उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा
सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि र ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । साथै उनीहरुले अनुदानमा पनि चित्त दुखाएका छन् । प्रतिक्विन्टल ७० रुपैयाँ नै कायम हुनुपर्ने माग उनीहरुको छ ।
यसअघि उखु किसानहरुले प्रतिक्विन्टल रु ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा रु ३५ उपलब्ध गराउने निर्णय भएको थियो ।
उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी भएका थिए । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मङ्गलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए ।


