१० करोडको चेक बाउन्समा राजु गोर्खाली पक्राउ
गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए । अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं, ती अधिकृतले भने ।
पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ । उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ । गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, पछि उनले टिकट पाएनन् ।


