहमा आफ्ना पार्टीका उम्मेदवारलाई मतदान गरेका मतदातालाई जोगाइराख्नु र थप पहल गर्नु दुवै उम्मेदवारको हितमा छ। र, जितका लागि आवश्यक पनि।

म्याग्दीः जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ। यहाँका कुल ६ स्थानीय तहमध्ये नेपाली कांग्रेस ४ र नेकपा एमाले २ ठाउँमा नेतृत्व गरिहेका छन्। ०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा भने नेकपा एमालेले विजय हासिल गरेको थियो।

यहाँबाट प्रतिनिधिसभाको लागि एमालेका भूपेन्द्रबहादुर थापा र कांग्रेसका तर्फबाट खमबहादुर गर्बुजा मुख्य रुपमा प्रतिस्पर्धा गर्दैछन्। गर्बुजा ०७० सालको संविधानसभाको निर्वाचनमा पराजित उम्मेदवार हुन्। उनी त्यतिबेला नेकपा एमालेका उम्मेदवार नवराज शर्मासँग झन्डै साढे ३ हजार मतान्तरले पराजित भएका थिए।

स्थानीय तहका निर्वाचनमा एमालेले जिल्लामा २० हजार १ सय भन्दा बढी मत पाएको थियो। त्यस्तै नेपाली कांग्रेसले भने १६ हजार मत कटाएको थियो। एमालेले जितेका दुवै स्थानीय तहमा माओवादीका उम्मेदवारलाई पराजित गरेको थियो। एमाले र माओवादीको गठबन्धनको मत एकै ठाउँमा जोडिँदा उनीहरु निकै बलिया देखिन्छन्।

बागलुङः जिल्लामा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। यहाँका कुल १० स्थानीय तहमध्ये एमाले र कांग्रेसले बराबरी ४/४, माओवादीले १ र राष्ट्रिय जनमोर्चाले नेतृत्व गरिरहेका छन्। ०७० को संविधानसभाको निर्वाचनमा यहाँका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए।

क्षेत्र नम्बर १ मा बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका रहेका छन्। यीमध्ये २ वटामा एमाले र एकएक वटामा कांग्रेस र राष्ट्रिय जनमोर्चा विजयी भएका थिए।

बागलुङ अर्को कम्युनिस्ट पार्टी राष्ट्रिय जनमोर्चाको पनि बलियो प्रभाव भएको जिल्ला हो। वाम गठबन्धनमा ऊ समेत जोडिएका कारण गठबन्धनको प्रभाव बढी छ भन्न सकिन्छ। स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने तहहरुमा वाम गठबन्धनमा सामेल दलहरुले ३० हजारभन्दा बढी मत पाएका थिए। जबकि, कांग्रेसका उम्मेदवारहरुले पाएको कुल मत झन्डै २१ हजारको हाराहारीमा छ। यहाँबाट एमालेका डा सूर्य पाठक र कांग्रेसका चम्पा खड्का प्रतिस्पर्धा गर्दैछन्।

क्षेत्र नम्बर २ मा ६ वटा स्थानीय तहहरु रहेका छन्। जसमध्ये नेपाली कांग्रेस ३, एमाले २ र माओवादी १ तहमा विजयी भएको थियो। यहाँ कांग्रेसले १८ हजार हाराहारीमा मत पाएको थियो भने वाम गठबन्धनमा आबद्ध तीन दलको कुल मत झन्डै २८ हजार पुगेको थियो। यहाँबाट माओवादीका नेता देवेन्द्र पौडेल र कांग्रेसका नेता निरज पुन प्रतिस्पर्धा गर्दैछन्। पौडेल ०६४ र ०७० सालमा काठमाडौं ९ बाट पराजित माओवादीका उच्चमध्येका नेता हुन्। उनी गृहजिल्लाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएता पनि वाम गठबन्धनको मत उनलाई आवश्यक पर्छ। गठबन्धन भित्रका सानातिना हलचलले उनको हारलाई ह्याट्रिक बनाइदिन सक्छ।

लमजुङः लमजुङमा प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ। यहाँका ८ स्थानीय तहमध्ये नेकपा एमाले ५, कांग्रेस २ र माओवादी केन्द्र १ ठाउँमा विजयी भएका थिए। संविधानसभाको दोस्रो निर्वाचनमा एमाले र कांग्रेसले एकएक वटा सिट बाँडेका थिए। यहाँबाट माओवादी नेता देवप्रसाद गुरुङ र कांग्रेस नेता दिलबहादुर घर्ती प्रतिस्पर्धा गर्दैछन्। गुरुङले दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेका थिए भने ०६४ सालको चुनावमा मनाङ र कास्की ३ बाट जितेका थिए। उनी नयाँ क्षेत्रबाट चुनाव लड्दैछन्।

स्थानीय तहमा यहाँबाट माओवादी र एमालेको कुल मत ३४ हजार ६ सयभन्दा बढी आएको थियो। नेपाली कांग्रेस एक्लैले ३२ हजार मत कटाएको छ। त्यसकारण यहाँ कांग्रेस उम्मेदवार बलिया साबित हुन सक्छन्। वामपन्थी गठबन्धनमा थोरै मात्रै असन्तुष्टि देखिए कांग्रेस उम्मेदवारले फाइदा उठाउन सक्छन्।

