प्राय: सबै केन्द्रीय सदस्यले ओलीको पक्षमा बोले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अर्को एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिनुपर्ने पक्षमा बोल्न केन्द्रीय सदस्यहरुबीच प्रतिस्पर्धा नै चलेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको राजनीति शान्त तलाउमा ढुंगा हानेको अवस्थाको बनेको केन्द्रीय कमिटी बैठकमा देखिएको छ । विधान महाधिवेशन केन्द्रित बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीको निरन्तर नेतृत्वको वकालत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा राखेका छन् । यस्तो आवाज केन्द्रीय सचिवालयमा भन्दा पोलिटब्युरो र त्यसभन्दा बढी केन्द्रीय कमिटीमा सुनिएको हो ।

तीनवटै बैठक भोगेका एक पदाधिकारीले भने- सचिवालय बैठकमा १० घण्टासम्म छलफल हुँदा नेतृत्वको विकल्प खोज्नुपर्छ, विद्या भण्डारीलाई स्पेस दिनुपर्छ, २ कार्यकाल र ७० वर्षे उमेर हद कायम राख्नुपर्छ भन्ने आवाज बलियो थियो । १९ सदस्यीय सचिवालयबाट ९९ सदस्यीय पोलिटब्युरोमा पुग्दा त्यो आवाज बढ्नुपर्नेमा निकै घट्यो । ६,७ जनाबाहेक कसैले पनि बोलेनन् । अब ३ सय जनाभन्दा बढीको केन्द्रीय कमिटीमा आउँदा त झनै त्यो आवाज कमजोर बनेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न सदस्यहरुबीच प्रतिस्पर्धा पो चलेको देखियो ।

बैठकमा सहभागी नेताहरूका अनुसार मूलतः तीनवटा विषय देखिएका छन् । एकः केपी शर्मा ओलीको विकल्प खोज्न हुँदैन र सकिँदैन । दुईः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले संस्थागत निर्णय गरेरै रोक्नुपर्छ । तीनः विद्या भण्डारीको व्यवस्थापन र सम्मानजनक सक्रियताको लागि केपी शर्मा ओलीले नै समाधान निकाल्नुपर्छ भन्ने झिनो मत ।

सोमवारको बैठकमा ४९ जना केन्द्रीय सदस्यले तीन तीन मिनेट बोलेका थिए । तीमध्ये ५ जना मात्र फरक सुनिए, अरु सबैले केपी ओलीको निरन्तरता,विधानमा प्रस्तावित विषय जस्ताको तस्तै पारित गर्ने र विद्या भण्डारीलाई रोक्नुपर्ने कुरा नै उठाए । ओलीले पनि यसपटक सबैका कुरा सुन्ने र केन्द्रीय कमिटीको आवाज कस्तो छ भनेर आफ्नो विकल्प खोज्ने नेताहरूलाई सुनाउन खोजेको देखिन्छ ।

सोमवारको बैठकमा रचना खड्का,इन्द्रलाल सापकोटा,रमेश पौडेल,अरविन्द सिंह र सीमा क्षेत्रीले मात्र अलिकति फरक ढंगले आफूलाई प्रस्तुत गरेका थिए । रचनाले विधान महाधिवेशन केन्द्रित बहस हुनुपर्नेमा नेतृत्वले अर्कै विषयमा छलफल गराएको भन्दै असन्तुष्टि जनाइन् । उनले विषयवस्तुमा प्रवेश नै गरिनन् । अरविन्द सिंहले नेतृत्वमाथि प्रश्न मात्र उठाए । इन्द्रलाल सापकोटा र रमेश पौडेलले विद्या भण्डारीको विषयलाई पनि नेतृत्वले समाधान गर्नुपर्ने भन्दै अरू सदस्यहरूको भन्दा केही पृथक् शैलीमा प्रस्तुति दिएका थिए । यद्यपि कसैले पनि केपी शर्मा ओलीको विकल्प अर्को नेतृत्व आउनुपर्छ भनेनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...