निधीलाई देउवाले च्यापे पछी कांग्रेसमा खैलाबैला,काङ्ग्रेस एकतामा यसरी पुग्दैछ गम्भीर क्षति !
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफू मित्रराष्ट्र भारतको भ्रमणमा जान विमानस्थलतर्फ प्रस्थान गर्नुअघि पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएको विषयले काङ्ग्रेसभित्र पैदा गरेको तरङ्ग अझै साम्य भएको छैन । यस घटनालाई देउवाद्वारा विमलेन्द्र निधिलाई पार्टीको उपसभापति बनाइने सङ्केतका रूपमा लिइएको छ । पार्टीका पदाधिकारीहरू, वरिष्ठ नेता र सर्वाधिक मत प्राप्त गरेर केन्द्रीय समितिमा चुनिएकाहरूलाई छलेर निधिलाई कार्यबाहक सभापति बनाइँदा रामचन्द्र पौडेल पक्षका मात्र नभई देउवाका समर्थकहरूमा समेत असन्तुष्टि पैदा गरेको छ ।
पार्टीमा रामचन्द्र पौडेल, कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. रामशरण महतलगायतलाई सिनियर नेताका रूपमा लिइन्छ भने डा. शशाङ्क कोइराला र सीतादेवी यादव पदाधिकारीका रूपमा रहेका छन् । त्यस्तै, गत महाधिवेशनमा कार्यकर्ताको सबैभन्दा बढी मत प्राप्त गर्नेमा डा. शेखर कोइराला र खुमबहादुर खड्का छन् । तर, सभापति देउवाले कार्यबाहक सभापति बनाउँदा उल्लिखित कुनै पनि नेतालाई रोजेनन्, बरु उनीहरूसँग परामर्श पनि गरिएन र सामान्य जानकारीसमेत नदिईकन निधिलाई ‘कार्यबाहक’ दिने काम देउवाले गरे । यस प्रकरणले काङ्ग्रेसका सबै सिनियर नेताहरू देउवासँग असन्तुष्ट बन्न पुगेका छन्, उनीहरूले आफूहरूलाई अपमान र उपेक्षा गरेको ठानेका छन् ।
कुलबहादुरदेखि खुमबहादुर र गोपालमानदेखि प्रकाशमानसम्मका कुनै पनि नेता विमलेन्द्र निधिलाई उपसभापति स्वीकार गर्ने मानसिकतामा अहिलेसम्म देखिएका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सामान्य स्थितिमा निधिलाई उपसभापति स्वीकार गर्ने सम्भावना देखिँदैन । यदि अहिले प्रकट भएकै असन्तुष्टि र असहमति कायम रह्यो भने सभापति देउवाबाट निधिको नाम उपसभापतिमा प्रस्तावित भए पनि केन्द्रीय समितिबाट अनुमोदन हुन गणपूरक सङ्ख्या पुग्न कठिन छ । वरिष्ठ नेता रामचन्द्र पौडेल या नेता खुमबहादुर खड्कासँग विशेष सहमति बनेको अवस्थामा मात्र देउवाको प्रस्ताव अनुमोदन हुने सम्भावना रहन्छ । त्यसैले सामान्य अवस्थामा विमलेन्द्र निधिलाई उपसभापति बनाउने देउवाको इच्छा पूरा हुन असम्भव छ । निधिभन्दा वरिष्ठ करिब आधा दर्जन नेताहरू भएको र पार्टीमा निधिलाई एउटा गुटविशेषको ‘ठूलो मान्छे’को रूपमा मात्र हेरिने भएकाले यो स्थिति उत्पन्न भएको हो । विमलेन्द्र निधि २०५९ सालमा नेपाली काङ्ग्रेस विभाजित भएपछि तात्कालिक काङ्ग्रेस प्रजातान्त्रिकको केन्द्रीय समितिमा सदस्य मनोनीत भएका थिए । जब कि खुमबहादुर खड्का ०३४ सालमा नै केन्द्रीय सदस्य बनेका थिए भने गोपालमान श्रेष्ठ काङ्ग्रेस प्रजातान्त्रिकबाट उपसभापति र पटक–पटक कार्यबाहक सभापति भएका थिए ।
यदि देउवाले वरीयताक्रममा अगाडि रहेकाहरूमध्येबाट उपसभापति बनाउने हो भने कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र डा. रामशरण महतमध्ये एकलाई बनाउनु उपयुक्त मान्नुपर्ने अवस्था छ । बढी मत ल्याएकाहरूमध्येबाट बनाउने हो भने त्यसनिम्ति डा. शेखर कोइराला या खुमबहादुर खड्का उपयुक्त ठहरिन सक्छन् । नयाँ पुस्ताबाट लोकप्रिय नेताहरूलाई उपसभपति बनाउने हो भने पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, एनपी साउद, डा. मीनेन्द्र रिजाल, महेश आचार्य, चन्द्र भण्डारी र बालकृष्ण खाण आदि मध्येबाट कसैलाई बनाउनु उपयुक्त ठानिन्छ । बिनाक्राइटेरिया उपसभापति मनोनयन गर्दा त्यसले पार्टीमा अनपेक्षित विग्रह र विद्रोह निम्त्याउने सम्भावना छ । उपसभापति मनोनयनमा देउवाले गम्भीरतापूर्वक विचार नपु¥याए पार्टी एकतामा समेत ठूलो क्षति पुग्ने र देउवाले महासङ्कटको सामना गर्नुपर्ने निश्चित मानिएको घटना र विचारले उल्लेख गरेको छ ।