नेकपा एसमा नयाँ लफडा, भुसाल-खनाल एक ठाँउमा, पार्टी फुटने संकेत
नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै अर्का पूर्वप्रधानमन्त्री तथा सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले दिएका अभिव्यक्तिपछि फेरि एकपटक पार्टीमा कित्ताकाट भएको छ । यसपछि नेपालले झलनाथलाई राजीनामा दिएर पार्टी छोड्न भनेका छन् । झलनाथले ‘मेरो राजीनामा माग्ने तपाईं कुन तानाशाह हो रु भन्दै कडा प्रश्न गरेका छन् । साथै उनले माधव नेपाललाई पार्टी छाड्न चुनौति दिएका छन् ।
यसपछि प्रश्न उठ्न थालेको छ कि, नेकपा एसभित्र चर्किएको यो शक्तिसंघर्षमा को कति बलिया छन् ? कोसँग कति मानिस छन् ?
माधवले चाहेजसरी न रामकुमारी झाँक्रीमाथि कारबाही हुनसक्यो । न त झलनाथलाई राजीनामा दिएर पार्टी छाड्न जारी भएको फर्मान नै काम लाग्यो । किनभने, उक्त शक्तिसंघर्षभित्र स्वयं महासचिव भुसाल झलनाथको पक्षमा छन् । यद्यपि, उनी सार्वजनिकरूपमा अभिव्यक्त भएका छैनन् ।
झलनाथ र रामकुमारीको मामिलामात्रै हैन, माओवादीसँग एकताका लागि माधवले निरन्तर गरिरहेको वार्ता र छलफलका विषय उनले झलनाथसँग मात्रै नभएर महासचिव भुसाल र अन्य पदाधिकारीसँग पनि खुला, खुलस्त भन्ने गरेका छैनन् ।
शक्तिसंघर्षमा अध्यक्ष माधवका पक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे छन् । तर, उनी आफ्नो अलग्गै समूह बनाउने प्रयासमा जुटिरहेका छन् । वरिष्ठ नेता प्रमेश हमाल र बेदुराम भुसाल माधवका भित्रिया हुन् ।
उपाध्यक्षहरू धर्मनाथप्रसाद साह, गंगालाल तुलाधर र जगन्नाथ खतिवडा माधवका पक्षमा छन् । उपमहासचिवमध्ये रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्रकुमार राईले माधवलाई साथ दिइरहेका छन् । सचिवमा श्रीनाथ बराल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र सावित्रीकुमारी भुसाल माधवको पक्षमा उभिएका छन् ।
झलनाथ -घनश्याम पक्षमा उपाध्यक्ष-जयन्ती राई, भानुभक्त जोशी र प्रकाश ज्वाला छन् । उपमहासचिव गरिमा शाह, सचिव बलदेव चौधरी र चन्द्रबहादुर शाही घनश्याममार्फत झलनाथ पक्षमा उभिएका छन् ।
भर्खरै पार्टीमा प्रवेश गरेका वरिष्ठ नेता वामदेव गौतम कतै पनि खुलेका छैनन् । माधवविरुद्ध लागौँ, जिम्मेवारीविहीन भइएला भन्ने पीर उनलाई छ । तर, विगतको सम्बन्धका आधारमा निर्णायक अवस्थामा उनी झलनाथको पक्षमा हुने धेरैजसो नेताको अनुमान छ । उनी पनि माओवादीसँगको एकताका विरोधी हुन् । सचिव गणेश विक पछिल्ला दिनमा महासचिव घनश्यामसँग निकट छन् । तर, खुलेर झलनाथको पक्षमा बोलिरहेका छैनन् । त्यसो त अन्य पदाधिकारीले पनि झलनाथको पक्षमा खुलेर बोलेका छैनन् ।
कथंकदाचित महासचिव भुसालले झलनाथको साथ छोडे भने उनी एक्लिने स्थिति छ । किनभने, उनीपक्षकै पदाधिकारी भानुभक्त जोशी र गरिमा शाहमात्रै हुन् । बरु, केही जनसंगठनमा झलनाथको पकड पार्टी नेतृत्वको तुलनामा केही आशलाग्दो छ । जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमला उनी पक्षका हुन् । महासचिव ऋषि अधिकारी घनश्यामका साढुभाइ हुन् ।
अनेरास्ववियूको अध्यक्षबाट निकालिएकी पार्टी केन्द्रीय सदस्य आरती लामा, युवा संघको अध्यक्षबाट निकालिएका अर्का केन्द्रीय सदस्य कृष्णबहादुर विश्वकर्मा झलनाथ पक्षको हुनुकै कारण माधवको निशानामा परेका हुन् । उनीहरू अहिले पनि झलनाथको पक्षमा अडिग छन् । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री नरेशकुमार शाही, बाँकेका पार्टी अध्यक्ष दीपक जिएम, धनकुटाका अर्जुन राई, मोरङका महेश रेग्मीहरू झलनाथ पक्षमा खुलेका छन् ।


