रुसी जहाज दुर्घटना, विमानमा सवार सबैको मृत्यु
रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।
रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ । मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।
रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू भइरहन्छन् ।
यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन–२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन–२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।


