सिंचाईमा पनि मध्यरातमा ब्यापक सरुवा अर्बौंका प्रोजेक्टमा मन्त्रीको सरुवा खेती



सिंचाई मन्त्रालयले पनि सामान्य प्रशासन मन्त्रालयले जस्तै निर्वाचन आचारसंहिता लागू भएको २०७४ भदौ १४ गते मध्यरातमा सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । सामान्यको सरुवा निर्वाचन आयोगको निर्देशनमा स्थगित भए पनि सिंचाईको स्थगित भएको छैन । सिंचाई मन्त्रालयले पनि निजामती सेवा ऐन नियम र सरुवा मापदण्ड सबै मिचेर सरुवा गरेको छ । सिंचाई मन्त्री संजय गौतमले सिंचाईका सरुवामा आर्थिक चलखेल गरेको आरोप छ । आर्थिक चलखेलकै आधारमा एक बर्ष पनि नपुगेका सहसचिवलाई पुनःसरुवा गरिएको छ । एक बर्ष पनि अवधि नपुगेका सहसचिवहरूलाई अपमानपूर्वक सरुवा गरिएको स्रोतले बताएको छ ।

मन्त्रालयका कर्मचारीलाई १ बर्ष पनि नपुगी सरुवा हुन नदिने जिम्मेवारी प्रशासनिक नेतृत्वको हो । तर प्रशासनिक नेतृत्वमा बिराजमान मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवले वरिष्ठहरूको हुर्मत लिने सरुवालाई सहर्ष सदर गरेका छन् ।
सचिव यादवले ऐन नियम विपरीत भएको सरुवा सदर गरेपछि मन्त्रालयका बरिष्ठ कर्मचारीहरू असन्तुष्ट भएको खबर छ । बरिष्ठताकै आधारमा विभिन्न आयोजना प्रमुख, जलउत्पन्न विभाग र सिंचाई विभागको महानिर्देशक र सचिव भइसकेका रामानन्द यादवकै हातबाट बरिष्ठ सहसचिवलाई अन्यायपूर्वक क्षेत्रीय कार्यालयतिर लखेटिएको छ । र, कनिष्ट सहसचिव प्रदीप थापालाई महानिर्देशक बनाउन लागिएको छ । मन्त्री गौतमले करोडौं रुपैयाँको लेनदेनमा उनलाई महानिर्देशक बनाउन एक बर्ष पनि जागिर अवधि नभएका महानिर्देशक मधुकर राजभण्डारीलाई हटाउने तयारी गरेका छन् । सरुवा र पदस्थापन नभएको एक बर्ष पनि नपुगेका सहसचिवहरूलाई अपमानपूर्वक विभागबाट सरुवा गर्नुको कारण नै कनिष्ट सहसचिव थापालाई महानिर्देशक बनाउनका लागि भएको खुलेको छ ।

सिंचाई मन्त्रालयले आचारसंहिता लागेपछि ठूलठूला र अर्बौं अर्बका प्रोजेक्टहरूमा भदौ १४ गते मध्यरातमा गरेको सरुवामा महेश्वर केसीलाई सिक्टा सिंचाई आयोजना र रमेशबन्धु अर्याल बबई सिंचाई प्रमुखमा सरुवा गरिएको छ । बरिष्ठ सहसचिव नुर मोहम्मद खाँलाई सीएमआईएएसपीबाट सिंचाई ब्यवस्थापन निर्देशनालय चितवन, जलउत्पन्नका उपमहानिर्देशक प्रकाशचन्द्र पोखरेललाई मध्यमान्चल क्षेत्रीय निर्देशनालय, विभागका अर्का उपमहानिर्देशक कौशलकिशोर झालाई सिंचाई विभागमा सरुवा गरिएको छ । मधुकर रानालाई महाकाली सिंचाई आयोजनाबाट जलउत्पन्न विभाग, संजीव बराल डब्लुआरपीपीएफमा सरुवा गरिएको छ ।
त्यसैगरी कृष्णप्रसाद नेपाल मध्यपश्चिमान्चल क्षेत्रीय सिंचाई निर्देशनालयबाट जलउत्पन्न विभाग, सिंचाई ब्यवस्थापन निर्देशनालयका नियाज वारिसलाई जलउत्पन्न विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । यसैगरी सहसचिवको दरबन्दी रहेको सुनसरी मोरङ सिंचाई आयोजनाको प्रमुखमा डीई कुन्दनभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सिंचाईमा राम्रो आयोजना पाएका महेश्वर नरसिंह केसी कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन् ।

