कांग्रेसका नेताहरू देउवा निवास बुढानीलकण्ठमा
नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको चाक्सीबारी भेलाको निष्कर्ष सुनाउन पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । हिजो उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा संस्थापन पक्षका सात नेताहरू भेला भएका थिए । भेलामा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए ।
हिजोको भेलाको निष्कर्ष सुनाउनको लागि देउवा निवास बुढानीलकण्ठमा नेताहरू पुगेका हुन् । उनीहरूको भेलाले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।एमालेसँगको सहकार्यबाट पर्याप्त उपलब्धि हासिल नभएको भन्दै थप प्रभावकारी गर्न प्रधानमन्त्री केपी ओली र पार्टी सभापतिलाई ध्यानाकर्षण गराउने निर्णय गरेका थिए । हिजोको बैठकमा पार्टीको १५ औँ महाधिवेशन, इतर पक्षका नेता डा. शेखर कोइरालाको पछिल्ला गतिविधि, गठबन्धन निर्माण हुँदा एमालेसँग भएको सहमतिलगायतको विषयमा छलफल भएको थियो ।


