महासचिव पोखरेल र नेत्रविक्रम चन्दबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । आइतबार बिहान पोखरेल निवासमा भएको दुई घण्टा लामो भेटघाटमा विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा छलफल भएको थियो ।

महासचिव पोखरेललाई भेट्न विप्लव आइतबार बिहान नौ बजे शंकर पोखरेलको निवास पुगेका थिए । आफ्नो निवासमा विप्लवलाई स्वागत गर्दै पोखरेलले सुरुमै विप्लवको कृषि कर्मको प्रशंसा गरेका थिए ।

पोखरेलको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनालले भने, ‘कमरेडको खेती प्रणालीले देशभर राम्रो सन्देश गएको छ । त्यसलाई किसान र व्यवसायसँग जोड्दै उत्पादन र नाफाबीच तालमेल मिलाउन सकियो भने झन् राम्रो होला ।

जनतालाई श्रममा जोड्ने र नाफासँग सन्तुलन राखेर अघि बढे राम्रो परिणाम दिने पोखरेलको सुझाव थियो । पोखरेलले विप्लवको उत्पादन संकृतिलाई आफूले सकारात्मक रूपमा लिएको बताएका थिए ।

 

कम्युनिस्ट ध्रुवीकरण र समाजवादी मोर्चाका कुरा

लुम्बिनी प्रदेशका कम्युनिस्ट नेताद्वय पोखरेल–विप्लवबीचको भेटको चाँजोपाँजो नेकपा एमालेका अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनाल र नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसीले मिलाएका थिए । भेटमा उनीहरू पनि सहभागी थिए ।

केसीले भेटमा भएका छलफलका विषयबारे स्पष्ट बताएनन् । उनले भने नेपालमा कम्युनिस्ट आन्दोलनको समस्या, सहकार्य र मोर्चाबारे छलफल भयो र यस्ता छलफललाई आगामी दिनमा पनि निरन्तरता दिने कुरा भयो । तर बैठक स्रोत भन्छ प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच हुने भनिएको एकताको प्रगतिदेखि प्रचण्डको मतिसम्म छलफल भयो ।

विप्लवले प्रचण्डले एकतामा चासो नदिएकोबारे पोखरेलसँग खुलेर कुराकानी गरेका थिए । ‘सुरुमा एकताको राम्रै कुरा भएको हो । मलाई महासचिव बनाउने पनि भन्नुहुन्थ्यो । तर अहिलेसम्मको अवस्था हेर्दा एकता गर्न उहाँले नै इच्छा नदेखाएको जस्तो बुझिन्छ विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

त्यसपछि एमाले महासचिव पोखरेलले पनि प्रचण्डको बोली र व्यवहारले गर्दा विश्वास गर्न गाह्रो हुने अनुभव सुनाएका थिए । पोखरेलले समाजवादी मोर्चालाई पनि प्रचण्ड र माधव नेपालले आफ्नो स्वार्थ अनुकूल चलाउन खोजेको र सरकारमा पुगेपछि भुलेको उदाहरण दिएका थिए ।

त्यसमा विप्लव पनि सही थालेका थिए । विप्लवका अनुसार जुन उद्देश्यले प्रचण्डले समाजवादी मोर्चा गठनको पहल गरे, त्यसअनुसार गतिविधि नभएको बताएका थिए । अहिले यो मोर्चा सक्रिय छैन, योबाट पनि केही होलाजस्तो लाग्दैन  विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । यही भूमिका बाँध्दै विप्लवले पोखरेलको सैद्धान्तिक र वैचारिक क्षमतालाई नेपालका कम्युनिस्ट पार्टीको एकता एवं ध्रुवीकरणमा उपयोग गर्न सुझाव दिएका थिए ।

विप्लवले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नहुँदा आफ्ना कतिपय कार्यकर्ताहरु अहिले पनि जेलमा रहेको भन्दै महासचिव पोखरेलको ध्यानाकर्षण पनि गराएका थिए ।

पोखरेलले आगामी दिनमा पनि यस्ता छलफल र भेटघाटलाई निरन्तरता दिनुपर्ने बताएका थिए । त्यसपछि विप्लव अर्को एउटा बैठकमा जानुपर्ने छ भन्दै छुट्टिएका थिए । सोही दिन विप्लवले नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...