रन्जितालाई पार्टी अध्यक्ष अस्वीकार गर्ने रेशमको चतावनी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोगले रन्जिता श्रेष्ठलाई पार्टी अध्यक्षमा वैधता दिएपछि आफूहरू उनलाई स्वीकार गर्ने पक्षमा नरहेको बताएका छन् । साउन १४ गते बहुमत केन्द्रीय सदस्यहरूले लालवीर चौधरीलाई नाउपा अध्यक्ष बनाएका थिए । तर, निर्वाचन आयोगले त्यसलाई वैधता दिएन । आयोगले ४ बुँदामा अध्यक्ष मान्न नसक्ने भन्दै लालवीर पत्र समेत पठायो ।
आफूहरूले बहुमत केन्द्रीय सदस्यबाट रन्जितालाई हटाएको र लालवीरलाई अध्यक्ष बनाएको बताउँदै रेशमले आयोगले निर्णय गरेपनि अब रन्जितालाई अध्यक्ष स्वीकार गरेर अघि बढ्न नसक्ने उनले बताएका छन् । रन्जिता रेशमको श्रीमती हुन् भने लालवीर बुवा हुन् ।
आयोगले रन्जिता जीलाई अध्यक्ष मानेको छ । उहाँले राम्ररी पार्टी चलाउनु होला शुभकामना छ । हामी केन्द्रीय सदस्यहरूले उहाँलाई अध्यक्ष मान्दैनौँ भनेर निर्वाचन आयोगमा पेश गरिसकेपछि त्यही बाटो जानु गलत हुन्छ रेशमले भने, हामी नाउपा मै रहन्छौँ तर, फरक धार र नेतृत्व लिएर अगाडी बढ्छौँ ।
नाउपामा २१ केन्द्रीय सदस्य मध्ये आफूसँग दुई तिहाइ बढी बहुमत रहेको रेशमको दाबी छ । रेशमले नयाँ पार्टी बनाउने योजना नरहेको सुनाउँदै नाउपा मै फरक ढङ्गले अगाडी बढ्ने बताए ।


