विपन्न परिवारलाई घर निर्माण सँगै रोजगारी



पुख्र्यौली पेशाले हातमुख जोर्न धौ–धौ, टहराको बास, आकाशबाट परेको पानी चुहिएर लत्ताकपडा र अन्नपात सबै भिजेर बालबच्चा जोगाउनै मुस्किलजस्ता पीडा भग्दै आएका बिहादी–१ बाच्छाको माझी समुदाय आजभोलि फुरुङ्ग छ ।

कमजोर आर्थिक अवस्थाका कारण लामो समयदेखि कष्टपूर्ण जीवनयापन गर्दै आएको माझी समुदाय नयाँ घर पाएपछि दंग परेको हो । जनता आवास कार्यक्रममार्फत १० घरपरिवार माझी घर निर्माणका लागि सहयोग पाएपछि खुशी हुँदै अहिले धमाधम घर निर्माणमा कस्सिएका छन् । घर निर्माण भएसँगै त्यहाँ काम गर्ने मानिसले रोजगारी पनि पाएका थिए । जसले आयस्रोतमा पनि वृद्धि भएको छ ।

आफूहरुको पीडा देखेर सरकारबाटै घर निर्माणमा सहयोग भएकामा खुशी लागेको उल्लेख गर्दै दीपक माझीले भन्नुभयो, “आफूले कमाएर घर निर्माण गर्ने धेरै परको कुरा थियो, दैनिक नदीमा माछा मारेर परिवारको छाक टार्नै मुस्किल थियो तर हाम्रो मर्म बुझेर सहयोग गरेकोमा धन्यवाद दिन्छु ।”

गत वैशाखदेखि घर निर्माण गर्न थाल्नुभएका उहाँले आफूले पाउने तीन किस्ताको रकम पाइसकेको जानकारी दिैँदै बताउनुभयो, “अब छानो हाल्ने र झ्याल, ढोकाको काम बाँकी छ त्यसपछि शौचालय बनाउन थाल्छु ।”
स्थानीय माझी बस्तीकी विमला माझी पनि कम्ती खुशी हुनुहुन्न । “घर बनाउन सहयोग पाउँदा धेरै खुशी छौँ” उहाँले भन्नुभयो, “टहरामा बस्नुपर्दा निकै सास्ती भोग्नुपरेको थियो, घर निर्माण गर्न पैसा दिए पछि बिहानदेखि कस्सिएर आफ्नो घर आफैँ निर्माण गर्न जुटेका हौँ ।”

दीपक र विमलाजस्तै बाच्छाका रामबहादुर माझी, डिलकुमारी माझी, डिलबहादुर माझी, सपना माझी, राजमान माझी र टीका माझीलगायतले घर निर्माणका लागि सहयोग पाएका हुन् । घर निर्माणमा सहयोग पाएका यी सबै परिवार जीर्ण टहरोमा बस्दै आएका थिए । “आफ्नो सम्पत्तिले पुरानो टहरो मर्मत गर्नसक्ने अवस्था पनि थिएन” रामबहादुरले भन्नुभयो– “अहिले बल्ल सरकार भएको अनुभूति भएको छ ।” उहाँले वर्षौंदेखि कष्टपूर्णरूपमा बस्दै आए पनि गुनासो राख्ने ठाउँसमेत नपाएको बताउनुभयो ।

बाच्छाका समाजसेवी सेवकनाथ आचार्यले जनता आवास कार्यक्रमले वास्तविक पीडितलाई समेटेको बताउनुभयो । “माझीको पीडा देखिरहेका थियौँ तर केही गर्नसक्ने अवस्था थिएन” उहाँले भन्नुभयो, “जनता आवास कार्यक्रममा आएको जानकारी पाएपछि माझी बस्तीमा ल्याउन पहल पहल ग¥र्यौ ।”

घर निर्माणका लागि उनीहरुले जम्मा कर कटाएर रु दुई लाख ३३ हजार पाउनेछन् । समन्वय समितिले घरको जग हाल्दा पहिलो किस्तादेखि निर्माण सम्पन्न गर्दासम्म जम्मा रकमलाई चार किस्तामा वितरण गर्ने व्यवस्था मिलाएको छ । पहिलो किस्ता रु ५२ हजार, दोस्रो किस्ता रु ६३ हजार तेस्रो किस्ता रु ७३ हजार र चौथो किस्तामा बाँकी सबै रकम प्रदान गर्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिले जनाएको छ । चौथो किस्ता भने शौचालय निर्माणपछि मात्रै जिल्ला समन्वय समितिले उपलब्ध गराउनेछ ।

जिल्ला समन्वय समितिमार्फत पर्वतका आर्थिक रुपमा विपन्न र गरिब परिवारलाई १०० वटा घर निर्माण गर्ने योजनाअनुरुप बाच्छाका १० घरपरिवार माझीले सहयोग पाएको जनता आवास कार्यक्रम पर्वतका संयोजक अर्जुनप्रसाद जोशीले बताउनुभयो ।

पर्वतको बिहादी–२ बाच्छा, महाशिला–६ फलामखानी, फलेबास–६ देवीस्थान, फलेवास–१ कार्कीनेटा, कुश्मा–२ खुर्कोट, कुश्मा–१३ खौलालाकुरी, कुश्मा–१४ आर्थरडाडाखर्क र मोदी–१ भुकताङ्लेमा गरी विपन्नलाई १०० वटा घर निर्माणका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस
बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृति मेला शुरु, भोलि पनि सयौ पदमा आवेदन दिन सकिने

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला शुरु भएको

बुढानीलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी मेला आयोजना गर्ने

        बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन