भण्डारीका विषयमा थप विवाद र बहस नगर्न एमालेलाई निर्देशन
नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याएर विवादमा पार्नु नहुने स्पष्ट पारेको छ । भण्डारी सक्रिय राजनीतिमा फर्कंदा उनले विगतमा गरेका काम पनि विवादमा पर्नसक्ने भएकोले उनले सम्मानित रुपमा नै बस्नु उचित हुने एमालेले जनाएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२ औं अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई थप व्याख्या गर्दै भण्डारीका विषयमा थप विवाद र बहस नगर्न एमालेपंक्तीलाई निर्देशन पनि गरेका छन् । प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्दै एमालेले उक्त दृष्टान्तको अनुशरण गर्न पनि आग्रह गरेको छ । ‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन ।
यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन्’ एमालेको अपानिमा भनिएको छ ‘भविष्यको कुनैआश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको एमाले लोकतन्त्रका मूल्य र मान्यता जोगाउन सदा प्रतिवद्ध रहेको एमालेको भनाइ छ । भण्डारीलाई समावेशिताको ‘आइकन’को संज्ञा दिँदै पार्टीको उपाध्यक्षमा हुँदा होस वा राष्ट्रपति हुँदा उनको भूमिका नेतृत्वदायी, विवादरहित र उत्कृष्ट भएकोमा एमालेले भण्डारीको उच्च प्रशंसा गरेको छ । भण्डारी राजनीतिमा फर्कंदा उनले पदमा रहँदा गरेको निर्णयहरुको संवैधानिकता र निष्पक्षतामा प्रश्न उठ्न सक्नेतर्फ एमाले सचेत रहेको अपानिमा जनाइएको छ ।


