यस्तो हुनेछ गाउँ कार्यपालिका र नगर कार्यपालिका



हाम्रो इकोनोमि

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ

काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । 

स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्को शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा गाउँ वा नगरभित्रका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र सदस्य रहन्छन् ।

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै, गाउँपालिकाका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् ।

निर्वाचक मण्डलले निर्वाचित महिला वडा सदस्यबाट चार जना र दलित वा अल्पसंख्यक सर्वसाधारणबाट दुई जना निर्वाचित गरेपछि गाउँ कार्यपालिकाले पूर्णता पाउने प्रावधान छ । त्यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पनि पदेन रुपमा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख हुन्छन् ।

नगरभित्रका सबै वडाअध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । नगरको निर्वाचक मण्डलले महिला वडा सदस्यबाट पाँच र नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि नगर कार्यपालिकाको निर्वाचन सकिनेछ ।

कसरी बन्छ त गाउँ सभा र नगर सभा ?
नेपालको संविधानअनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचन भइसकेपछि त्यस तहमा विधायिकाको रुपमा रहने गाउँसभा र नगरसभाको गठन हुन्छ । गाउँसभामा गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य र गाउँ कार्यपालिकामा रहेका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित दुई जना पनि सदस्यका रुपमा रहने व्यवस्था छ ।
त्यस्तै, नगरसभामा नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य र नगरकार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित तीन सदस्य रहन्छन् ।

जिल्लासभा र जिल्ला समन्वय समितिको गठन प्रक्रिया
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि जिल्लासभा र जिल्ला समन्वय समिति गठन हुने निर्वाचन आयोगले जनाएको छ । जिल्लासभामा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाका सबै अध्यक्ष÷प्रमुख र उपाध्यक्ष÷उपप्रमुख रहन्छन् । जिल्लासभाले जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कानुनी प्रावधान छ । जिल्ला समन्वय समिति न्युनतम छ देखि बढीमा नौ सदस्यीय हुनेछ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक प्रमुख, तीन महिला सदस्य, दलित र अल्पसंख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...