यी हुन् वाम गठबन्धनका बागी,ओली र प्रचण्डले यसरी सनासो लगाउदैछन् दिपक मनांगे सहितका बागी उम्मेदवारलाई



हाम्रो इकोनोमि

पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ ।

बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा केही जिल्लामा बागी उम्मेदवारी दर्ता गराएका छन् । जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् ।

दुवै पार्टीले मंगलबारसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् ।

जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् ।

यस्तै रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता गराएका छन् ।मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउनुभएका सबैलाई मंगलबारसम्म फिर्ता लिन आग्रह गरिएको जानकारी दिइन् ।

उनले भनिन्, “केही साथीहरुलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने परेको हुन सक्छ, उहाँहरुलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा पार्टीले सोचेको छ । पार्टीको सिपाही भएका नाताले उहाँहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।”

पार्टी एकता र वामपन्थी दलहरुबीचको तालमेल गर्दा पार्टीका तर्फबाट दाबेदार रहेका तर उम्मेदवार हुन नपाएकालाई धैर्य र संयमित हुन एमालेले आग्रह गरेको छ । एमालेले आगामी दिनमा त्यस्ता नेता तथा कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय गर्नेसमेत बताएको छ ।

केही दिन पहिलेको स्थायी समितिको बैठकले पार्टीको आधिकारिक लाइनविपरीत नजान नेता तथा कार्यकर्तालाई आग्रह गरिसकेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही जिल्लामा समस्या रहे पनि मंगलबारसम्म एमालेका तर्फबाट बागी उम्मेदवारी दिएका सबैको फिर्ता हुने जानकारी दिए ।

उनले बझाङको समस्या समाधान भएको, बाग्लुङमा मिलाउने क्रम जारी रहेको र दोलखामा भने एमाले नेता लालकुमार केसीले नेकपा (माले)का तर्फबाट उम्मेदवारी दिएकाले फिर्ता गराउन केही गाह्रो भएको बताए ।

नेता श्रेष्ठले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको स्थानमा माओवादी केन्द्रका तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...