प्रकाशचन्द्र पोखरेल र कौशलकिशोर झालाई जलउत्पन्न प्रकोप विभागको उपमहानिर्देशकबाट अपमानपूर्वक निर्देशनालयमा सरुवा गरिएको छ । सबैभन्दा बरिष्ठ सहसचिव नुरमोहम्मद खाँलाई गतबर्ष विभागको उपमहानिर्देशक अन्तर्गत रहने प्रोजेक्ट सीएमआईएएसपीमा लखेटेर पनि नपुगी अहिलेको सरुवामा सिंचाई ब्यवस्थापन कार्यालय चितवनमा फालेर अन्यायको पराकाष्टा नै नाघिएको सिंचाईका अधिकारी बताउँछन् । २ बर्षअघि विभागमा उपमहानिर्देशक भइसकेका सहसचिव नुर मोहम्मद खाँलाई यसअघिका मन्त्री दीपक गिरीले सिंचाई सीएमआईएएसपी पु¥याएका थिए । अहिले सीएमआईएएसपीमा क्षेत्रीय निर्देशनालयमा सरुवा गरेका छन् । क्षेत्रीय निर्देशनालय उपमहानिर्देशक मातहत रहने कार्यालय हो । यसरी सिनियर सहसचिवलाई अन्यायको पराकाष्टा नै नाघेर सरुवा गरिएको छ । निजामती सेवा बरिष्ठताका आधारमा कामको जिम्मेवारी दिइन्छ ।

ऐन नियम कुल्चिदै सरुवा
निजामती सेवा ऐनमा अवकाश हुन एक बर्ष भन्दा कम अवधि बाँकी रहेको कर्मचारीलाई कार्यरत कार्यालयबाट सरुवा गर्न नपाउने ब्यवस्था छ । तर सिंचाई मन्त्री संजय गौतमले २ महिनापछि आगामी २०७४ असोजमा अवकाश हुने राजेन्द्र अधिकारीलाई मन्त्रालयमा सरुवा गरी अशोक सिंहलाई सिंचाई विभागको महानिर्देशक बनाएका छन् । सहसचिव अधिकारीको सरुवा निजामती सेवा ऐन विपरीत भएको छ । मन्त्री गौतमले पदबहाली गर्नासाथ सिंचाई विभागको महानिर्देशक परिवर्तन गरेका छन् । २ महिनापछि अवकाश हुन लागेका अधिकारीलाई सरुवा गरी उनले ६ महिनापछि अवकाश हुने अर्का सहसचिव अशोक सिंहलार्ई सिंचाई विभागको महानिर्देशक बनाएका छन् । २ महिनापछि अवकाश हुने महानिर्देशक अधिकारीलाई के कारण फालियो र ६ महिनामा अवकाश हुनेलाई किन ल्याइयो त्यसको कुनै आधार बनाइएको छैन । अशोक सिंह २०७४ फागुनमा अवकाश हुँदैछन् । जबकि अवकाश हुन एक बर्ष पनि बाँकी नरहेका कर्मचारीलाई विभाग वा कार्यालय प्रमुखको जिम्मेवारी दिंदा त्यहाँ सुशासन कायम हुननसक्ने भएकाले नदिने नीति रहँदैआएको छ । तर मन्त्रीहरूले कर्मचारी सरुवा ऐन नियम विपरीत गरी आर्थिक चलखेलका लागि यस्तै अवकाश हुन लागेकाहरूलाई जिम्मेवारी दिने गरेका छन् । मन्त्री गौतमले सिंचाईका सरुवामा घुस संकलन गर्न अशोक सिंहलाई महानिर्देशक बनाइसकेका छन् । जलउत्पन्न प्रकोप ब्यवस्थापन विभागमा घुस उठाउनका लागि बरिष्ठ सहसचिवलाई अपमानपूर्वक अन्यत्र सरुवा गर्दै महानिर्देशकमा प्रदीप थापा ल्याउने तयारीमा छन् । मन्त्री गौतम निर्वाचन आचारसंहिता लागे पनि जलउत्पन्नका महानिर्देशक राजभण्डारीलाई मन्त्रालयमा सरुवा गरी प्रदीप थापा बनाउने खेलमा रहेको समाचार छ ।

