अब निजामती कर्मचारीले बहुबिबाह गरे जागीरै चट्,कर्मचारीलाई पाता कस्न यस्तो बन्यो ऐन



निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’ ले यस्तो व्यवस्था गरेको हो । प्रदेशसम्वन्धी कर्मचारी ऐन बनिसकेको छैन ।

मन्त्रालयले तयार पारेको खाका आइतबार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनलाई पठाएको छ । तीन दिनभित्र सुझाव पेश गर्ने समयसीमा दिएर ऐनको खाका आएको आधिकारिकका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । ‘हामीलाई प्राप्त भएको मस्यौदा अध्ययन गर्छौ र अरु सबैसँग सल्लाह गरेर मन्त्रालयलाई सुझाव पठाउँछौं ’ पोखरेलले भने ‘ संघीयतलाई सम्वोधन गर्ने खालको मस्यौदा छ कि छैन भन्ने कुरा प्रमुख हो, संघीयतामा प्रशासनिक संरचना जाँदा अपनाउनुपर्ने न्यूनतम मूल्य र मान्यता के हुन सक्छन् भन्ने हाम्रो अर्को चासो हो ।’ उनले संघीयतामा गइसकेपछि कर्मचारीको चाहनालाई सम्वोधन गर्न मस्यौदाले केही बोलेको भएपनि पूर्ण रुपमा सन्तुष्ट हुन नसकिएको जनाए । उनले सबैसँग छलफल गरी छिटै नै औपचारिक धारणा सार्वजनिक गर्ने जनाएका छन् । प्रस्तावित मस्यौदामा २०६४ बनेको संसद सचिवालय सेवा ऐन र स्वास्थ्य सेवा ऐनलाई हटाएर निजामती सेवामै गाभिने भएको छ । सरकारले यो ऐन पारित भए उप–सचिव र सह–सचिव खुल्ला प्रतिस्पर्धाबाट लिने छैन ।

सरकारले अहिलेसम्म १० प्रतिशत उप–सचिव र सह–सचिव प्रतिस्पर्धाबाट ल्याउने गर्दथ्यो । नयाँ व्यवस्थामा आन्तरिक प्रतिस्पर्धाबाट ३० प्रतिशत र ज्येष्ठताको आधारमा ७० प्रतिशत छानिने छ । नेपाल सर्भेयर एसोसिएसनका सचिव दुर्गाप्रसाद फुयालले आन्तरिक प्रतिस्पर्धामा १० प्रतिशत मात्र गर्नुपर्ने तर्क राखे । ‘ बढी प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा भएपछि कर्मचारीहरु अध्ययन गरेर बढुवा हुन खोज्दा कार्य सम्पादनमा असर पर्छ ’ फुयालले भने ‘ यो ऐनले कर्मचारीको केही अधिकार खोसेको छ, जन आन्दोलनको उपलव्धिपछि प्राप्त अधिकार कटौती गर्न खोज्नु अन्याय हो ।’ फुयालले सरकारले बनाएको ऐनमा आवश्यक सुधार गर्नुपर्ने खाँचो भएको बताए । उनले ट्रेड युनियन अधिकार नेपालमा पनि अन्तर्राष्ट्रिय मान्यता अनुसार दिइनुपर्नेमा जोड दिए ।

मस्यौदाले कर्मचारीको एकमात्र गैर–राजनीतिक ट्रेड युनियन हुने उल्लेख गरेको छ । कर्मचारीहरु प्रदेश वा स्थानीय तहमा समायोजन हुन चाहे एक तह बढुवा दिन सकिने व्यवस्था गरेको छ । ट्रेड युनियनमा रहेका पदाधिकारी तथा सदस्यहरु अर्कोपटक फेरि उम्मेदवार बन्न नपाउने भएका छन् तर अध्यक्षको उम्मेदवार बन्नका लागि भनें बाधा पर्ने छैन । एमालेनिकट नोपल निजामती कर्मचारी संगठनका महासचिव रेवन्त गौतमले राष्ट्रिय स्तरका ट्रेड युनियन संघ÷ संगठनलाई ट्रेड युनियन अधिकार प्रयोग गर्नबाट रोकेकोमा आपत्ति जनाए । ‘ एउटा आधिकारिक ट्रेड युनियन हुने छ भन्ने मान्न सकिन्छ तर संगठन गर्ने अधिकार नै खोस्नु भनेको अलोकतान्त्रिक र अव्यवहारिक छ ’ गौतमले भने ‘ एकपटक पदाधिकारी वा सदस्य भएपछि फेरि अध्यक्षबाहेक अर्को पदमा उठ्न नपाउने व्यवस्था अप्रजातान्त्रिक र निरंकुश हो ।’ निजामती किताबखानाको पछिल्लो तथ्यांक अनुसार ८६ हजार ५ सय ३३ कर्मचारी रहेका छन् । कार्यालय प्रमुख भएको अवस्थामा बाहेक शाखा अधिकृतसम्मका कर्मचारी ट्रेड युनियनमा आवद्ध हुन पाउने पुरानै व्यवस्था कायम गरिएको छ ।

२०७३ जेष्ठ १९ गते भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा देशभरको मत गणना गर्दा सबैभन्दा बढी मत ल्याएको एमालेनिकट संगठनले आधिकारिकको नेतृत्व गरेको छ, जसको अध्यक्ष पुण्यप्रसाद ढकाल रहेका छन् । ६ वटा संघ ÷संगठनले आधिकारिकको निर्वाचनमा भाग लिएका थिए । १० प्रतिशत ‘थ्रेसहोल्ड’ भएकाले कांग्रेस, एमाले र माओवादी केन्द्रनिकट कर्मचारीका संघ ÷संगठनले मात्र आधिकारिकमा प्रतिनिधित्व गर्ने अवसर पाए । प्रस्तावित ऐनले आधिकारिक ट्रेड युनियनको कार्यकाल तीन वर्षमात्र हुने नयाँ व्यवस्था गर्न खोजेको छ, यो युनियन गठन हुँदा ४ वर्षे कार्यकाल तोकिएको थियो । २०४९ कात्र्तिक १९ गतेसम्म सरकारी सेवामा प्रवेश गरेका कर्मचारीका लागि भनें अवकाश हुने उमेरहद ६० बर्षको तोकिएको छ भने त्यसपछि जागीर खान थालेकाले ५८ वर्षमै अवकाश लिनुपर्ने छ । २० वर्ष सेवा गरेका र ५० वर्ष पुगेका कर्मचारीले अवकाश लिन चाहेका बढीमा सात बर्षसम्मको उमेरको थप गणना गरिने छ । ऐन बनेपछि निजामती कर्मचारी भएकाहरुले योगदानमा आधारित निवृतिभरणमा जम्मा गरेको पैसा अवकाश पाएपछि दोव्वर पाउने छन् तर अहिले जागीर खाइरहेकाको हकमा यो व्यवस्था लागू हुने छैन ।

बहुबिबाह गरेमा, जासुसीसम्वन्धी कसुर गरेमा, उमेर र योग्यता ढाँटेर जागीर खाएमा, भ्रष्टाचार गरेमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा जागीरबाट बर्खास्त गर्ने व्यवस्था छ । यसअघिको व्यवस्थामा बहुबिबाह गर्नु हुँदैन भन्ने उल्लेख भएपनि त्यस्तो गरे के कारवाही गर्ने भन्ने प्रष्ट व्यवस्था थिएन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्