गोरखाः गोरखाबाट प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन्। स्थानीय तहको परिणामलाई आधार मान्दा कांग्रेस बलियो देखिन्छ। यहाँका कुल ११ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस र २ वटामा माओवादी विजयी भएका थिए। कांग्रेसले जितको ९ मध्ये ७ वटामा माओवादी दोस्रो भएको थियो भने एकएक वटामा एमाले र नयाँ शक्ति दोस्रा भएका थिए। माओवादीले जितेका दुवै ठाउँमा कांग्रेसले पछ्याएको थियो।०७० सालको निर्वाचनमा यहाँ ३ वटै क्षेत्र माओवादीले जितेको थियो।

क्षेत्र नम्बर १ मा कांग्रेसका चीनकाजी श्रेष्ठविरुद्ध माओवादी नेता हरिबहादुर अधिकारी प्रतिस्पर्धा गदैछन्। यस क्षेत्रमा गण्डकी नगरपालिका, सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका (वडा नम्बर १ देखि ७), भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका छन्। २ क्षेत्रमा बाँडिएको गोरखा नगरपालिकालाई छाड्दा बाँकी ६ मध्ये ५ वटामा कांग्रेसले जितेको थियो। सहिद लखन गाउँपालिकामा मात्रै माओवादी विजयी भएको थियो। सो गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार दोस्रो भएका थिए।

यहाँ लोकतान्त्रिक गठबन्धनको कारण नयाँ शक्तिको मत पनि कांग्रेस उम्मेदवारलाई जाने सम्भावना छ। यदी त्यसो हो भने उसले पाएको ५ हजार ५ सयभन्दा बढी मतमा कांग्रेसले आशा गर्न सक्छ। जबकि, कांग्रेसले पाएको २४ हजार ४ सयभन्दा बढी मत आफैंमा राम्रो मत हो। त्यहाँ माओवादीले १९ हजार ९ सयभन्दा बढी मत पाएको थियो भने एमालेले १२ हजार ४ भन्दा केही बढी मत पाएको थियो। यहाँ गोरखा नगरपालिकाका १ देखि ७ सम्मका मतलाई जोडिएको छैन। बाँकीमा, दुवै गठबन्धनको मत झन्डै बराबरी रहेकाले कार्यकर्ता र मतदाताहरुको असन्तुष्टि र इमानदारीले नतिजामा भूमिका खेल्न सक्छ।

गोरखा २ निकै चर्चित क्षेत्र बनेको छ। यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई प्रतिस्पर्धा गर्दैछन्।

यस क्षेत्रमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर ८ देखि १४ सम्म पर्छन्। गोरखा नगरपालिकाका वडाहरुलाई छाडेर बाँकी ४ वटा स्थानमध्ये ३ मा कांग्रेस र एकमा माओवादीले जितेको थियो। दुवै दलले एक अर्कालाई पछ्याएका थिए।

गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका ७ वटा वडामा एमालेले २ वटा वडा अध्यक्ष जितेको थियो। त्यस्तै, कांग्रेसले ४ र माओवादीले १ वटा वडा अध्यक्षमा जितेको थियो।

४ वटा स्थानीय तह र गोरखा नगरपालिकाका वडाको मत जोड्दा माओवादी बलियो हुन आउँछ। उसले कुल १७, ७९४ मत पाएको देखिन्छ। त्यस्तै, कांग्रेसले १७, ०७०, नयाँ शक्तिले ७, ४१६ र एमालेले ७, १७२ मत पाएको देखिन्छ।

स्थानीय तहमा खसेकै मतअनुसार उम्मेदवारले मत पाउने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार ९ सय भन्दा बढी मत पाउँछन्। जबकि, लोकतान्त्रिक गठबन्धनका भट्टराईले २४ हजार ४ सयभन्दा केही बढी मत पाउँछन्। उनीहरु बीच लगभग ५ सयको अन्तर देखिन्छ।

तर, नेपाली राजनीतिका दुई शीर्ष नेताहरुभट्टराई र श्रेष्ठ नै मैदानमा उत्रिसकेपछि त्यसले विगतको मत र घेरा नाघ्ने अनुमान गर्न गाह्रो छैन। पार्टीगत आस्थाका आधारमा भन्दा पनि उनीहरुको व्यक्तित्व प्रतिको ‘लभ–हेट’ले मत बाँडफाँड हुन सक्छ। भट्टराईले निकटका दुई संविधानसभाको निर्वाचनमा गोरखाबाटै जितेका थिए भने श्रेष्ठ पहिलो पटक त्यहाँबाट चुनाव लडिरहेका छन्।

भट्टराईलाई त्यहाँको मतदातासँग विगतमा गरेको साक्षात्कार र भेटघाटको अनुभव छ। त्यहाँको धेरथोर विकासमा योगदान पुर्याएका र पूर्व प्रधानमन्त्री पनि भइसकेकाले व्यक्तित्वको फाइदा पुग्न सक्छ।

अर्कोतर्फ राष्ट्रिय राजनीतिमा श्रेष्ठको योगदान भए तापनि गोरखाका लागि उनी नयाँ प्रयोग हुन्। उनको सबल पक्ष भनेको पार्टीमा आस्था राख्नेहरुले दिने मत मात्रै हो। यद्यपि, श्रेष्ठको व्यक्तित्व कमजोर भने होइन। तर बाबुराम जतिको बलियो पनि होइन।

गोरखा २ का जनताले व्यक्तित्व रोज्लान् वा पार्टी, त्यो त नतिजाले देखाउनेछ। तर, कडा प्रतिस्पर्धा भने अपेक्षित नै छ।

प्रतिक्रिया दिनुहोस
ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति प्रधानमन्त्री ओलीले सुनाए

     प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सात बुँदे सहमति बाचन गरेका

सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

    नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले