विधान महाधिवेशनमा फरक दस्ताबेज ल्याउने ईश्वरले पोखरेलको तयारी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपा एमालेमा विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयले आन्तरिकरूपमा तरंग ल्याएको छ । यस निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी पक्षधरका नेताहरूले फरक दस्ताबेज ल्याउने तयारी गरिरहेका छन्, जसले आसन्न विधान महाधिवेशन र बैठकहरूमा थप ध्रुवीकरण बढ्ने देखिएको छ ।

पछिल्लो केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएपछि यो विवाद चुलिएको हो । पार्टीले विधि, प्रक्रिया र परम्परा मिचेर निर्णय गरेको र एमालेको मूल सिद्धान्त मानिएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) माथि नै नेतृत्वबाट प्रहार भइरहेकोमा यसप्रति नेताहरू फरक प्रतिवेदनको तयारीमा जुटेका हुन् ।

यसै असन्तुष्टिको जगमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतका नेताले प्रतिवेदन तयार पारेको भण्डारीनिकटका एक नेताले बताए । जानकारीअनुसार पोखरेलले नै यो फरक प्रतिवेदनको काम टुंग्याइसकेका छन् । ईश्वर पोखरेलनिकट एक पोलिटब्युरो सदस्यले नीतिमा खास विमति नरहे पनि विद्या भण्डारीको सदस्यता प्रकरण र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाएर फरक मत लैजानेबारे छलफल भएको बताए ।

 

यद्यपि अध्यक्ष ओलीले केही कुरा भए आधिकारिक दस्ताबेजमै समेट्ने भन्दै फरक मत स्वीकार्य नहुने सन्देश पठाएका उनको भनाइ छ । तर, पोखरेल अब एघारौं महाधिवेशनलाई लक्षित गरेर अघि बढिसकेकाले विधान महाधिवेशनमै फरक मत जान सक्ने र यो प्रक्रिया राष्ट्रिय महाधिवेशनसम्म चलिरहने बताइएको छ ।

अबका केही महिनाहरू पेचिला बन्ने भन्दै सावधानीपूर्वक अन्तरपार्टी संघर्ष सञ्चालन गर्ने तयारी विद्या पक्षको छ । उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यताबारे पार्टीको निर्णय सच्च्याउने अवस्थामा पुर्‍याउने बताएका छन् । सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा पाण्डेले कोही व्यक्तिलाई पार्टीमा काम गर्न संविधानले निषेध नगरेको जिकिर गरे । पाण्डेले आफूहरूले पार्टीमा चलाएको सार्थक बहसलाई लिएर पार्टी फुटाउन लागे भन्दै हल्ला चलाएको उनको भनाइ थियो । पाण्डेले थपे, यो लडाइँ केही तीतो बन्नसक्छ, केही समय लिनसक्छ । केही अप्ठ्यारो अवस्था आउनसक्छ । तर, निष्कर्षमा पुग्छ भन्नेमा नै छौँ । हामी पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याउँछौं । स्थायी कमिटी सदस्य कर्ण थापाले भण्डारीको सदस्यता रोक्नेजस्तो गम्भीर प्रकारका निर्णय बलमिच्याइँमा गर्न नहुने केही दिनअघि सार्वजनिकरूपमै बोलेका थिए । उनले विधान महाधिवेशनमा फरक मत राख्ने बताएका थिए ।

उनको भनाइ थियो, उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठुलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ । उहाँको सक्रियता रोकिँदैन । विधान महाधिवेशनमा सबभन्दा महत्त्वपूर्ण विषय यो विषय प्रवेश गर्छ । हामी फरक मत प्रस्तुत गर्छौँ र एमालेको सिंगै पंक्ति सही निष्कर्षमा पुग्छ ।

यद्यपि ओलीले विधान महाधिवेशनमा आफूले सही विचार प्रस्तुत गर्ने भन्दै फरक मत कसैले राखिरहन नपर्ने पनि प्रष्ट पारेका छन् । बालुवाटारमा बुधबार साँझ बागमतीका नेताहरूसँग उनले, यो इतिहास हो । इतिहासको रूपमा आउँछ । यो नीतिको रूपमा आउँछ । एकदिन दस्ताबेज प्रस्तुत हुन्छ, एकदिन छलफल र अर्को दिन समापन । अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ ।

उमेर हद र २ वर्षे कार्यकालको विषयमा ओलीले भने, साथीहरूको आम चाहना र समयको माग र म स्वस्थ रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन । ती नेता भन्छन्, हामी व्यवस्थित रूपमा लिखित डकुमेन्टकै रूपमा लैजान्छौं । विद्यालाई सदस्यता रोक्नु गलत हो भनेर हामी दह्रो रूपमा उठाउने छौं । केन्द्रीय समितिमा बोल्न निषेध गरेको भन्दै ती नेताले फरक रायमा यो संख्या बढ्ने जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...