ज्यामिरे पहिरो पन्छाउन क्विक रेस्पोन्स टिमको सहयोगमा आयोजनाले दियो कामलाइ तिव्रता
बागमती प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको काठमाडौं-हेटौंडा सडकको ज्यामिरे खण्डको पहिरो पन्छाउन क्विक रेस्पोन्स टिमको सहयोगमा प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौंडाले कामलाई तीव्रता दिएको छ । शनिबार बिहान पहिरो गएर अवरुद्ध बनेको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकको पहिरो पन्छाउन क्विक रेस्पोन्स टिमको सहयोगमा आयोजनाले हिजैदेखि काम थाले पनि २४ घण्टासम्म सडक खुलाउन भने सकेको छैन । लगातार पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको हो ।
शनिबार एउटा एक्साभेटर र एउटा लोडरको सहयोगमा पहिरो पन्छाउन थालिएकोमा आइतबार विहानैदेखि एउटा लोडर, एउटा एक्साभेटर र दुईवटा जेसिबी प्रयोग गरिएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार बिहान ९:३० बजेतिर सुक्खा पहिरो खसेको छ । साउन २० गते मन्त्रालय सम्हालेका मन्त्री डा. दिनेशचन्द्र देवकोटाले लगत्तै गठन गरेको क्विक रेस्पोन्स टिमको सक्रियतामा मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौंडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको छ । आयोजनाले आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको आयोजना प्रमुख देवनारायण यादवले जानकारी दिए ।
उनका अनुसार शनिबार नै बाटो खुलाउने प्रयास गरिए पनि पहिरो खस्न नरोकिएपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । आइतबार साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने काम भइरहेको आयोजना निर्देशक नवीन सिंहले बताए । उनका अनुसार अहिले पनि पहिरो खसिरहेको छ । यो सडक आयोजनालाई प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण अघि बढाएको छ । सडकको काठमाडौंतर्फको केही भाग भने कालोपत्रे गर्न बाँकी छ ।