सिंचाई कामकुरो एकातिर
मन्त्रीको ध्यान सरुवातिर
साउन र भदौमा आएको अबिरल बर्षाका कारण तराईमा ठूलो क्षति भएको छ । नहर, कुलो, स्यालो ट्युबेल लगायतका सिंचाई र जलउत्पन्नको क्षेत्रमा मात्र करिब २० अर्ब क्षति भएको अनुमान छ । ती बाढीपीडित क्षेत्रमा सिंचाई सुविधादेखि बाढीबाट हुने क्षति रोक्न ध्यान केन्द्रित गर्नुपर्नेमा शेरबहादुर देउवा सरकारका मन्त्री गौतम सरुवामा रकम असुुलीका लागि महानिर्देशक, आयोजना प्रमुखहरूको सरुवामा मोलतोल गर्न ब्यस्त रहेका छन् । बाढी प्रभावित क्षेत्र र जिल्लाका कर्मचारीहरू सरुवाका लागि भदौ लागेपछि सिंचाई मन्त्रालयका ढोकामा लाइन लाग्नुपर्ने भएपछि फिल्डका कामकारबाही अलपत्र परेका छन् । बाढी प्रभावित क्षेत्रमा केही पनि काम हुन सकेको छैन । जलउत्पन्न र सिंचाईका कर्मचारीको काम सबै फिल्डमा नै हुने गर्दछ । तर सरुवाको सिष्टम नबसाएर आर्थिक चलखेलका आधारमा हुन थालेपछि आकर्षक स्थानमा सरुवाका लागि मन्त्रालयमा भिडभाड हुने गरेको छ । जसका कारण बाढी प्रभावित तराईमा समयमै सिंचाई र जलउत्पन्नका काम कारबाही हुन सकेका छैनन् ।
किन हुन्छ महानिर्देशक परिवर्तनकै खेल रु

जलउत्पन्न र सिंचाई विभागमा पटक पटक महानिर्देशक परिवर्तन हुने गरेकाले पनि कामकारबाहीमा असर पर्ने र लक्षित प्रगति हुन सकेको छैन । मधुकर राजभण्डारी जलउत्पन्न विभागको महानिर्देशक भएको एक बर्ष पनि भएको छैन । उनीअघि निरन्जनदेव पाण्डेले एक बर्ष पनि चलाउन नपाई अवकाश भए । उनीअघिका रामानन्दप्रसाद यादव सचिव बढुवामा परेर एक बर्ष चलाउन पाएनन् । यादवअघि कमल रेग्मी पनि अवकाशको मुखमा महानिर्देशक भएका थिए । रेग्मीअघि प्रदीपराज पाण्डे महानिर्देशक थिए । जलउत्पन्नमा ४ बर्षमा ५ वटा महानिर्देशक भइसकेका छन् ।साँघु साप्ताहिकमा समाचार छ । एउटा महानिर्देशकलाई न्यूनतम २ बर्षमा यो यो काम गर्नुपर्छ भनेर कार्यसम्पादन करार गरी पठाउनुपर्नेमा एक बर्ष पनि काम गर्न नदिई सरुवा गर्ने क्रमले पनि सिंचाई मन्त्रालय अन्तर्गतका आयोजना र डिभिजनले लक्षित उपलब्धी हासिल गर्न नसकेको सिंचाईका आधिकारी बताउँछन् । सिंचाई विभागमा पनि ५ बर्षको चारै महानिर्देशक भएका छन् । अशोक सिंह, राजेन्द्र अधिकारी, रामानन्द यादव, माधव बेलबासे र शिवहरि शर्मासमेत ५ बर्षमा चारजनै महानिर्देशक परिवर्तन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग