विधान महाधिवेशनमा फरक दस्ताबेज ल्याउने ईश्वरले पोखरेलको तयारी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपा एमालेमा विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयले आन्तरिकरूपमा तरंग ल्याएको छ । यस निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी पक्षधरका नेताहरूले फरक दस्ताबेज ल्याउने तयारी गरिरहेका छन्, जसले आसन्न विधान महाधिवेशन र बैठकहरूमा थप ध्रुवीकरण बढ्ने देखिएको छ ।

पछिल्लो केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएपछि यो विवाद चुलिएको हो । पार्टीले विधि, प्रक्रिया र परम्परा मिचेर निर्णय गरेको र एमालेको मूल सिद्धान्त मानिएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) माथि नै नेतृत्वबाट प्रहार भइरहेकोमा यसप्रति नेताहरू फरक प्रतिवेदनको तयारीमा जुटेका हुन् ।

यसै असन्तुष्टिको जगमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतका नेताले प्रतिवेदन तयार पारेको भण्डारीनिकटका एक नेताले बताए । जानकारीअनुसार पोखरेलले नै यो फरक प्रतिवेदनको काम टुंग्याइसकेका छन् । ईश्वर पोखरेलनिकट एक पोलिटब्युरो सदस्यले नीतिमा खास विमति नरहे पनि विद्या भण्डारीको सदस्यता प्रकरण र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाएर फरक मत लैजानेबारे छलफल भएको बताए ।

 

यद्यपि अध्यक्ष ओलीले केही कुरा भए आधिकारिक दस्ताबेजमै समेट्ने भन्दै फरक मत स्वीकार्य नहुने सन्देश पठाएका उनको भनाइ छ । तर, पोखरेल अब एघारौं महाधिवेशनलाई लक्षित गरेर अघि बढिसकेकाले विधान महाधिवेशनमै फरक मत जान सक्ने र यो प्रक्रिया राष्ट्रिय महाधिवेशनसम्म चलिरहने बताइएको छ ।

अबका केही महिनाहरू पेचिला बन्ने भन्दै सावधानीपूर्वक अन्तरपार्टी संघर्ष सञ्चालन गर्ने तयारी विद्या पक्षको छ । उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यताबारे पार्टीको निर्णय सच्च्याउने अवस्थामा पुर्‍याउने बताएका छन् । सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा पाण्डेले कोही व्यक्तिलाई पार्टीमा काम गर्न संविधानले निषेध नगरेको जिकिर गरे । पाण्डेले आफूहरूले पार्टीमा चलाएको सार्थक बहसलाई लिएर पार्टी फुटाउन लागे भन्दै हल्ला चलाएको उनको भनाइ थियो । पाण्डेले थपे, यो लडाइँ केही तीतो बन्नसक्छ, केही समय लिनसक्छ । केही अप्ठ्यारो अवस्था आउनसक्छ । तर, निष्कर्षमा पुग्छ भन्नेमा नै छौँ । हामी पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याउँछौं । स्थायी कमिटी सदस्य कर्ण थापाले भण्डारीको सदस्यता रोक्नेजस्तो गम्भीर प्रकारका निर्णय बलमिच्याइँमा गर्न नहुने केही दिनअघि सार्वजनिकरूपमै बोलेका थिए । उनले विधान महाधिवेशनमा फरक मत राख्ने बताएका थिए ।

उनको भनाइ थियो, उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठुलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ । उहाँको सक्रियता रोकिँदैन । विधान महाधिवेशनमा सबभन्दा महत्त्वपूर्ण विषय यो विषय प्रवेश गर्छ । हामी फरक मत प्रस्तुत गर्छौँ र एमालेको सिंगै पंक्ति सही निष्कर्षमा पुग्छ ।

यद्यपि ओलीले विधान महाधिवेशनमा आफूले सही विचार प्रस्तुत गर्ने भन्दै फरक मत कसैले राखिरहन नपर्ने पनि प्रष्ट पारेका छन् । बालुवाटारमा बुधबार साँझ बागमतीका नेताहरूसँग उनले, यो इतिहास हो । इतिहासको रूपमा आउँछ । यो नीतिको रूपमा आउँछ । एकदिन दस्ताबेज प्रस्तुत हुन्छ, एकदिन छलफल र अर्को दिन समापन । अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ ।

उमेर हद र २ वर्षे कार्यकालको विषयमा ओलीले भने, साथीहरूको आम चाहना र समयको माग र म स्वस्थ रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन । ती नेता भन्छन्, हामी व्यवस्थित रूपमा लिखित डकुमेन्टकै रूपमा लैजान्छौं । विद्यालाई सदस्यता रोक्नु गलत हो भनेर हामी दह्रो रूपमा उठाउने छौं । केन्द्रीय समितिमा बोल्न निषेध गरेको भन्दै ती नेताले फरक रायमा यो संख्या बढ्ने जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...