राजनीतिक स्थायित्वका लागि सबै दल जिम्मेवार हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले चुलिँदो व्यापार घाटा देशको विकासको बाधकको रूपमा रहेको बताएकी छन् । राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने बाध्यता रहेको बताइन् ।
उनले भनिन्, नेपालको समृद्धि वर्तमान आर्थिक सुचकांकले मात्रै मापन गर्न सक्दैन । बरु यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्दछ ।
उनले देशभित्र लगानीको वातावरण बनाउनुको सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै भएको बताइन् । उनले भनिन्, नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् त्यसको आधार बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ । साथै हामीले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्छ ।


